
नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले राजनीतिक निकासका लागि पार्टी नेतृत्वसमक्ष चारबुँदे अनुरोध अघि बढाएका छन्। उनले भ्रष्टाचारको छानबिनका लागि शक्तिशाली आयोग गठनदेखि संविधान संशोधन, राज्यको पुनर्संरचनालगायत विषय राखेका छन्।
यस्तो छ उनको अनुरोध
संवैधानिक समाधान तथा राष्ट्रिय मेलमिलापका लागि आह्वान
भ्रष्टाचारको अन्त्य गर्दै सुशासन स्थापनाका लागि GEN Z युवा समूहले २०८२ भदाै २३ र २४ गते गरिएको आन्दोलनमा हाम्रा नानीबाबुहरूको निधन भएकोमा मर्माहत भएको छु । सो क्रममा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु। आन्दोलनका क्रममा घाइते हुनुभएका युवाहरूको शीघ्र स्वास्थ्यलाभको प्राथना गर्दछु।
भ्रष्टाचारविरुद्ध गरेको शान्तिपूर्ण आन्दोलनका क्रमका जेन–जी समूहमाथि भएको बल प्रयोगको साथै शान्तिपूर्ण आन्दोलनको आडमा स्वार्थ समूहले भदाै २४ गते घुसपैठ गरी निजी तथा सार्वजनिक सम्पत्तिमाथिको आगजनी र तोडफोडले पुर्याएको जनधनको क्षतिप्रति, राष्ट्रिय धरोहर र लोकतान्त्रिक संस्थाहरूमाथि गरिएको सुनियोजित आक्रमणको घोर भर्त्सना गर्दछु । लोकतन्त्र, प्रजातन्त्र र नागरिक अधिकारका लागि जीवनभर संघर्ष गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत अन्य राजनीतिक व्यक्ति तथा राष्ट्रसेवकहरूमाथि भएको हमलाको निन्दा गर्दछु । यी सबै घटनाको निष्पक्ष छानबिन गरी दोषी जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछु ।
०८२ भदौ २३ र २४ गते भएका घटनाक्रम र उत्पन्न विषम परिस्थितिले सिंगो देश अन्याेलमा परेको छ । राजनीतिक शून्यताको यस परिस्थितिलाई चिर्दै लोकतान्त्रिक मूल्य–मान्यताप्रति पूर्ण प्रतिबद्ध भई विधिको शासनलाई बलियो बनाउन तथा देशलाई संवैधानिक शून्यतामा जानबाट रोक्न हामी सबै एकजुट हुन आवश्यक छ। अहिले हामी राष्ट्रिय एकता, शान्ति, स्थिरता र समृद्धिको मार्गमा मुलुकलाई लैजान विशेष इतिहास निर्माणको चरणमा छौँ।
यस संवेदनशील घडीमा देशलाई शान्ति र प्रगतिको मार्गमा फर्काउन संयम, संवाद र एकताको खाँचो छ। यसै सन्दर्भमा सम्माननीय राष्ट्रपतिज्यूले थाल्नुभएको संवाद तथा वार्ताको पहललाई स्वागत गर्दछु र सबै पक्षलाई संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्दछु । साथै, सुरक्षा निकायहरूले शान्ति स्थापनाका लागि गरिरहेको कार्यमा सहयोगका लागि आमनागरिक, समाज, सञ्चार जगत् तथा सम्बन्धित सबै पक्षसँग अपेक्षा गर्दछु ।
मलाई थाहा छ– हाम्रा युवाहरूले सडक र सामाजिक सञ्जालमार्फत उठाएको आवाज, भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलन स्वाभाविक र जायज खबरदारी हो । यस विषयलाई मैले राजनीतिक यात्राको सुरुवाती दिनदेखि नै सशक्त रूपमा उठाउँदै आएको र निरन्तर खबरदारी गरिरहेको हो । यद्यपि, आशातीत नतिजा हासिल गर्न सकिरहेका थिएनौँ । निरन्तरको प्रयासमा पनि हामी कहाँ चुक्यौँ, यसको आत्मसमीक्षा र कमजोरीको आत्माआलोचना हामीले अवश्य गर्नुपर्नेछ । नेपालको लोकतान्त्रिक संघर्षको गाथासँग अभिन्न रूपमा गाँसिएको तथा निरंकुश शासनको अन्त्यदेखि लिएर गणतन्त्रको स्थापना र संघीय लोकतान्त्रिक संविधानको निर्माणसम्मका हरेक महत्त्वपूर्ण समयमा नेपाली कांग्रेस पार्टीले राष्ट्रलाई सफलतापूर्वक नेतृत्व गरेको स्मरण गर्दै आजको संकटमा पनि हामी संवाद, सहमति र संवैधानिक प्रक्रियाको माध्यमबाट राष्ट्रलाई स्थिरतातर्फ डोर्याउनुपर्ने निष्कर्षमा छौँ।
अहिलेको यस संकटको क्षणलाई हामी सबै मिलेर राष्ट्रिय पुनर्जागरणको अवसरमा परिणत गर्नुपर्ने समय आएको छ। राष्ट्रिय एकता, संयमता र संवादको माध्यमबाट युवाहरूको भावनाबमोजिम वर्तमानमा निकास खोज्न र लोकतान्त्रिक नेपालको यात्रालाई सुनिश्चित गर्न संविधान र विधिको शासनभित्र रहेर समस्याको समाधान गर्न सम्माननीय राष्ट्रपति, सम्पूर्ण जेन–जी युवाहरू तथा सबै राजनीतिक दलहरू र नागरिक समाजमा हार्दिक अनुरोध गर्दछु।
साथै, मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न मद्दत गर्दै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा नयाँ मुलुक निर्माणमा एकताबद्ध भई जुट्न नेपाली कांग्रेसका देशभरका नेता तथा कार्यकर्ता सबैमा हार्दिक अपिल गर्दछु ।
मुलुकलाई तत्काल निकास दिन नेपाली कांग्रेसको बैठक आयोजना गरेर हामीले निम्न विषयमा निर्णय लिनुपर्छ, यसका लागि नेपाली कांग्रेस पार्टी नेतृत्वलाई अनुरोधसमेत गर्दछुः
तत्कालको निकासका लागि
१. अन्तरिम सरकारको गठन
संविधानको सर्वोच्चतालाई सम्मान गर्दै तत्कालको राजनीतिक शून्यतालाई अन्त्य गर्न, स्थिरता पुनर्स्थापना गर्न, विधिको शासन कायम राख्न र शान्तिपूर्ण समाधानका लागि वातावरण निर्माण गर्ने स्पष्ट कार्यादेशका साथ राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि जेन–जी आन्दोलनकारी तथा सबै राजनीतिक दलहरूसँग अविलम्ब संवाद प्रारम्भ गर्ने।
प्रदर्शनका क्रममा भएको बल प्रयोग र मानवीय तथा भौतिक क्षतिको निष्पक्ष छानबिन गर्न र दोषीलाई कानुनी कठघरामा ल्याउन एक उच्चस्तरीय, स्वतन्त्र न्यायिक जाँचबुझ आयोग गठन गर्ने ।
२. संविधान संशोधन
प्रणालीगत सुधारलाई सम्बोधन गर्न जेन–जी आन्दोलनका युवा प्रतिनिधि, राजनीतिक दल, संवैधानिक विषय विज्ञहरू, नागरिक समाजका प्रतिनिधिसहितको समिति गठन गरी संविधानका प्रावधानहरूमाथि आवश्यक सुधारका लागि योजना तयार पार्ने।
२०४६ सालपछि मुख्य पदमा रहेका सम्पूर्ण राष्ट्रसेवक र दलका मुख्य नेताहरूको भ्रष्टाचार तथा सम्पत्ति छानबिनका लागि अधिकारसम्पन्न आयोग गठन गर्ने र भ्रष्टाचार गरेर कमाएको सबै सम्पत्ति राष्ट्रियकरण गर्ने ।
दीर्घकालीन समाधानका लागि :
संविधान संशोधन गरी राज्यको पुनर्संरचना गर्ने र अनावश्यक प्रावधानहरू खारेज गर्ने । (जस्तैः– प्रतिनिधिसभामा समानुपातिक प्रतिनिधित्व हुने गरी सबै सांसदहरू प्रत्यक्ष निर्वाचित हुने १०५ जनाको संसद बनाउने। प्रदेशमा विद्यमान सांसद संख्या आधा कायम गर्ने। स्थानीय तहको संख्या घटाएर ५० प्रतिशतमा झार्ने। संघीय मन्त्रिपरिषद् १५ सदस्यीय र प्रदेशको बढीमा पाँच सदस्यीय मन्त्रिमण्डल रहने व्यवस्था गर्ने।)
राज्यका निकायहरुमा र विशेषगरी संवैधानिक नियुक्तिको विशिष्ट मापदण्ड तयार पार्ने र कसैले पनि कुनै पनि प्रकारको अनिमियततामा मुछिएको व्यक्ति नियुक्ति गर्न नसक्ने तथा नमिल्ने प्रबन्ध मिलाउने।
नेपालको निजामती प्रशासन र सुरक्षा निकायमा आमूल सुधार तथा पुनर्संरचना गरी देश र जनताप्रति पूर्ण बफादार तथा सक्षम संस्था एवं प्रणालीको निर्माण गर्ने।
नेपाली कांग्रेसको सम्बन्धमा
पछिल्लो समय उत्पन्न भएको परिस्थितिबाट मुलुकलाई कसरी निकास दिने भन्ने सम्बन्धमा तत्काल भर्चुअल वा भौतिक रूपमा पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरी राष्ट्रिय सरकार गठन तथा मुलुकको विद्यमान समस्या समाधानका सम्बन्धमा पार्टीको धारणा सार्वजनिक गर्ने।
नेपाली कांग्रेसको सिद्धान्त, नेतृत्व चयन र शासकीय दृष्टिकोणमा पुनर्विचार गरी नयाँ पुस्ता अटाउन र परिवर्तित समयसापेक्ष मागअनुरूप पार्टी संगठन र संरचना पुनर्निर्माण गर्ने।
हालको पार्टी नेतृत्वले तत्काल राजीनामा गर्ने तथा सोही काम चलाउ कमिटीको संयोजनमा ६ महिनाभित्रमा पार्टीको महाधिवेशन सम्पन्न गर्ने।
जय नेपाल !
प्रदीप पौडेल
केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२०८२ भदौ २५