१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
सुमन भट्टराई
२o८१ बैशाख २० बिहीबार o९:२o:oo
Read Time : > 5 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

महाव्याधिले बढाएको चोरीसिकारी

बेरोजगारी बढ्दै जाने हो भने चोरीसिकारी बढ्दै जाने र गैँडा संरक्षणमा थप चुनौती थपिने सम्भावना छ

Read Time : > 5 मिनेट
सुमन भट्टराई
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:२o:oo

नेपालमा प्राकृतिक रूपमा वन्यजन्तु संरक्षणको सुरुवात गैँडा संरक्षणबाट भएको हो भन्दा अत्युक्ति नहोला । जीवजन्तु संरक्षणको पहल धेरै अघिदेखि भए तापनि गैँडा संरक्षणको सवाल सुरुवाती कालदेखि नै केन्द्रमा रहिआएको छ । भलै संख्याको आधारमा घडियाल गोही, पाटेबाघ, डल्फिन, हिउँचितुवालगायत अन्य धेरै जनावर पनि उत्तिकै, अझ त्योभन्दा बढी संवेदनशील होलान् । 

पानीमा हुने कारण घडियाल र डल्फिनजस्ता प्रजातिको अवस्था पत्तो हुँदैन भने पाटेबाघ तथा चितुवाजस्ता जनावरका हरेक (सम्पूर्ण) अंगको बेचबिखन हुने हुँदा स्थलगत रूपमा चोरीसिकारका प्रमाण कम भेटिन्छन् । गैँडाको केही अंगको मात्र अवैध व्यापार हुने, विशाल शरीर, प्रत्यक्ष/सहज रूपमा देखिने प्रजाति (कन्स्पिसिअस स्पिसिस) भएका कारण (जीवित वा मृत अवस्थाका) प्रमाण सहजै भेटिने हुँदा गैँडा प्रजातिले सरोकारवालाहरूको बढी ध्यान खिच्छ ।

त्यसैले पनि संरक्षणमा सफलताको सूचकमा गैँडाको संख्या तथा यसको चोरीसिकारीलाई महत्वपूर्ण मानिएको पाइन्छ । नेपालमा गैँडा संरक्षणको पृष्ठभूमि उतारचढावपूर्ण अर्थात् अनपेक्षित उत्साह तथा निराशाजनक छ भन्दा फरक पर्दैन । अत्यधिक चोरीसिकारका कारण गैँडा लोपको संघारमा पुगेको र लामो समयसम्म (कैयनपटक) गैँडाको शून्य चोरीसिकार वर्ष मनाइएको यथार्थ हामीबीच छ । 

सरोकारवालाहरूको योगदानबाट नै गैँडाको अस्तित्व आजका दिनसम्म कायम रहेको हो । चोरीसिकारी रोक्न नेपाली सेना तथा सुरक्षा निकायको मुख्य भूमिका छ भन्ने विषयलाई द्वन्द्वको कालखण्ड र पछिल्लो समय केन्द्रीय अनुसन्धान ब्युरोको सहभागिताले प्रस्ट पारेको छ ।

समुदायको संरक्षणप्रति अपनत्व, निकुञ्ज प्रशासनको योजना तथा गैरसरकारी संस्थाहरूको सचेतना कार्यक्रममार्फत गैँडा संरक्षणमा हामी यहाँसम्म आइपुगेका हौँ । सञ्चार जगत् (सञ्चारमाध्यम, मोबाइल फोनको उपलब्धता, सामाजिक सञ्जाल)मा भएको व्यापकताले पनि संरक्षणलाई थप सशक्त बनाएको छ ।

फलस्वरूप आजसम्म गैँडाको अस्तित्वलाई बचाइराख्न र दीर्घकालीन संरक्षणका लागि गैँडाको पर्याप्त संख्या कायम गर्न सकिरहेका छौँ । यो भन्दैगर्दा गैँडाहरू सुरक्षित छन् भन्ने अर्थ लाग्न सक्ला, तर होइन, संकटमा नै छन् । त्यसपछाडिका धेरै कारण छन् ।

निकुञ्जबाहिर मानव बस्तीहरूमा गैँडाको अत्यधिक आवतजावतले उसको प्राकृतिक वासस्थानको अवस्था जीर्ण छ भन्ने प्रस्ट पार्दछ । अध्ययन अनुसन्धानको निष्कर्ष तथा वैज्ञानिक लेखले पनि त्यही औँल्याउँछन् । जलवायु परिवर्तन, प्राकृतिक प्रकोप या विभिन्न कारणले होस्, मिचाहा प्रजातिको चाप, भोजन प्रजातिको लोप, जल तथा सिमसार क्षेत्रको संकुचनले गैँडाको वासस्थान साँघुरिँदै छ ।

सँगै, हिंस्रक जनावरको संख्याले पनि गैँडाको अस्तित्वलाई थोरबहुत असर पार्छ नै । यी त भए प्राकृतिक कारण । गैँडा संकटापन्न हुनुमा मानव–वन्यजन्तु द्वन्द्व अर्को विशेष कारण हो । जब प्राकृतिक अवस्थाका समस्या गहन हुँदै जान्छन्, त्यसले क्रमिक रूपमा सम्भावित चोरीसिकारलाई सहज बनाउँछ । तर, त्यो एउटा पाटो हो, मुख्य होइन । चोरीसिकारी कसरी सहज हुन्छ भन्दा पनि के कुराले मान्छेलाई चोरीसिकारमा उत्प्रेरित गर्छ भन्ने चाहिँ मुख्य पाटो हो । यसबारे विश्लेषण गर्नु सान्दर्भिक हुन्छ ।

कोभिड–१९ को प्रकोपपछि बन्दाबन्दीसँगै गैँडा चोरीसिकारका घटना एकाएक बढ्दै गएको कुरा बाहिरिइरहेका छन् । यो सम्बन्धित निकायहरूले पनि स्वीकार गरेका छन् । कोभिडसँगै स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट धेरै कैदीबन्दी छुट्दा कैयौँ चोरीसिकारमा संलग्न व्यक्ति पनि छुटेका छन् ।

अब उनीहरूप्रति समाजले गर्ने व्यवहार, हेरिने दृष्टिकोण र उनीहरूको व्यवस्थापनले नै तिनले अब के गर्नेछन् भन्ने भविष्य निर्धारण गर्दछ । यदि ती व्यक्तिलाई समाजमा सुरक्षित अवतरण तथा सकारात्मक पाटोमा लगाउन सकियो भने संरक्षणमा सकारात्मक प्रभाव पर्नेछ ।

उनीहरूलाई नकारात्मक व्यवहार गरियो, अनावश्यक टिप्पणी, हेय तथा बेवास्ता गरियो भने उनीहरू पहिलेकै अवस्थामा फर्किने सम्भावना अधिक रहने हुन्छ । यो विषय संरक्षणको हिसाबले निकै चुनौतीपूर्ण छ । त्यसैले अब यी विषयमा गहन ध्यान पु¥याउन जरुरी छ । यस्ता विषयलाई प्राथमिकतामा राखी सुधारगृहबाट फर्केका व्यक्तिहरूलक्षित कार्यक्रम ल्याउन सकेमा उनीहरू निरन्तर सम्पर्कमा रहन्छन् । सम्भावित दुर्घटना पनि कम हुन्छ । उनीहरू संरक्षणप्रति अपनत्व तथा समाजमा सहजै घुलमिल हुने गरी कार्यक्रम ल्याउन आवश्यक छ ।

अब अर्को विषयतर्फ  लागौँ । संरक्षणमा सफलता हासिल गर्न विगतका सफलताका आधारहरूको अध्ययन गरेर थप विश्लेषण गर्नु आवश्यक हुन्छ । कतिपय कारण महत्वपूर्ण रहे तापनि नजरअन्दाज गरिएका हुन्छन्, प्रकाशमा आएका पनि हुँदैनन् । जसतर्फ पनि ध्यान दिन जरुरी छ ।

चोरीसिकार भयो भन्दा पनि किन एकाएक बढ्दो भयो ? त्यसको सम्भावित कारणप्रति सचेत हुनुपर्छ । चोरीसिकारलाई निरुत्साहित गर्न के कारणले चोरीसिकार भयो भन्नेतर्फ  ध्यान पुर्‍याउन जरुरी छ । सोखका लागि, अर्थोपार्जन, गरिबी तथा आवश्यकताका कारण चोरीसिकार हुने गर्छन् ।

सोखका कारण हुने चोरीसिकारलाई कानुनी कारवाही तथा सुरक्षा संयन्त्रको थप क्रियाशीलताले निस्तेज पार्न सक्तछ । तर, अन्य कारणले हुने चोरीसिकार अलिक संवेदनशील हुन्छ, र समाधान पनि केही जटिल हुन्छ । यसकारण चोरीसिकारमा लागेका व्यक्तिहरू सुधारगृहबाट फर्केपश्चात् पनि बाध्यता, अपहेलना र वैकल्पिक आधार नभएका कारण नचाहेर पनि सोही क्रियाकलापमा संग्लन हुन पुग्छन् । 

आर्थिक अभाव बढ्दै जाँदा सोही अनुपातमा प्राकृतिक स्रोत तथा सम्पदामा निर्भरता बढ्दै जान्छ । त्यसले वन्यजन्तु चोरीसिकारीको सम्भावना पनि बढाएर लान्छ । वर्तमानमा देखिएको चोरीसिकारको कारक कोभिड–१९ ले संरक्षणका कार्यक्रममा ल्याएको सुस्ततालाई मात्र इङ्गित गरेर पुग्दैन ।

केही वर्षयता नेपालमा, विशेष गरेर चितवन जिल्लामा वैदेशिक रोजगारी, जग्गाको मूल्य बढ्दा जग्गा किनबेचमा वृद्धि भई धेरै परिवार तथा मानिसको कमाइ राम्रो थियो । अधिकांश स्थानीय युवा जग्गाको कारोबारमा सहजकर्ता (दलाल) तथा किनबेचमा संलग्न भए । त्यसले मानिसहरूको आयमा वृद्धि गर्‍योे, जीवनशैली फेरियो, क्रय क्षमता पनि बढ्यो ।

सामान्य जीवनयापन गर्नेहरूको समेत हातहातमा स्मार्ट मोबाइल फोन, हरपल इन्टरनेट सेवा, खानपान तथा रमाइलोतिर आकर्षण बढ्यो । सामान्य पारिवारिक आवश्यकता पूरा गर्नसमेत वन तथा निकुञ्जका पैदावार संकलन तथा बेचबिखनमा निर्भर धेरै परिवार वनक्षेत्र जान छोडेका छन् । स्थानीय युवा तथा समुदाय पैसाको प्रलोभनमा परी चोरीसिकारमा प्रयोग हुने सम्भावना हराउँदै गएको अवस्था थियो । 

करिब डेढ वर्षअगाडि चितवन निकुञ्ज मध्यवर्तीका स्थानीयसँग ‘आजकल मान्छेहरू वनपैदावर संकलन गर्न कतिको जान्छन् ?’ भन्ने जिज्ञासा राख्दा ‘वन गए निकुञ्जले लखेट्ला, समाउला, थुन्ला, जरिवाना गर्ला भन्ने डर, बरु जग्गा दलालीमै फाइदा छ । वैदेशिक रोजगारमा पनि धेरै जान थाले । कमाइ हुन थालेपछि मान्छेले खेती त गर्न छाडे, केको निकुञ्ज धाउनु ? यसैले चोरीसिकार पनि घटेको छ । आजकल त मान्छेहरू कमाइका लागि निकुञ्जतर्पm फर्केर पनि हेर्दैनन् । एकाध रमाइलोका लागि गए मात्र हो, नत्र भने कोही जाँदैन । मालपोत अफिसतिर जानुस् त, सबै त्यतै भेटिन्छन्’ भन्ने उत्तर पाएको थिएँ ।

स्थानीयको आयआर्जनमा निकुञ्ज एवं संरक्षण क्षेत्रको योगदान छैन भन्दा पनि हुन्छ । किनकि, यो आयको स्रोत न दिगो छ, न नियमित छ । यदि योगदान छ भने पनि परोक्ष रूपमा होला, तर त्यो पनि ज्यादै न्यून मात्रामा । संरक्षणसँग सम्बन्धित विभिन्न संघसंस्थाका कार्यक्रमले स्थानीयको जीविकोपार्जनमा केही योगदान त पक्कै पुर्‍याएका छन् । तर, प्रतिवेदनहरूमा औँल्याएजसरी जीविको नै उपार्जन हुने अतुलनीय योगदान भने गरेको होइन ।

यदि संरक्षणका कार्यक्रमले रोजगार तथा आयआर्जन गरेको भए स्थानीय किन जग्गा कारोबार तथा वैदेशिक रोजगारप्रति आकर्षित हुन्थे र ? हुन त परियोजना भनेको उपाय तथा सम्भावना देखाउने हो, रोजगार र पैसा बाँडिरहने होइन । स्थानीयस्तरमा वैदेशिक रोजगार, जग्गाको मूल्य वृद्धि, बेचबिखनका कारण स्थानीयको निकुञ्ज स्रोतमा निर्भरता घटेको धरातलीय यथार्थ हो । कतिपय फरक विषयका कारण पनि संरक्षणमा टेवा पुगेको हुन्छ, जसलाई संरक्षणका विषयहरूमा छलफल हुँदा ध्यान दिएको पाइँदैन । यस्ता विषयलाई पनि बेवास्ता गर्न मिल्दैन । 

पछिल्लो अवस्थामा जग्गाको कारोबार असहज तथा कोभिड–१९ का कारण जग्गा व्यवसाय सुस्ताउँदा धेरै मानिस फेरि बेरोजगार भएका छन् । कतिको कमाइ घटेको छ, केहीको पूरै गुमेको पनि होला । केही वैदेशिक रोजगारीबाट फर्किएका छन्, कैयौँ फर्कने अवस्थामा छन् ।

हिजो कमाइ हुँदा जुन जीवनशैली यापन गरेका थिए, आज कमाइ नहुँदासमेत जे जसो गरेर भए पनि उही जीवनशैली जिउन चाहने मानवीय प्रवृत्ति हो । जब–जब आर्थिक अभाव बढ्दै जान्छ, सोही अनुपातमा प्राकृतिक स्रोत तथा सम्पदामा निर्भरता बढ्दै जान्छ । त्यसले वन्यजन्तु चोरीसिकारीको सम्भावना पनि बढाएर लान्छ ।

कोभिड–१९ को प्रकोपपछि बन्दाबन्दीसँगै गैँडा चोरीसिकारका घटना एकाएक बढ्दै गएको कुरा बाहिरिइरहेका छन् । यो सम्बन्धित निकायहरूले पनि स्वीकार गरेका छन् । कोभिडसँगै स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट धेरै कैदीबन्दी छुट्दा कैयौँ चोरीसिकारमा संलग्न व्यक्ति पनि छुटेका छन् । 

वर्तमानमा देखिएको चोरीसिकारको कारक कोभिड–१९ ले संरक्षणका कार्यक्रममा ल्याएको सुस्ततालाई मात्र इङ्गित गरेर पुग्दैन । सरोकारवालाहरूमा सुस्तता आएको पक्कै हो, कार्यक्रम सञ्चालन गर्न असहज परिस्थिति पनि हो । तर, सम्पूर्ण कमजोरी त्यही हो भनेर निष्कर्ष निकाल्नु हुँदैन ।

परिवेश यस्तै रहने र बेरोजगारी पनि बढ्दै जाने हो भने गैँडा संरक्षणमा थप चुनौती थपिने सम्भावना अधिक छ । कतिपय सवाल न निकुञ्ज प्रशासन, न समुदाय, न सुरक्षा निकायको बहसमा हुन्छ । अधिक प्रयास र पहल रहँदारहँदै चोरीसिकारलाई लगाम लगाउन गाह्रो हुन्छ ।

तर, फेरि पनि यसलाई निरुत्साहित गर्ने जिम्मेवारी मूलतः यी तिनै पक्षको हो । त्यसैले अलिकति भिन्न तवरले सोच्नुपर्ने वेला आएको छ । चोरीसिकारमा संलग्न हुँदा कानुनबमोजिम हुने दण्डसजायको बारेमा व्यापक प्रचार–प्रसार गर्नुपर्ने देखिन्छ । स्थानीयस्तरमा रहेका चोरीसिकार प्रतिरोधात्मक (एन्टिपोचिङ) समूहलाई सशक्त रूपमा परिचालन गर्नु सान्दर्भिक होला ।

जसले गर्दा निकुञ्ज र स्थानीयको सम्पर्क तदारुक बनोेस् र चोरीसिकारमा लाग्न युवाहरूलाई निरुसाहित होस् । मध्यवर्ती क्षेत्रका स्थानीय तथा युवामा वनजन्तुसगँको द्वन्द्वका कारण संरक्षणप्रति चित्तनबुझाइ छ । यद्यपि, उनीहरू चोरीसिकारमा आकर्षित छैनन् ।

तर, अभाव तथा आवश्यकता र फेरिएको जीवनशैलीले आगामी दिनमा त्यता आकर्षित नहोलान् भन्न सकिँदैन । त्यसैले आयआर्जनसँगै समुदायमा लक्षित कार्यक्रमहरूको व्यापक आवश्यकता देखिन्छ । यसो भन्दै गर्दा वासस्थान व्यवस्थापनका कार्यक्रम अहिले आवश्यक छैन भन्ने अर्थ नलागोस्, त्यो त निरन्तर गरिनुपर्दछ ।
(भट्टराई वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका  उप–प्राध्यापक हुन्) 

ad
ad