
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नौ प्रकारका स्वास्थ्य सेवा निःशुल्क रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री पौडेलले स्थानीय तह, प्रदेश र संघका विभिन्न स्वास्थ्य केन्द्रहरूमा नौ प्रकारका स्वास्थ्य सेवा निःशुल्क भएको जानकारी दिए ।
उनले देशभर ११ हजार दुई सय ९५ स्वास्थ्य संस्था रहेकाे जानकारी दिए । जसमा सरकारी स्वास्थ्य संस्था आठ हजार ८७४ मध्ये आठ हजार ६२५ स्थानीय तह स्वास्थ्य संस्था भएको बताए । स्वास्थ्य चौकी, आयुर्वेद औषधालय, सहरी ग्रामीण स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल स्थानीय तहका भएको उल्लेख गरे । प्रदेश स्तरमा १८४ स्वास्थ्य संस्था र संघीय स्तरमा ४६ स्वास्थ्य संस्था, सामुदायिक र निजी गरी कुल दुई हजार ४२१ वटा स्वास्थ्य संस्थाहरू रहेको उल्लेख गरे ।
स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच सुनिश्चित आधाभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवाको प्रारम्भिक उपचार निःशुल्क उपलब्ध गराउने कार्यान्यवनस्वरूप खोप, परिवार स्वास्थ्य, सरुवा रोग, नसर्ने रोग, मानसिक रोगलगायत सेवाहरू निःशुल्क उपलब्ध गराएको बताए ।