१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०७७ मङ्सिर ७ आइतबार १२:०६:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बेसीसहर–चामे सडकअन्तर्गत खुदीसम्म यही वर्ष कालोपत्र हुने

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ७ आइतबार १२:०६:००

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेसीसहर–चामे सडक यही आर्थिक बवर्षदेखि कालोपत्रे हुने भएको छ । 

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बेसीसहरदेखि खुदीसम्म चालू आर्थिक वर्षमै कालोपत्रे सुरु गरिने बताएका हुन् । 

५ मंसिरमा बेसीसहर–चामे सडक सरोकार, समन्वय तथा संघर्ष समितिको ध्यानाकर्षण पत्र बुझ्दै महानिर्देशक शर्माले यही वर्षबाट सडक कालोपत्रे सुरु गरिने आश्वासन दिएका हुन् । 

शर्माले भने यो सडकमा पर्ने पुमाखोला, मर्स्याङ्दी, खुदीखोलालगायतका स्थानमा यसै वर्ष आठवटा सडक पुल निर्माण सुरु गरिनेछ । 

बेसीसहरदेखि खुदी भुलभुलेसम्म कालोपत्रे र बेसीसहर– ६ स्थित खरखरे भिर नियन्त्रणको काम सुरु गरिने उनको भनाइ छ । 

सडक कालोपत्रे र पुल निर्माणका लागि आगामी पुस महिनामा टेन्डर आह्वान गरिनेछ । 

शर्माले यसअघि यो सडक राष्ट्रिय चासोको रूपमा नपरेको र यो वर्षबाट बहुवर्षे योजनामा परेकाले सडक निर्माणले गति लिने बताए । 

आगामी दुईदेखि तीन वर्षभित्रमा मनाङसम्म सडक कालोपत्रे हुने दाबी शर्माको दाबी छ । 

शर्मासहितको टोलीलाई बेसीसहर–चामे सडक सरोकार, समन्वय तथा संघर्ष समितिले सडक कालोपत्र हुनुपर्ने मागसहितको ध्यानआकर्षणपत्र बुझाएको थियो । 

यो सडक स्तरोन्नति नहुँदा हिउँद र बर्खा दुवै याममा सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । 

सडक बनाउन थालेकोे २५ वर्ष पुग्दा पनि नाला निर्माण नहुँदा र खाल्डाखुल्डी नपुरिँदा नागरिकले सधैँको सास्ती व्यहोर्नुपरेको हो ।  

ट्रयाक मात्र खोलिएको भिरैभिरको सडक निकै जोखिमयुक्त रहेको छ । उत्तरी क्षेत्रको सिंगो मर्स्याङ्दी गाउँपालिका जाने एक मात्र बाटो पनि यही हो । 

सडक विभागले आ.व ०५१–०५२ मा बेसीसहर–चामे सडक निर्माण थालेको थियो । 

द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । 

०५२ सालमा निर्माण सुरु भएको सडक नेपाली सेनाले १९ वर्ष लगाएर ट्रयाक खोलेको थियो । 

यो सडक सेनाले २०६९ मा सडक विभागलाई हस्तान्तरण गरेयता स्तरवृद्धि हुन सकेको छैन । 

डिभिजन सडक कार्यालयमार्फत बर्सेनि मर्मतको काम मात्र हुँदै आएकोमा यस वर्षदेखि छुट्टै कार्यालय स्थापना गरेर काम थालिएको छ । 

यो सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।