मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर २४ बुधबार १३:१६:००
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

सरकारी कार्यालयमा सिडिओको छड्के, बाहिर सेवाग्राहीको घुइँचो, भित्र खाली कुर्सी  [फाेटाेफिचर]

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर २४ बुधबार १३:१६:००

महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सदरमुकामस्थित विभिन्न सार्वजनिक सरकारी कार्यालयहरूमा छड्के अनुगमन गरेका छन् । सेवाग्राहीहरूबाट गुनासो बढ्न थालेपछि उनले कार्यालयहरूमा अनुगमन गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत तथा कर्मचारी मिलन केन्द्रका अध्यक्षसमेत रहेका भेटेनरी अस्पताल प्रमुख र सञ्चारकर्मीसमेत रहेको टोलीसहित नापी कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय २, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, भूमिगत जलस्राेत तथा सिँचाइ विकास डिभिजन कार्यालय, भेटेनरी अस्पताल, कृषि ज्ञान केन्द्र, बिउबिजन प्रयोगशाला र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालयमा छड्के अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा नापी कार्यालयमा सातजना, भूमिसुधार तथा मालमोत कार्यालयमा चारजना, जनताको तटबन्धमा कार्यालय प्रमुखसहित नौजना, सिँचाइमा पाँच, भूमिगत जलस्रोतमा ६ र बिउबिजनमा एकजना अनुपस्थित थिए । 

अनुपस्थितमध्ये केही विदामा, केही कार्यालयकै कामले फिल्डमा रहेको उक्त कार्यालयहरूले जानकारी गराए पनि हाजिरी रजिस्टरमा बिदा वा फिल्डमै देखिने केही आधार नदेखिएपछि अनुपस्थित सबैलाई स्पष्टीकरण सोध्न प्रजिअले निर्देशन दिएका छन् ।

यता उक्त अनुमगनमा कार्यालयहरूमा हुने विभिन्न व्यवस्थापकीय पक्षलाई हेरिएकोमा व्यवस्थापकीय कमजोरी भेटिएका कार्यालयलाई तत्काल ती कमजोरी सुधार गर्न निर्देशनसमेत दिएका छन् ।

प्रजिअ कटुवालले विभिन्न कार्यालयमा सेवाग्राहीहरूले विभिन्न बहानामा दु:ख पाइरहेको गुनासो आएपछि अनुगमन गरेको बताउँदै अनुगमनलाई नियमित गर्ने र भएका कमिकमजोरी हटाउन प्रयास गर्ने बताए ।

उनले कोभिडकै संक्रमणको जोखिम रहेकोमा विभिन्न कार्यालयहरूमा भिड नियन्त्रणको प्रयास भए पनि सेवाग्राहीको चाप अत्यधिक रहेकाले समस्या भइरहेकोसमेत बताए ।

उनले जिल्लामा यति कार्यालय हुँदा पनि धेरै सेवाग्राही सेवा लिनबाटै वञ्चित भएकाे गुनासाे बढिरहेकाले जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरूबीच समन्वय र प्रचार–प्रसार तथा पारदर्शिताको अभाव देखिएकोमा त्यसतर्फसमेत ध्यान केन्द्रित भएको बताए । उनले यस विषयमा कार्यालय प्रमुखहरूसँग छलफल गरी समन्वयात्मक भूमिका निर्वाह गर्ने बताए ।