गौतमको प्रस्टीकरण- म अझै एकताको पक्ष र संसद् भंगको विरुद्धमा छु, पार्टी फुटको साक्षी बस्न कतै जान्नँ

सोमबार, ६ पुष, २०७७
डिजिटल संस्करण

नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टी एकताको पक्ष र संसद् विघटनको विरुद्धमा रहेको बताएका छन् । 

गौतमले पार्टी फुटको साक्षी बस्न कुनै गुटमा नजाने घोषणासमेत गरेका छन् । 
 
वामदेव गौतमले भनेका छन्- मन्त्रिपरिषद्ले संसद् भंग र मध्यावधि निर्वाचनको सिफारिस गरेपछि मैले सम्माननीय राष्ट्रपतिलाई टेलिफोनबाटै त्यस्तो सिफारिस स्वीकृत नगर्नुस् भन्न चाहेको थिएँ । तर, उहाँसँग टेलिफोनमा कुरा गर्न सम्भव भएन । 

त्यसपछि मैले उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीमार्फत भनेको थिएँ, ‘यदि उहाँले मन्त्रिपरिषद्को सिफारिसबमोजिमको विषयलाई जारी गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । उहाँले यसलाई एकपटक मन्त्रिपरिषदमै फर्काइदिन उपयुक्त हुन्छ । यसका निम्ति मेरो विनम्र अनुरोध छ ।’

तर, राष्ट्रपतिले विज्ञप्तिमार्फत मन्त्रिपरिषद्को सिफारिसलाई स्वीकृत गर्नुभएको समाचार सुनेँ । त्यसपछि त्यो दुःखद घटना हो भन्ने निष्कर्षमा पुगेँ । त्यसपछि संविधानको मर्म र भावनाविपरीत प्रतिनिधिसभा विघटन गैरसंवैधानिक कदम हो भन्ने धारणासहित मैले आइतबार नै विज्ञप्ति जारी गरेँ ।

अब फुटको घोषणा गर्न मात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरेँ । 

फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु । 

क. केपी ओलीले गरेको भेला होस् वा अरू कमरेडहरूले गर्नुभएको भेला नै किन नहोस्– ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन् । म फुटको साक्षी बस्न सक्दिनँ । म यो पार्टी एकीकरण गराउनेमध्येको नेता हुँ । त्यसैले अहिले पनि एकताको पक्षमा म छु । संसद् भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु । तर, दुवैतिरका भेलामा मेरो उपस्थिति हुँदैन । मैले पहिले पनि गुटहरूको भेलामा नजाने भन्दै आएको हुँ ।

सुझावित समाचार