१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख १९ बुधबार १o:o३:oo
Read Time : > 2 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बर्थिङ सेन्टरमा दक्ष जनशक्तिको अभाव : सुरक्षा गार्ड र सरसफाइकर्मी नै प्रसूति गराउँदै

Read Time : > 2 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:o३:oo

तालिम प्राप्त स्वास्थ्यकर्मीको अभावमा धनुषाका अधिकांश बर्थिङ सेन्टरमा सुरक्षा गार्ड र सरसफाइ कर्मचारीले नै प्रसूति गराउँदै आएका छन् । जसले गर्दा बर्थिङ सेन्टर जाने गर्भवती आमाको स्वास्थ्य जोखिममा पर्ने गरेको छ । 

धनुषाको लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडास्थित बर्थिङ सेन्टरमा दक्ष स्वास्थ्यकर्मी उपस्थित नभएको महिनौँ बितेको छ । यो बर्थिङ सेन्टरमा प्रसूति सेवा भने नियमित चलिरहेको छ । यो साता मात्रै दुईजना आमाले यही बर्थिङ सेन्टरमा शिशुलाई जन्म दिएका छन् । तर, दक्ष स्वास्थ्यकर्मी भने उपस्थित थिएनन् । 

त्यसो भए बर्थिङ सेन्टरमा कसले दियो त प्रसूति सेवा ? सुरक्षा गार्ड जोगी माली भन्छन्, ‘हामीले नै सबै काम गर्‍यौँ ।’ उनी र सरसफाइकर्मी पूर्णी यादवले प्रसूति सेवा दिँदै आएका छन् । ‘सरहरू नभएको वेलामा हामीले नै सेवा दिन्छौँ,’ सुरक्षा गार्ड माली भन्छन्, ‘बर्थिङ सेन्टर सञ्चालन भएदेखि नै काम गर्दै आएकाले मलाई पनि सबै थाहा छ ।’ 

यो बर्थिङ सेन्टरमा साउनयता ४८ जनालाई प्रसूति सेवा दिइएको छ । गत वर्ष ८२ जनालाई सेवा दिइएको बर्थिङ सेन्टरको तथ्यांक छ । यसमा अधिकांश सुरक्षा गार्ड र सरसफाइकर्मीले सेवा दिएका छन् । 

सिनुरजोडा स्वास्थ्य चौकीका इन्चार्ज कृष्णकुमार यादव कहिलेकाहीँ सुरक्षा गार्ड र सरसफाइ कर्मचारीले प्रसूति सेवा दिने गरेको स्विकार्छन् । ‘कर्मचारीको अभावले कुनै एक कर्मचारी अन कलमा हुन्छन्, सेवाग्राही आएको खण्डमा कर्मचारीलाई फोन गरेर बोलाउनुपर्छ,’ स्वास्थ्य चौकी इन्चार्ज यादव भन्छन्, ‘तबसम्म बिरामीको रेखदेख तथा अन्य सेवा दिने काम हाम्रो स्विपर र गार्ड नै गर्छन् । उहाँहरू पनि अनुभवी हो, त्यसकारण कुनै समस्या हुँदैन ।’

यो मात्रै होइन, जिल्लाका अन्य बर्थिङ सेन्टरको अवस्था पनि यस्तै छ । यहाँका १७ वटा बर्थिङ सेन्टरमध्ये अधिकांशमा कर्मचारी छैनन् । दक्ष जनशक्ति र स्थानीय सरकारसँगको समन्वयको अभावमा अधिकांश बर्थिङ सेन्टर नाम मात्रैको लागि सञ्चालन भइरहेका छन् । पूर्वाधार र दक्ष जनशक्तिको अभाव तथा आवश्यक उपकरणहरू नहुँदा बर्थिङ सेन्टरले दिने सेवा प्रभावकारी हुन नसकिरहेको बर्थिङ सेन्टरको अनुगमन गरेकी जिल्ला स्वास्थ्य कार्यालय, धनुषाका कर्मचारी किरण चौधरी बताउँछिन् । बर्थिङ सेन्टरको अनुगन तथा निरीक्षण गर्दै आएकी चौधरी भन्छिन्, ‘बर्थिङ सेन्टरको सञ्चालनका लागि सुरक्षित प्रसूतिसम्बन्धी तालिम लिएका दुईजना अनमी आवश्यक हुन्छ । तर, यहाँका अधिकांश बर्थिङ सेन्टरमा त्यसअनुसारको कर्मचारी छैनन् ।’

बर्थिङ सेन्टरमा २४सै घन्टा सेवा दिनुपर्ने हुन्छ । यसका लागि दुईभन्दा बढी कर्मचारी आवश्यक पर्छ । राति बस्नेका लागि क्वार्टरको पनि व्यवस्था हुनुपर्छ । तर, यो केही सुविधा नभएको चौधरी बताउँछिन् । ‘धनुषाका अधिकांश बर्थिङ सेन्टरमा क्वार्टरको व्यवस्था छैन, राति नर्सहरू आफैँ असुरक्षित हुन्छन्,’ उनी भन्छिन्, ‘यो समस्याको व्यवस्थापन सम्बन्धित स्थानीय सरकारले गर्नुपर्छ । समस्या समाधान नहुँदासम्म प्रसूति सेवा प्रभावकारी हुन सक्दैन ।’

बर्थिङ सेन्टर प्रभावकारी नहुँदा जनकपुरस्थित सरकारी तथा निजी अस्पतालहरूमा प्रसूति सेवा लिनेको भिड लाग्ने गरेको छ । प्रादेशिक अस्पताल, जनकपुरका प्रसूति विभागका इन्चार्ज डा. रामनरेश पण्डित पनि बर्थिङ सेन्टर प्रभावकारी नहुँदा अस्पतालमा चाप बढेको बताउँछन् । ‘प्रादेशिक अस्पतालमा चाप बढेको छ । अझ हामीकहाँ सेवा लिन आउने अधिकांश ग्रामीण क्षेत्रका विपन्न, निम्न वर्गका महिलाहरू बढी हुन्छन् ।’ प्रादेशिक अस्पतालको तथ्यांकअनुसार गत वर्ष ११ हजार दुई सयजनाले प्रसूति सेवा लिएका छन् । त्यसमध्ये एक हजार आठ सयको मात्रै शल्यक्रियामार्फत प्रसूति गराइएको छ । 

जिल्लाका अधिकांश बर्थिङ सेन्टरमा स्वास्थ्यकर्मीको अभाव रहेको नेपाल स्वास्थ्यकर्मी युनियन प्रदेश २ का अध्यक्ष शिवजी दास बताउँछन् । ‘अधिकांश बर्थिङ सेन्टरमा दक्ष कर्मचारीको अभाव छ,’ अध्यक्ष दास भन्छन्, ‘अक्सिजनको अभाव छ, आवश्यक औषधीको अभाव छ । नियमित सञ्चालन पनि हुँदैनन् ।’ २४सै घन्टा खुला हुनुपर्ने बर्थिङ सेन्टर १० देखि ५ बजेसम्म मात्रै सञ्चालन हुने गरेकाले पनि सेवाग्राहीले वैकल्पिक बाटो रोज्ने गरेको उनी बताउँछन् । 

जिल्ला स्वास्थ्य कार्यालय, धनुषाको तथ्यांकअनुसार जिल्लाभर १७ वटा बर्थिङ सेन्टर छन् । तर, कर्मचारी नहुँदा केही बन्द भएका छन् भने केही सुरक्षा गार्ड र सरसफाइ कर्मचारीकै भरमा चलिरहेका छन् । प्रदेश २ सरकारले बर्थिङ सेन्टरलाई प्रभावकारी बनाउने जनाएको छ । सामाजिक विकास मन्त्रालयका उपसचिव बडाबाबु दाहाल ग्रामीण क्षेत्रका महिलाका लागि बर्थिङ सेन्टर आवश्यक रहेकाले त्यसको प्रवद्र्धन जरुरी रहेको बताउँछन् । त्यसका लागि यस वर्ष तीन दर्जन बर्थिङ सेन्टरहरू निर्माण गर्ने योजना रहेको उनको भनाइ छ । 

उद्घाटनमै सीमित हंसपुर बर्थिङ सेन्टर 
धनुषाको हंसपुर नगरपालिकाले एक वर्षअघि कटपुल्लास्थित स्वास्थ्य चौकीमै बर्थिङ सेन्टरको उद्घाटन गरेको थियो । तर, केही दिन सञ्चालन भएको बर्थिङ सेन्टर अहिले बन्द भएको छ । स्वास्थ्य चौकीका इन्चार्ज राजकिशोर मण्डल भन्छन्, ‘बर्थिङ सेन्टर सञ्चालन भएको खबर हामीले पनि सञ्चार माध्यमबाट सुनेका थियौँ । तर, सञ्चालन भएको छैन ।’

बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार र दक्ष स्वास्थ्यकर्मी नहुँदा सञ्चालन नभएको उनको भनाइ छ । हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल कर्मचारी अभावले बर्थिङ सेन्टर बन्द भएको बताउँछन् । ‘हामीले बर्थिङ सेन्टर सञ्चालन गरेका थियौँ । तर, कर्मचारी समायोजन भई अन्यत्र गएदेखि बन्द भएको छ,’ मेयर मण्डल भन्छन्, ‘बर्थिङ सेन्टर सञ्चालनका लागि पुनः प्रयास गरिरहेका छौँ ।’

ad
ad