१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार o७:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सिक्का बोकेर जानुपर्ने शौचालय !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o७:३४:oo

ललितपुरको मंगलबजार क्षेत्रमा हुनुहुन्छ र सार्वजनिक शौचालय प्रयोग गर्नुपर्ने भयो भने सिक्का बोक्न नबिर्सिनुहोला । किनकि, सिक्का नछिराई मंगलबजारको सार्वजनिक शौचालयको ढोका नै खुल्दैन । शौचालयस्थलमा सिक्सा साट्ने व्यवस्था गरिएको छैन ।

यो २५ वर्ष पुरानो सार्वजनिक शौचालयलाई महानगरपालिकाले पुनर्निर्माण गरेर आधुनिक बनाएको हो । लैंगिक तथा अपांगतामैत्री बनाएको शौचालयको भित्तामा एउटा बक्स छ । त्यही बक्समा सिक्का छिराएपछि मात्रै शौचालयको ढोका खुल्ने गरेको छ । 

महानगरका मेयर चिरिबाबु महर्जनले यस शौचालयलाई महानगर क्षेत्रकै नमुना शौचालय बनाएको बताए । महानगरले एरोसान कम्पनीसँगको सहकार्यमा यो शौचालयलाई पुनः निर्माण गरी सञ्चालनमा ल्याएको हो । सार्वजनिक शौचालय भन्नेबित्तिकै फोहोर, दुर्गन्धित र अव्यवस्थित हुन्छ भन्ने सोचाइलाई यसले परिवर्तन गर्ने मेयर महर्जनको भनाइ छ । 

सुविधासम्पन्न यो शौचालयमा प्रयोग गरिएको प्यान पनि विशेष किसिमको रहेको छ । शौचालयबाट बाहिर निस्किँदा डिजिटल बोर्डमा हात देखाउनुपर्छ । त्यसपछि बाहिर निस्किन संकेत प्राप्त हुन्छ । अनि मात्रै बाहिर निस्किन सकिन्छ । 

शौचालयको प्रयोगपछि हात धुनका लागि झोल साबुन र पानीको व्यवस्था गरिएको छ । चिसो हात सुकाउन ह्यान्ड ड्रायर राखिएको छ । शौचालयमा स्यानिटर प्याड पनि राखिएको छ । यसका लागि थप पैसा तिर्नुपर्छ । प्रयोग भइसकेको प्याड विसर्जनको विशेष व्यवस्था गरिएको छ । 

महानगरका अन्य स्थानमा पनि यस्तै सार्वजनिक शौचालय बनाउने योजना रहेको मेयर महर्जनले बताए । ‘तीनवटा मोबाइल शौचालयहरू महानगरले ल्याइसकेको छ, अब अन्य ठाउँमा पनि सुविधासम्पन्न शौचालय सञ्चालनमा आउँछन्,’ उनले भने । 

एरोसान सस्टेनेबल स्यानिटेसनका प्रमुख प्रकाश अमात्यका अनुसार यो शौचालय पुनर्निर्माणमा २५ लाख रुपैयाँ खर्च भएको छ । शौचालयबाट बायोग्यास पनि निकालिएको छ । ग्यासबाट शौचालयका सञ्चालकहरूले चियाखाजा पकाउन सक्ने व्यवस्था गरिएको छ । 

ad
ad