१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
डा. कोमलराज रिजाल
२o८१ बैशाख २० बिहीबार १o:२२:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

कोरोना भ्याक्सिन : विपन्न देशहरूको परीक्षा

बहस

Read Time : > 4 मिनेट
डा. कोमलराज रिजाल
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२२:oo

देशको भूराजनीतिक अवस्थाले कोरोना भ्याक्सिनका लागि हामी फेरि पनि भारत वा चीनसँग निर्भर रहनुपर्ने देखिन्छ

विगत एक वर्षदेखि विश्व कोरोना महामारीबाट आक्रान्त छ । पछिल्लो तथ्यांक हेर्दा अहिलेसम्म करिब ६ करोड ९० लाख मानिस यो रोगबाट संक्रमित भइसकेका छन् । झन्डै १५ लाख ६५ हजारजतिले यसबाट ज्यान गुमाइसकेका छन् । यो रोग विश्वको २१८ देश र त्यससँग सम्बन्धित क्षेत्रमा फैलिसकेको छ । नेपालमा हालसम्म करिब दुई लाख ४५ हजार व्यक्तिमा यो भाइरसको संक्रमण भइसकेको छ । करिब १६ सय ५० संक्रमितले यो रोगबाट ज्यान गुमाइसकेका छन् । हिजोआज यसबाट करिब दैनिक २० देखि २५ व्यक्तिको ज्यान गइरहेको छ । 

केही समययता संक्रमण घटेजस्तो देखिए पनि हाल युरोपका विभिन्न मुलुकमा यसको दोस्रो लहरले गर्दा संक्रमण दर उच्च छ । अमेरिकाजस्तो विकसित मुलुकमा पनि प्रतिदिन एक लाखको हाराहारीमा मानिस संक्रमित भइरहेका छन् । नेपालमा डिसेम्बर महिना सुरु भएसँगै यसको संक्रमणमा कमी आएजस्तो देखिए पनि औसत मृत्यु हुने व्यक्तिहरूको संख्या बढेको छ । 

यसरी विश्वभरि मानव सभ्यतालाई नै चुनौती दिइरहेको कोरोना भाइरसको अध्ययन, अनुसन्धानमा विभिन्न देशका वैज्ञानिकले तीव्रता दिइरहेका छन् । हाल यसविरुद्ध प्रयोग हुने भ्याक्सिनको विकासमा वैज्ञानिकहरू निष्कर्षतर्फ प्रवेश गरिसकेका छन् । विश्वभरि अहिले दुई सय ५१ वटा भ्याक्सिन क्यान्डिडेटको ट्रायल भइरहेकोमा ५० वटा भ्याक्सिन क्यान्डिडेटले क्लिनिकल ट्रायलको स्वीकृति पाएका छन् । 

ती ५० मध्ये १३ वटाले भ्याक्सिन ट्रायलको अन्तिम तेस्रो चरण पार गरिसकेका र ४ वटा भ्याक्सिन क्यान्डिडेटले आपत्कालीन प्रयोगका लागि स्वीकृति पनि प्राप्त गरिसकेका छन् । आपत्कालीन प्रयोगका लागि स्वीकृति पाउने ती चारवटा भ्याक्सिन क्यान्डिडेटहरूमा पहिलो, अक्सफोर्ड विश्वविद्यालयले डेभलप गरेको एस्ट्राजेनिका । दोस्रो, फाइजर÷बायोएनटेक । तेस्रो, मोडोर्ना र चौथो, चीनद्वारा विकसित सिनोभ्याक्स भ्याक्सिन हो । 

कोरोनाविरुद्धका खोपहरू प्रायः सबै अल्ट्राकोल्ड चेन अर्थात् माइनस ७० देखि माइनस ८० डिग्री सेल्सियसमा सुरक्षित गर्नुपर्ने हुन्छ । हाम्रो देशमा यो अल्ट्राकोल्ड चेनका लागि भौतिक पूर्वाधार सरकारी अस्पताल र निजी अस्पतालमा पनि उपलब्ध छैन । 

भ्याक्सिनले कसरी काम गर्छ ?
भ्याक्सिन ल्याटिन शब्द भेका (काउ) कोभ्याकिनस हुँदै १८औँ शताब्दीमा भ्याक्सिनमा रूपान्तरित भएको हो । सर्वप्रथम बेलायतका वैज्ञानिक एडवार्ड जेनरले सन् १७९८ मा स्मलपक्स (विफर) भ्याक्सिनको विकास गरेका थिए । त्यसपछि विभिन्न संक्रामक रोगको उपचारका लागि भ्याक्सिनको प्रयोग हुँदै आएको छ । भ्याक्सिनले हाम्रो शरीरको रोग प्रतिरोधात्मक प्रणालीसँग मिलेर रोगविरुद्ध प्रतिरक्षा गर्छ । भ्याक्सिनले तीन प्रकारले हाम्रो शरीरको रक्षा गर्छ । 

पहिलो, यसले हाम्रो शरीरभित्र प्रवेश गरेका विभिन्न ब्याक्टेरिया, भइरसलाई नष्ट गर्छ । दोस्रो, यसले हाम्रो शरीरमा एन्टीबडीको विकास गर्न सहयोग गर्छ । एन्टीबडी एक प्रकारको प्रोटिन हो, जसले शरीरको प्रतिरक्षा प्रणालीलाई रोगविरुद्ध लड्न मद्दत गर्छ । तेस्रो, यसले भविष्यमा सोही प्रकारको ब्याक्टेरिया, भाइरसको इन्फेक्सन भएमा हाम्रो प्रतिरक्षा प्रणालीले त्यसलाई चिन्छ र सजिलै नष्ट गर्नका लागि काम गर्छ । 

नेपालमा खोप लगाउने प्रक्रिया
हाम्रो देशमा राष्ट्रिय खोप ऐन छ । यस ऐनभित्र राष्ट्रिय खोप सल्लाहकार समितिको व्यवस्था गरिएको छ । यस समितिको सिफारिसमा आवश्यक खोप सरकारले नेपालमा ल्याउन सक्छ । नेपाल कोभ्याक्स सुविधामा सूचीकृत देश हो । जसले गर्दा केही सरकारको लगानी र बाँकी विदेशी सहयोगमा पहिलो चरणमा ३० प्रतिशत खोप उपलब्ध गराउने सहमति भएको छ । हालै सरकारले औषधीसम्बन्धी ऐनको तेस्रो संशोधन गरी अध्यादेशमार्फत खोप भित्र्याउने कानुनी व्यवस्था गरिसकेको छ । 

स्वीकृतिका लागि सम्भाव्य सूचीमा रहेका खोपका लागि सम्बन्धित देशमा कूटनीतिक नोटसमेत पठाइसकेको कुरा स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताइसकेका छन् । कोभ्याक्सअन्तर्गत पाइने सहुलियतमा उपलब्ध गराउने भनेर करिब ६ महिनाअघि नै नेपाल सरकारले भ्याक्सिन छनोट गरिसकेको छ । यसरी सहुलियतमा उपलब्ध हुने कोटा कुल जनसंख्याको २० प्रतिशत अर्थात् करिब ६० लाख डोज मात्र हुने देखिन्छ ।

यसरी प्राप्त हुने ६० लाख डोजमध्ये कुन वर्ग प्राथमिकतामा पर्ने भन्ने विषयमा अध्ययन जारी छ । यद्यपि पहिलो चरणमा उपलब्ध हुने ३० प्रतिशत डोज अर्थात् ९ लाख डोज नेपालमा रहेका अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने भन्ने किटान भएको छ । बाँकी १७ प्रतिशत डोज (५१ लाख डोज) ५५ वर्षभन्दा माथिकालाई उपलब्ध गराउने भन्ने करिब–करिब निर्क्योल भइसकेको छ । 

सरकारले कुल जनसंख्याको ७२ प्रतिशतलाई खोपको तयारी गरेको छ । यसअन्तर्गत कोभ्याक्स सुविधाबाहेकको ५० प्रतिशत डोज आफैँ खरिद गर्ने भन्ने नीति लिएको देखिन्छ । यसका लागि करिब ४८ अर्बबराबरको खर्च हुने अनुमान गरिएको छ । सम्पूर्ण प्रक्रियामा ६० देखि ७० अर्ब खर्च लाग्ने अनुमान छ ।

खोप सजिलै आउँछ ?
उल्लिखित कोरोनाविरुद्धका खोपहरू प्रायः सबै अल्ट्राकोल्ड चेन अर्थात् माइनस ७० देखि माइनस ८० डिग्री सेल्सियसमा सुरक्षित गर्नुपर्ने हुन्छ । हाम्रो देशमा यो अल्ट्राकोल्ड चेनका लागि भौतिक पूर्वाधार सरकारी अस्पताल र निजी अस्पतालमा पनि उपलब्ध छैन । डब्ल्युएचओको प्रमुखले भनेझैँ भ्याक्सिन मात्र आफैँमा समाधान होइन । यसको समानुपातिक र समतामूलक वितरण नै अहिलेको मुख्य चुनौती हो । कुनै पनि कम्पनीले दाबी गरेको खोप पहिले उक्त देशको आधिकारिक निकायबाट प्रयोगका लागि स्वीकृत हुनुपर्छ । उक्त देशको स्वीकृतिपश्चात डब्ल्युएचओले उक्त भ्याक्सिन स्वीकृत गर्नुपर्छ । हामी कोभ्याक्सको मात्र भरमा छौँ ।

कोभ्याक्सले पनि सम्बन्धित देशमा स्वीकृत भएको भ्याक्सिन लोअर मिडिल इनकम कन्ट्री (एलएमआइसी) लाई पनि उपयुक्त छ भनेर निर्धारण/अनुमति दिनुपर्छ । हाम्रो देश नेपाल एलएमआइसी राष्ट्रमध्ये पछिल्लो लहरमा पर्छ । र, यसमा पनि सीमान्तकृत जनसंख्या अझ पछिल्लो क्रममा पर्नेछ । यसमा पनि हुनेखाने र हुँदा खाने वर्गबीचको खाडल खोप सुविधामा पनि टड्कारो रूपमा देखिनेछ । त्यसैले पनि हामी खोप आयो भनेर हौसिहाल्ने अवस्थामा छैनौँ । 

स्वीकृत भ्याक्सिन थोरै समयमा उत्पादन गर्न नसकिने हुँदा माग र आपूर्तिबीचको असमानता पक्कै रहनेछ । तर, प्राथमिकता कसरी निर्धारण गरिन्छ, यो सबैको चाखलाग्दो विषय हुने नै छ । आर्थिक स्रोत बलियो हुने राष्ट्रले सम्बन्धित खोप कम्पनीसँग अग्रिम बुकिङ गर्नेछन् । बेलायतलगायत अन्य देशले त खोप कार्यक्रम नै सुरु गरिसकेको अवस्थामा नेपालजस्तो आर्थिक स्थिति कमजोर भएको राष्ट्रलाई कोरोना खोप आकाशको फल हुने पक्कापक्की छ ।

नेपालमा कोरोनाको खोप आउन निकै समय लाग्ने हुँदा हरेकले आफ्नो तर्फबाट मास्क लगाउने, भौतिक दूरी कायम राख्ने, भिडभाड नगर्ने, साबुनपानीले हात धुने तथा सेनेटाइजर प्रयोग गर्दै यसबाट बच्न पहल गर्नु नै श्रेयष्कर हुने देखिन्छ ।

देशको भूराजनीतिक अवस्थाले हामी फेरि पनि कोरोना भ्याक्सिनका लागि भारत वा चीनसँग निर्भर रहनुपर्ने देखिन्छ । कोभ्याक्स सुविधाबाहेक बाँकी खोपका डोजहरू नेपालले आफैँ खरिद गर्नुपर्ने अवस्था छ । भारत हाम्रो सबैभन्दा नजिकको र सहज छिमेकी मात्र नभई विश्वकै सस्तो खोप तथा औषधी निर्माणमा अग्रणी देश हो । सेरम इन्स्टिच्युट अफ इन्डियाले अग्रिम करिब ४ करोड डोज (अक्सफोर्ड/एस्ट्राजेन) द्वारा निर्मित खोप उत्पादन गरिसकेको छ । यति मात्र नभई भण्डारणका दृष्टिकोणले पनि अक्सफोर्ड/एस्ट्राजेनद्वारा निर्मित खोप हाम्रा निम्ति बढी सहज र आशातित खोप हुने कुरा नकार्न मिल्दैन ।

भ्याक्सिन कूटनीतिकै एक अभिन्न अंगका रूपमा भारतीय विदेश सचिव श्री हर्षवद्र्धन श्रींगलाले नोभेम्बरको अन्तिम साता भ्रमण गरी नेपाललाई विशेष खोप सुविधा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिसकेका छन् । र, थप चीनमा निर्मित सिनोभ्याक्स भ्याक्सिनलाई पनि उत्साहित भएर हेरिएको छ । यसले हालै युएईमा आपत्कालीन प्रयोग अनुमति प्राप्त गरेको छ । 

एसियाली मुलुकमै उत्पादन हुने भ्याक्सिन हाम्रा लागि केही सहज हुनेछ । हाम्रो अनुवांशिक संरचनासँग मिल्दोजुल्दो हुने आशा यसबाट गर्नु अत्युक्ति होइन । नेपालले आफ्नो कूटनीतिमार्फत भारत सरकारलाई भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता गराउन सफल भएको छ । यसरी नै चीनमा निर्मित सिनोभ्याक्स नेपालमा उपलब्ध गराउन सरकारले चीनतर्फ पनि उत्तिकै पहलकदमी गर्न आवश्यक देखिन्छ ।

अन्त्यमा नेपालमा कोरोनाको खोप आउन निकै समय लाग्ने हुँदा हरेकले आफ्नो तर्फबाट मास्क लगाउने भौतिक दूरी कायम राख्ने, भिडभाड नगर्ने, साबुनपानीले हात धुने तथा सेनेटाइजर प्रयोग गर्दै यसबाट बच्न पहल गर्नु नै श्रेयष्कर हुने देखिन्छ ।

(रिजाल माइक्रोबायोलोजी केन्द्रीय विभागका विभागीय प्रमुख हुन्)

ad
ad