मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नवीन अर्याल काठमाडाैं
२०८० जेठ १९ शुक्रबार ०८:३१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भैरहवा विमानस्थलमा आइएलएस प्रविधि सञ्चालनको बाटो खुल्यो

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
२०८० जेठ १९ शुक्रबार ०८:३१:००

- सामान्यतथा जहाज उडान र अवतरणका लागि १५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, आइएलएस प्रणाली कार्यान्वयनमा आएपछि आठ सय मिटरसम्मको भिजिबिलिटीमै पनि जहाज अवतरण गराउन सकिनेछ । 

- यो प्रविधि कार्यान्वयनमा आएपछि खासगरी हिउँदमा बाक्लो हुस्सु लागेका वेला पनि जहाज उडान–अवतरण गराउन सकिनेछ । अहिले हुस्सुका कारण तराईमा उडान–अवतरण रोकिने गरेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा जडान गरिएको इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालन गर्ने बाटो खुलेको छ । भारतको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बिहीबार समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भएको भेटपछि आइएलएस सञ्चालनका लागि बाटो खुलेको जानकारी गराएका हुन् । भारतले गौतम बुद्ध विमानस्थलमा आइएलएस प्रणालीबाट अवतरणको स्वीकृति दिएकोमा उनले खुसी व्यक्त गरे । अब खराब मौसममा पनि उपकरणको सहायताले जहाज सुरक्षित अवतरण गर्न सकिनेछ ।

आइएलएस एउटा रेडियो नेभिगेसन प्रणाली हो । जसले विमानलाई राति वा खराब मौसममा पनि सुरक्षित अवतरण गराउन सहयोग गर्छ । यो पूर्णतः प्रविधिमा आधारित अवतरण प्रणाली हो, जसले धावनमार्गबाट आकाशमा रहेको जहाजमा सूचना प्रदान गर्ने काम गर्छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा जहाज अवतरण गर्नका लागि १५ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, आइएलएस प्रणालीमार्फत आठ सय मिटरसम्मको भिजिबिलिटीमै पनि जहाज अवतरण गराउन सकिन्छ । गत हिउँदमा बाक्लो हुस्सु लागेपछि आइएलएस प्रणाली सञ्चालन नहुँदा उडान नै रद्द गर्नुपरेको थियो ।

सीमानजिकै रहेको गौतम बुद्ध विमानस्थलमा जडित आइएलएसले भारतीय बफर जोनसमेत ओगट्ने भन्दै भारतले सञ्चालन अनुमति दिएको थिएन । अब नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आइएलएस प्रणाली सञ्चालनका लागि थप प्रक्रिया अगाडि बढाउनुपर्नेछ ।

प्रधानमन्त्री दाहालले भारतसँग पश्चिम नेपालको महेन्द्रनगरबाट हवाई प्रवेश रुटसमेत मागेका छन् । तर, यस विषयमा कुनै सहमति हुन सकेको छैन । महेन्द्रनगरबाट प्रवेश विन्दुका लागि भारतसँग अनुरोध गरेको र भारत पनि अतिरिक्त हवाई रुट दिन सकारात्मक नै रहेको प्रधानमन्त्रीले बताए । भेटमा भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडान अनुमति दिन उनले आग्रह गरेका छन् । 

२ जेठ ०७९ मा सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जग्गाको मुआब्जासहित ३१ अर्बभन्दा बढी लगानी भएको छ । तर, अहिले एउटा पनि अन्तर्राष्ट्रिय उडान भएको छैन । उद्घाटनकै दिनदेखि सातामा तीन उडान गर्दै आइरहेको कुवेतको जजिरा एयरवेजले पछिल्लो समय विविध कारण देखाउँदै उडान रोकेको छ । 

देशको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले २९ जेठदेखि मलेसियाबाट भैरहवा नियमित उडान गर्न लागेको छ । न्यारोबडी एयरबस ३२० विमानबाट काठमाडौं–क्वालालम्पुर–भैरहवा–काठमाडौं सेक्टरमा चक्रिय उडान गर्न लागिएको हो । निगमले मलेसियाबाट भैरहवासम्मका लागि प्रतियात्रु भाडा ११ हजार चार सय ६१ र मलेसियाबाट भैरहवा हुँदै काठमाडौंसम्मको प्रतियात्रु १२ हजार तीन सय ४६ रुपैयाँ भाडा तोकेको छ । निगमको जहाज सोमबार साँझ ८ः५० बजे काठमाडौंबाट मलेसियातर्फ उड्नेछ भने मंगलबार बिहान ७ः३० बजे भैरहवामा अवतरण गर्ने बताइएको छ ।