१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ कार्तिक २६ बुधबार ०७:३९:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा विमानस्थल ग्राउन्ड ह्यान्डलिङको जिम्मा निगमलाई नै

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ कार्तिक २६ बुधबार ०७:३९:००

दुई महिनाअगाडि हिमालयलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने निर्णयको सर्वत्र विरोध भएपछि फिर्ता गरेको सरकारले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पनि निगमलाई नै दिने भएको छ

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्‍यान्डलिङको जिम्मा नेपाल वायुसेवा निगमलाई दिने प्रक्रिया अगाडि बढेको छ । दुई महिनाअगाडि सरकारले हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्डेड दिने निर्णय गरे पनि विरोध भएपछि फिर्ता लिएको थियो । 

ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने निर्णय फिर्ता गर्न नागरिक उड्डयन प्राधिकरणलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्देशन नै दिएका थिए । सोहीअनुसार प्राधिकरण र नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको प्रक्रिया अगाडि बढाएका हुन् । ‘हामीले आवश्यक कागजपत्रहरू उपलब्ध गराएर काम सुरु गरेका छौँ,’ निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भने । प्राधिकरणको छुट्टै युनिट भैरहवामा राख्ने गरी प्रस्ताव पेस गरेको पौडेलले जानकारी दिए । 

५ अर्बभन्दा बढी आम्दानी गर्दै आएको निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि ग्राउन्ड ह्यान्डलिङको कार्य गरिरहेको छ । निगमलाई ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी दिने सहमति भइसकेको र सम्झौताका लागि गर्नुपर्ने अन्य कामहरू बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । ‘सहमति भइसकेको छ, खालि अब प्रक्रिया टुंगो लगाउनका लागि दुईपक्षीय छलफल भइरहेको छ,’ पोखरेलले भने । निगमले उडानबाट घाटा व्यहोर्दै आएको भए पनि संस्था चलाउन ग्राउन्ड ह्यान्डलिङको जिम्मेवारी आवश्यक रहेको निगमका प्रबन्ध निर्देशक पौडेलले बताए । 

भैरहवाको विमानस्थलमा भौतिक निर्माणको काम ९३ प्रतिशत सम्पन्न भइसकेको छ । विमानस्थल ०७७ फागुनसम्म सञ्चालनका लागि योग्य हुने अनुमान गरिएको छ । तर, अहिले पनि विमानस्थलमा जडान हुनुपर्ने इक्विप्मेन्टको काम बाँकी रहेको छ । 

सन् २०१८ मै निर्माण सम्पन्न गर्ने गरी सन् २०१६ मै विमानस्थल निर्माणको जिम्मा ठेकेदार कम्पनी चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले पाएको थियो । आयोजना निर्माणका लागि ८ अर्ब ५५ करोड लाग्ने प्रारम्भिक अनुमान गरिए पनि विमानस्थल निर्माणको लागत करिब ३३ अर्ब पुगेको छ । पहिलो चरणमै लागत १० अर्ब पुग्ने अनुमान छ । त्यस्तै, मुआब्जाका लागि २३ अर्ब रुपैयाँ खर्च भइसकेको छ । विमानस्थल ३ हजार मिटर लामो धावनमार्ग र ४५ मिटर चौडाइ रहेको छ । धावनमार्गको कालोपत्रेको काम सम्पन्न भइसकेको छ भने टर्मिनल भवनसमेत निर्माणको अन्तिम चरणमा पुगेको छ । बाँकी इक्विप्मेन्ट रेडार, बत्ती तथा प्राविधिक जडानको काम भने अझै हुन सकेको छैन ।

ठेकेदार कम्पनीले पटक–पटक निर्माणको अवधि तन्काउँदै जाँदा अन्य प्रक्रियामा समेत असर परेको छ । जनवरीसम्म सम्पन्न गर्ने भन्दै गत जुनमा म्याद थपिएको थियो । तर, कम्पनीलाई पुनः तीन महिना समय थप गरेर गत मार्च अन्तिम तथा १५ चैतसम्मको समय दिइएको थियो । कोभिड–१९ का कारण पुनः म्याद थप गरेर २० डिसेम्बर पु¥याइएको छ । चिनियाँ कम्पनीले सन् २०१४ मा निर्माणको ठेक्का पाएको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा सन् २०१६ देखि निर्माण सुरु गरिएको थियो । २०१८ मा सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो । 

हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ दिने निर्णयको विवरण लेखाले माग्यो

दुई महिनाअगाडि हिमालय एयरलाइन्सलाई सेल्फ ग्राउन्ड ह्यान्डलिङको जिम्मा दिने निर्णय गरेकोमा संसद्को सार्वजनिक लेखासमितिले चासो दिएको छ । लेखाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग निर्णयको सबै विवरण पेस गर्न परिपत्र गरेको छ । ४ असोजमा नागरिक उड्डयन प्राधिकरणले निर्णय गरी सेल्फ ग्राउन्ड ह्यान्डलिङ प्रमाणपत्र जारी गरेको थियो । यता मन्त्रालयले भने केही दिनअगाडि मात्रै निर्णय फिर्ता भइसकेको बताउँदै विवरण उपलब्ध गराउनुनपर्ने पत्र पठाएको छ । 

विगत ४० वर्षअगाडिदेखि नै थाई एयरवेज र एयर इन्डियाले आफैँ ग्राउन्ड ह्यान्डलिङ गर्दै आएका छन् । त्यसयता दर्जनाैँ एयरलाइन्सले उडान गरे तापनि त्यसको व्यवस्थापन निगमले गर्दै आएको छ । निगमको आयको मुख्य स्रोत नै खोस्ने गरी हिमालयलाई ग्राउन्ड ह्यान्डलिङ जिम्मा दिइएको भन्दै सर्वत्र आलोचना भएको थियो ।