१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख १९ बुधबार १५:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश १ मा हालसम्म दुई मन्त्री, १२ प्रदेश र दुई संघीय सांसद कोरोना संक्रमित

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १५:३१:oo

प्रदेश १ मा हालसम्म दुईजना मन्त्री र १२ जना प्रदेश तथा दुईजना संघीय सांसद कोरोना संक्रमित भएका छन् । 

संक्रमित भएका सांसद दुईजनाबाहेक  सबैले आफ्नै होम आइसोलेसनमा बसेर कोरोनालाई जितेका छन्। 

राप्रपा नेपालकी प्रदेश सांसद इन्दिरा राई भने सिकिस्त भएकाले उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छिन् । 

आइसियूमा १२ दिन लामो उपचारपछि स्वास्थ्यमा उल्लेख सुधार आएकाले उनी हाल वार्डमा सिफ्ट भएर डिस्चार्जको प्रतीक्षामा रहेको अस्पतालले जनाएको छ ।    

प्रदेश १ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की र सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोना संक्रमित भए । 

दुवैजना पिसिआरपछि आफ्नो निवासमा आइसोलेसनमा बसे । सामाजिक विकासमन्त्री जीवन घिमिरे पूर्ण रूपमा निको भएर कार्य क्षेत्रमा खटिरहेका छन् । 

मन्त्री कार्की दुई हप्ता कटिसकेको र कुनै लक्षण नभए पनि अझै पिसिआर नेगेटिभको प्रतीक्षा गर्दै होम आइसोलेसनमै छन् । उनी मन्त्रालयको आवश्यक काम घरबाटै गरिरहेका छन् ।  

यसैगरी संघीय सांसद अमनलाल मोदी र घनश्याम खतिवडा कोरोना पजिटिभ भए । 

मोदी प्रदेश सरकारको विराटनगरस्थित कोसी कोभिड उपचार केन्द्रमा उपलब्ध निःशुल्क उपचारपछि निको भएर कार्यक्षेत्रमा छन् । 

सांसद खतिवडा मोरङको लेटाङमा आफ्नै घरमा होम आइसोलेसनमा उपचाररत  छन् । 

यसैगरी प्रदेश सांसदहरू कुसुम श्रेष्ठ, सौभाग्यवती राई, आशारत्न जबेगु, सावित्रीकुमारी रेग्मी, लोकप्रसाद संग्रौला, होमकुमार साँवा कोरोना संक्रमित भएर पनि निको भइसकेका छन् । उनीहरू सबै होम आइसोलेनमा बसेर कोरोना जित्न सफल भएका हुन् । 

यसैगरी प्रदेश सांसदहरू राजीव कोइराला, इन्द्रमणि पराजुली, ओमप्रकाश सराबगी, शिवनारायण गन्गाईं, लछुमन तिवारी अझै होम आइसोलेसनमा उपचारत छन् ।  

प्रदेश सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीलेविशिष्ट व्यक्तिहरूको उपचारका लागि विशेष सुविधा दिनेबारे सरकारले कुनै निर्णय नगरेको र सबैले आफ्नै खर्चमा उपचार गरिरहेको बताए । 

उनका अनुसार आमनागरिकलाई उपचारमा समस्या भइरहेका वेला विशिष्टहरूले अतिरिक्त सुविधा लिन सुहाउँदैन । 

कोभिड उपचार सुविधा लिने–नलिनेबारे सांसदमा मतभेद 
प्रदेश १ सभाका सचिव गोपाल पराजुलीले सांसदहरूलाई कोरोना संक्रमणमा उपचार खर्च व्यहार्नेबारे कुनै व्यवस्था नभएको बताए ।

सांसदहरूमा भने उपचार खर्च लिने र नलिनेबारेमा विवाद छ । 

प्रदेश सांसद लोकप्रसाद संग्रौला विशिष्ट व्यक्तिहरूको उपचारमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउँछन्  । 

उनले आफू संक्रमित भएर होम आइसोलेसनमा बस्दा मन्त्रीहरूले हालखबर खोध्नेबाहेक सरकारबाट केही सहयोग नभएको गुनासो गरे । 

उनले भने, ‘महामारीमा बिरामी भएको वेला सरकारले विशेष रूपले सांसदहरूलाई हेरचाह गर्नुपर्ने होइन र ?’

सासद गोपाल बुढाथोकीले महामारीको वेला आमनागरिकको उपचारमा समस्या भइरहेको वेला विशिष्टहरूले अतिरिक्त उपचार सुविधा लिन नहुने बताउँछन् । 

उनले भने, ‘हामी सांसद  र सरकारका मन्त्री जनताका सेवक हौँ, यसैले संकटको वेला हामीले राज्यबाट विशेष सुविधा लिनुहुँदैन ।’

ad
ad