मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ पौष १ बुधबार ०९:२६:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

जुम्लामा ११ महिनामा नौ बालिकामाथि यौन दुर्व्यवहार

Read Time : < 1 मिनेट
२०७७ पौष १ बुधबार ०९:२६:००

जिल्लामा नौजना बालिकामाथि यौन  दुर्व्यवहार भएको तथ्यांक सार्वजनिक गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जुम्लाले मंगलबार सदरमुकाम खलंगामा नेपाल मानवअधिकार वर्ष पुस्तक, २०२१ को पूर्वसमीक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

इन्सेक, जुम्लाका अनुसार गत जनवरीदेखि १५ डिसेम्बरसम्म संकलन गरिएका घटनाको तथ्यांक सार्वजनिक गरिएको हो । यस अवधिमा मानवअधिकार उल्लंघन र ज्यादतीका २५ घटना भएका छन् । ती घटनामा सबैभन्दा बढी बालिका पीडित बनेका छन् । राज्य पक्षबाट गिरफ्तार तीन, गैरराज्य पक्षबाट धम्की/कुटपिट तीन, गैरराज्य पक्षबाट हत्या तीन, बलात्कार र बाल यौनहिंसा नौ, महिला हिंसा र दुर्व्यवहार चार, गैरराज्य पक्षबाट बेपत्ता एक, आगजनी एक र अभिव्यक्ति स्वतन्त्रता हनन एक छन् । २५ वटा घटनामा २७ जना नागरिक पीडित भएको र आरोपित ४२ जनालाई कारबाही प्रक्रिया थालिएको प्रतिवेदनमा उल्लेख छ ।

सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार सिञ्जा भेगमा तीनवटा गाउँपालिका छन् । त्यस क्षेत्रमा महिला तथा बालबालिकामाथि बढी हिंसा हुने गरेको छ । ‘यस्ता घटनालाई कानुनी प्रक्रियामा लैजानुको साटो रकम मोलमोलाइ गर्दै मिलापत्रमा टुंग्याइने गरिएको छ,’ उनले भने । सिञ्जामा सुरक्षाकर्मीको पातलो उपस्थिति भएकाले पनि यस्ता घटनाले बढी प्रश्रय पाएको उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले घटनाको सत्यतथ्य संकलन गरी दस्ताबेजीकरण गर्न इन्सेकलाई सुझाए ।