कमल थापाको प्रस्ताव–राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि सर्वपक्षीय सम्मेलन गरौँ

बिहिबार, २५ मंसिर, २०७७
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कसैलाई पनि निषेध नहुने गरी राजादेखि विप्लव नेकपासम्म अट्ने राज्य व्यवस्था आवश्यक भएको बताएका छन् । हेटौँडामा पार्टीको चुनाव चिह्न हलो तथा झन्डा अनावरण गर्दै थापाले राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाका निमित्त सर्वपक्षीय सम्मेलन हुनुपर्ने माग गरे  । 

उनले नेपाली जनताको अभिमतबाट राजनीतिक दलहरूको सहयोग र सहमतिमा यो काम सम्पन्न हुनुपर्नेमा जोड दिए । विदेशी बल र सेनाबाट राजसंस्था स्थापित नहुने उनको भनाइ छ । नेपाली जनता, राजनीतिक दल, नागरिक समाज र बुद्धिजीवीहरूको सहयोग र सहमतिमा राजसंस्था स्थापित गर्नुपर्नेमा थापाले जोड दिए । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता विदेशीको एजेन्डा भएको चर्चा गर्दै थापाले जनताले बिस्तारै यो गम्भीर विषय बुझ्दै गएको बताए । 

राजसंस्था र हिन्दूराष्ट्रको माग राखी देशव्यापी जनप्रदर्शन भएकोमा थापाले खुसी प्रकट गरे । राप्रपाले उठाएको एजेन्डाप्रति जनसमर्थन देखिनु सकारात्मक भएको भन्दै उनले प्रदर्शन परिचालित नभएको दाबी गरे । मुलुकमा विकृति विसंगति, भ्रष्टाचार, बेरोजगारी व्यापक भएको थापाको भनाइ  छ । राप्रपालाई मुलुकको वैकल्पिक शक्ति बनाउन जनताको सहयोग आवश्यक भएको भन्दै उनले संगठन सुदृढीकरणमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । 

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले मुलुकमा व्याप्त विकृति र विसंगतिका कारण विद्रोहको अवस्था सिर्जना भएको बताए । राप्रपाका युवा नेता राजाराम बर्तौलाले राप्रपा र पार्टी नेतृत्वका कारण एजेन्डाको जग खडा भएको भन्दै राप्रपाको नेतृत्वमा अब आन्दोलनको आँधीबेहरी ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा नेताहरू विजय खड्का, नवराज विष्ट, बालकृष्ण कार्की, रामहरि न्यौपाने, खिल चौलागाईं, ज्ञानेन्द्र ढुङ्गेल, गुरुप्रसाद सापकोटा, इन्दिरा पाठकलगायतले धारणा राखेका थिए । 
 

सुझावित समाचार