मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ९ शुक्रबार
  • Friday, 22 January, 2021
ad
प्रदीप पौडेल
२०७७ मङ्सिर १६ मंगलबार ०८:२७:००
दृष्टिकोण प्रिन्ट संस्करण

कांग्रेस खोजिरहेका ओली

नेकपाले थेग्न नसकेको कलंक कांग्रेसले थेगिदिनुपर्ने केही छैन, कांग्रेस ओलीको सति जान सक्दैन

प्रदीप पौडेल
२०७७ मङ्सिर १६ मंगलबार ०८:२७:००

पछिल्ला तीन वर्षमा वाम गठबन्धन, एसियाकै तेस्रो ठूलो कम्युनिस्ट पार्टी र दुईतिहाइ सरकारको अपार सफल नौटंकीपछि कमरेड केपी ओली नेपाली कांग्रेससँग ‘सत्ता साझेदारी’को प्रस्ताव गर्ने ठाउँमा आइपुग्नुभएको छ । यो त्यही कांग्रेस हो, जसलाई उहाँले ‘अलच्छिना’ उपनाम दिनुभएको थियो र अर्को चुनावपछि कहिल्यै नभेटिने भविष्यवाणी गर्नुभएको थियो । कतिसम्म भने बाँचेका भए बिपी पनि एमाले प्रवेश गर्ने घोषणा गर्नुभएको थियो । 

ओलीको प्रस्तावले एकथरीलाई तरंगित र उत्साहित बनाएको छ । पाँचै वर्ष प्रतिपक्षमा बस्ने संकल्प गरेको पार्टीलाई प्रधानमन्त्रीकै यस्तो प्रस्तावले तरंगित बनाउनु अस्वाभाविक पनि होइन । तर, के कांग्रेस ओलीको साझेदार बन्न सक्छ र बन्न हुन्छ त ? 

सबैलाई थाहा छ, आफ्नै पार्टीभित्र ओली आफ्नै साथीभाइलाई जवाफ दिन नसक्ने भइसक्नुभएको छ । डबल नेकपाको जग सिद्धान्त होइन, स्वार्थ थियो । त्यो आफैँ कमजोर थियो र ढिलोछिटो भत्किनु नै थियो । ओलीको अहंकार, व्यक्तिवादी कार्यशैली र भ्रष्ट व्यवहारले त्यो पतनलाई अझ गति दियो । ओलीले नेपाली राजनीतिमा आफैँले विकास गरेको भाषाको तुच्छता र अपमानको संस्कार आज विषवृक्ष भएर उहाँकै पार्टीमा फैलिइरहेको छ । 

लामो समयसम्म भारतीय संस्थापनको निकट रहेका ओलीलाई अचानक राष्ट्रवादको प्रमाणपत्र बाँड्ने सनक चढ्यो । नाकाबन्दीको अत्याचारबाट तिल्मिलाएको नेपाली जनमतले त्यो सनकलाई पत्यायो पनि । जब भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई नक्सामा मात्र हालेन, तामझामका साथ सडक निर्माण पनि सुरु गर्‍यो, नेपालमा चर्को विरोध भयो ।

नेपालले पनि नक्सा जारी गर्नुपर्छ भन्ने जनमत बन्दै गएपछि प्रधानमन्त्रीको प्रारम्भिक प्रतिक्रिया थियो, ‘नक्सा त छापाखानामा पनि बन्छ, जमिन पो फिर्ता ल्याउन पर्छ ।’ प्रतिपक्षदेखि सबै नक्सा जारी गर्ने ठाउँमा उभिएपछि नयाँ नक्सा त जारी भयो, तर प्रधानमन्त्रीले शिक्षा मन्त्रालयले तयार गरिसकेको नक्साको पुस्तिका वितरण गर्न दिनुभएन र भारतलाई खुसी बनाउनतिर लाग्नुभयो ।

सम्बन्ध सुधारका नाममा कूटनीतिक मर्यादाविपरीत भारतसँगको राजनीतिक सम्बन्धलाई फेरि ‘र’का हातमा पुर्‍याउनुभयो । चीनतिरको सीमा विवादमा त उहाँ अध्ययनका लागि पनि तयार हुनुभएन । यी दुई उदाहरण नै पर्याप्त छन्, ओलीको विदेश नीति र देशभक्ति कस्तो हो र कसका लागि हो ?

दलाल पुँजीवादविरुद्ध लड्छौँ भनेका कमरेडहरू अहिले दलाल उत्पादनको प्रतिस्पर्धामा छन् । अहिलेको नेकपाको लडाइँमा पनि आ–आफ्ना दलालहरूको संरक्षणको प्रश्न छ । ओली मात्र होइन, नेकपा नै समाजमा नांगिइसकेको छ । यो नग्नता लुकाउन नेकपाका सबै गुट कांग्रेसको मजेत्रो ओढ्न चाहेका छन् ।

जतिवेला हामी युवा विद्यार्थी सडकमा गणतन्त्रका लागि जीवनमरणको लडाइँ लड्दै थियौँ, ओली हामीलाई ‘बयलगाडा चढेर अमेरिका जाने’ भन्दै होच्याउनुहुन्थ्यो । हामीले ल्याएको त्यही गणतन्त्रको बुइ चढेर उनै ओली दुईपटक प्रधानमन्त्री र विद्या भण्डारी दुईपटक राष्ट्रपति बन्नुभयो ।

आज फेरि ओलीकै तीनवर्षे स्थिर कुशासनको जगमा सडकमा ‘राजा आऊ देश बचाऊ’ सुरु भएको छ । राष्ट्रपतिका लागि आकाश पनि खाली गरेर, शाही तामझामसमेत बिर्साउने नौटंकी रचेर ओली अहिले पनि गणतन्त्रसँग बदला लिइरहनुभएको छ । हिजो गणतन्त्रलाई भाषणबाट उपहास गर्ने ओली आज गणतन्त्रलाई शासनबाट उपहास गरिरहनुभएको छ । 

अब नेकपाको प्रसंग । दलाल पुँजीवादविरुद्ध लड्छौँ भनेका कमरेडहरू अहिले दलाल उत्पादनको प्रतिस्पर्धामा छन् । अहिलेको नेकपाको लडाइँमा पनि आ–आफ्ना दलालहरूको संरक्षणको प्रश्न छ । ओली मात्र होइन, नेकपा नै समाजमा नांगिइसकेको छ । यो नग्नता लुकाउन नेकपाका सबै गुट कांग्रेसको मजेत्रो ओढ्न चाहेका छन् । बढी समस्यामा ओली हुनुहुन्छ, त्यसैले अग्रसरता उहाँले लिनुभएको छ । 

वाम घोषणापत्रमा दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्नमा आत्मनिर्भर बनाउँछौँ भनिएको थियो । किसानले साउन त परको कुरा, मंसिरमा समेत मल पाएका छैनन् । समाज सोधिरहेको छ, निर्मला पन्तका बलात्कारी र हत्यारा कहाँ छन् ? कहाँ छ, तेत्तीस किलो सुन ? कहाँ छ, यातायात सिन्डिकेटको खाता ?

जरिवानासमेत नतिराई किन गरियो सबै ठेक्काको नवीकरण ? कहाँ हरायो, सुटबुटवाला ‘नयाँ युगको सुरुवात ?’ कति घट्यो महँगी ? कति खुले नयाँ उद्योग ? कति बढ्यो निर्यात ? के छ मध्यपहाडी राजमार्गको प्रगति ? कहाँ पुग्यो लगभग मुआब्जा बाँडिसकेको बुढीगण्डकी आयोजना ? के–के थपिए सिग्नेचर प्रोजेक्ट ? अहिले कोभिड बहाना भएको छ, तर कोभिडको कारणले होइन, वामपन्थीहरूका कारणले समृद्धि प्राप्त हुन नसकेको हो । कोभिडअघिका करिब अढाई वर्षको कस्तो प्रगति विवरण छ, कमरेडहरूसँग ? खासमा यो ओलीको नेतृत्व भएको तर समग्रमा कम्युनिस्ट राजनीतिको पराजय हो ।

कोभिड कहरपछि ओली सरकार लकडाउन लगाएर ओम्नीको नेतृत्वमा लुटको खेतीमा लाग्यो । हजारौँ निमुखा नागरिक सरकारसँग लुक्दै रातिराति भोकैप्यासै थातथलो फर्के । रोजगारी गुमाएका हजारौँ जनताको बिल्लिबाठ भयो । सरकारको लाचारी र उदासीनताले आजित स्वयंसेवी समूहहरू राजधानी र बाहिर पनि सडकमा ओर्लिए र भोका नागरिकलाई खाना खुवाउने अभियान सुरु गरे । महिनौँपछि अचानक सरकारलाई इज्जतको ख्याल आयो र त्यो अभियानमाथि हस्तक्षेप गरियो । र, भनियो, यसरी त सरकारको इज्जत गयो !

ओली सरकारको इज्जत त्यतिखेर गएन, जतिखेर बेइजिङमा सेनाको जहाजबाट सरकारका सामान झारेर ओम्नीका सामान हालियो । हजारौँ जनता पैदलै हप्तौँ लगाएर बिचल्लीका साथ थातथलो फर्कंदा ओली सरकारको इज्जत गएन । कोभिडको यो महामारीमा महिनौँसम्म एउटै भेन्टिलेटर नकिन्दा तर बिचौलिया र दलालहरूका लागि जतिसुकै गिर्दा पनि सरकारको इज्जत गएन ।

कामचोर ठेकेदारलाई विनाजरिवाना एकमुष्ठ म्यादथप गर्दा सरकारको इज्जत बढ्यो । साउन त परको कुरा, मंसिरमै पनि मल नल्याएर किसानको बिचल्ली पार्दा सरकारको इज्जत अझ थपियो । संवैधानिक निकाय वर्षौंदेखि खाली हुँदा सरकारको इज्जत गएन । प्रतिपक्षलाई दिनुपर्छ भनेर उपसभामुख चयन सुरु नै नगर्दा पनि सरकारको इज्जत जीवितै रह्यो । 

मन्त्रालयका सचिवले मेलम्ची प्रकरणमा मन्त्रालयमै पत्रकार सम्मेलन गरेर मन्त्रीले पैसा मागेको आरोप लगाए । तर, सरकारको इज्जत गएन । सेक्युरिटी प्रेस काण्डमा मन्त्री गोकुल बाँस्कोटाको अडियो नै बाहिरियो, त्यसले पनि सरकारको इज्जत घटाएन । यतीसँग प्रधानमन्त्रीको अविच्छिन्न तर अनैतिक सम्बन्धले सरकारको इज्जतमा कुनै आँच आएन ।

अझ ट्रान्सपरेन्सी इन्टरनेसनलले नेपालको सरकार एसियाकै सबैभन्दा भ्रष्ट भनेर घोषणा गरेपछि त सरकारको इज्जत चुलीमै पुग्यो । महामारीमा रोजगार गुमाएर दर्दनाक अवस्थामा स्वदेश फर्केका नेपालीलाई कमिसनखोरहरूसँग मिलेर सरकारले नै भाडामा लुट्यो । असहाय नेपालीले दूतावासहरूकै अगाडि प्रदर्शन गरे ।

त्यो प्रदर्शनले पनि सरकारको इज्जत नै बढ्यो । कोभिडको परीक्षण र उपचारको दायित्वबाट सरकार बहादुरीका साथ भाग्न खोज्यो । त्यतिखेर पनि सरकारको इज्जतमा कुनै चोट लागेन । असहाय जनताका लागि सिन्कोसम्म नभाँचेको त्यही सरकारको इज्जत भोका पेटका लागि स्वयंसेवी अभियानले गयो । इज्जतको यही परिभाषाले देखाउँछ, ओली सरकार कसको हो ? कस्तो हो ?

ओली विषयान्तर गर्न माहिर हुनुहुन्छ । चाहिएको छ भेन्टिलेटर तर ओली फ्याँक्नुहुन्छ राम मन्दिरको पत्ता । चाहिएको छ स्थिरता, कांग्रेसलाई फ्याँक्नुुहुन्छ साझेदारीको चारो । जवाफ पाउँ न, कति अन्तर्राष्ट्रिय लगानी भित्रियो ? कति रोजगारी थपिए ? कहाँ आइपुग्यो चुच्चे रेल ? कहाँ घुम्दै छ राष्ट्रिय झन्डा भएको पानीजहाज ?

हिजोसम्म बिचौलिया र दलालहरूले नियामक ठाउँमा आफ्नो मान्छे पठाउन लबिङ गर्थे । लगानी बोर्ड होस् वा नेपाल वायुसेवा निगम, ओली राजमा बिचौलिया नै सीधै त्यो ठाउँमा पुगेका छन् । बालुवाटार काण्डमा मुछिएकालाई दण्डस्वरूप अर्थमन्त्रीको पद थमाइएको छ । लाखौँ विद्यार्थी घरमा बस्न बाध्य छन्, वैकल्पिक उपाय खोजिएको छैन । समृद्धि ओलीको, ओम्नीको, यतीको भएको छ । 

कमरेडहरू लालसम्राट बनेका छन् । तिनको जीवनशैली महाशाही भइसकेको छ । देखाउनुपर्ने माफियालाई थियो, तर कमरेडहरू देखाउन जान्छन्, डा. गोविन्द केसीलाई । यही हो कमरेडहरूको समाजवादको बाटो ? सरकारको अयोग्यता आज व्यवस्था र संविधानको अयोग्यता बनिरहेको छ । सडकमा राजावादीको बढ्दो मनोबलको मूल कारण यही सरकार हो ।

आफ्नै नेतासँग संवाद र समन्वय गर्न नचाहनेले प्रतिपक्षलाई कसरी विश्वासमा लिन्छ ? ओलीसँग न नीति छ, न दृष्टिकोण, न इच्छाशक्ति । छ त केवल अहंकार । ओली सरकारको एउटै पहिचान छ ः शैलीमा स्वेच्छाचारिता, नियतमा भ्रष्टाचार, व्यवहारमा निरंकुशता ।

ओलीको सत्ता जोगाउन चुनाव हारेका वामदेव गौतम र नारायणकाजी राष्ट्रिय सभामा लगिए र व्यवस्थाकै बदनाम भयो । कमरेडहरू आफ्ना घरझगडा मिलाउन व्यवस्थाको बलि चढाउँदै छन् । राजनीतिमा विमति हुन्छन् । आरोप–प्रत्यारोप पनि हुन्छन् । तर, त्यसको पनि आफ्नै मर्यादा हुन्छ ।

ओलीले कांग्रेसको मानमर्दन गर्न कहिल्यै मर्यादाको ख्याल गर्नुभएन । कांग्रेस सरकारमा हुँदा सडक दुर्घटना पनि ओलीका लागि कांग्रेसको ‘अलच्छिन’ हुन्थ्यो । स्थानीय तहको पहिलोे निर्वाचनलगत्तै ओलीको प्रतिक्रिया थियो, ‘कांग्रेसजस्तो पार्टी कसरी एमालेको प्रतिस्पर्धामा आउन सक्यो ?’ सखापै बनाउने संकल्प लिएको त्यही कांग्रेस आज किन उहाँको आवश्यकता भयो त ? लोकतन्त्रका लागि ? होइन । देशभक्तिका लागि ? होइन ।

आफ्नै नेतासँग संवाद र समन्वय गर्न नचाहनेले प्रतिपक्षलाई कसरी विश्वासमा लिन्छ ? ओलीसँग न नीति छ, न दृष्टिकोण, न इच्छाशक्ति । छ त केवल अहंकार । ओली सरकारको एउटै पहिचान छ ः शैलीमा स्वेच्छाचारिता, नियतमा भ्रष्टाचार, व्यवहारमा निरंकुशता । ‘मेरो वचन नै हो शासन’ भन्ने बानी परेका ओलीले कसरी कांग्रेससँग साझेदारी गर्नुहोला ?

ओलीका लागि स्वार्थ नै सिद्धान्त हो । हिजो मधेस आन्दोलनका मृतकहरू ओलीका लागि ‘झरेका आँप’ थिए । राजेन्द्र महतोहरू घनघोर राष्ट्र–विरोधी थिए । पछि राजेन्द्र महतोलाई चुनाव जिताउन उहाँलाई कत्ति संकोच भएन । पछि राष्ट्रिय सभाको निर्वाचनमा महतोहरू सहोदर कमरेड नै भए । हिजो उहाँका लागि माओवादी केवल हत्यारा थिए, पछि रातारात गठबन्धनका लायक भए । अलि पछि त एउटै पार्टीका सहोदर कमरेड नै भए ।

माधव नेपालहरूलाई हैसियत देखाउन प्रचण्डहरू प्रयोग गरिए, आज माधव–प्रचण्डहरूलाई एकमुष्ठ देखाउन शेरबहादुरहरू प्रयोग गरिँदै छन् । संवैधानिक नियुक्तिहरू वर्षौं खाली हुँदा ओलीलाई कहिल्यै प्रतिपक्षको सम्झना आएन । दुईतिहाइको उन्मादमा सभामुख र उपसभामुख दुवै एउटै पार्टीबाट हुँदा कहिल्यै संवैधानिक व्यवस्था र संसदीय मर्यादाको ख्याल भएन । विश्वविद्यालयहरूको कमरेडीकरण गर्दा कहिल्यै लोकतन्त्रको सम्झना भएन । 

कांग्रेसका प्रश्नको जवाफ ओलीले पछि दिए पनि हुन्छ । पहिले आफ्नै पार्टीका कार्यकारी अध्यक्षसहित शीर्ष पाँच नेताका प्रश्नको जवाफ दिनोस् । नेकपाले थेग्न नसकेको कलंक कांग्रेसले थेगिदिन पर्ने केही छैन । हाम्रा नेताहरूलाई हेरेर ओलीलाई अर्कै लाग्दो हो, तर नेपाली कांग्रेस पार्टी कुनै कन्टेनर होइन । त्यहाँ ओलीका कलंकपूर्ण कर्महरूलाई कुनै ठाउँ छैन । कांग्रेस ओलीको सति जान सक्दैन । ओली मात्र होइन, दशकौँदेखि साम्यवादका नाममा जनतालाई झुक्याएको लाल राजनीति अब निर्णायक पतनको छेउमा छ । कांग्रेसले राम–राम भन्न सक्छ, काँध थाप्न सक्दैन ।