१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
काेराेना संक्रमणकाे जाेखिमबीच मालपोत र यातायात कार्यालय धनगढीमा सेवाग्राहीको भिड ।
२०७७ कार्तिक २४ सोमबार १५:०२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकारी कार्यालयमा सेवाग्राहीको घुइँचो, छैन सुरक्षा सावधानी [तस्बिरसहित]

Read Time : > 2 मिनेट
२०७७ कार्तिक २४ सोमबार १५:०२:००

कोरोना संक्रमण फैलन सक्ने भन्दै सरकारले व्यक्तिबीच भौतिक दूरी कायम गर्न आग्रह गर्दै आएको छ । तर, सरकारी निकायमै भौतिक दूरी कायम हुन नसक्दा संक्रमण फैलने जोखिम बढेको छ । 

भूमिसुधार तथा मालपोत, यातायात, आन्तरिक राजस्व, प्रशासनलगायतका सरकारी निकायमा दैनिक सयौँ सेवाग्राहीको भिड लाग्ने गरेको छ ।

स्वास्थ्य सावधानीविना हुने भिडले संक्रमण फैलँदै गएको स्वास्थ्यकर्मीले बताएका छन् । धनगढीस्थित भूमि सुधार तथा मालपोत कार्यालयमा मात्रै दैनिक एक हजारभन्दा बढी सेवाग्राहीको भिड लाग्छ । मालपोत परिसरदेखि हरेक फाँटमा बिहानैबाट सेवाग्राहीको घुइँचो लागेको हुन्छ । सँगै रहेको नापी कार्यालयमा पनि उस्तै भिड देखिन्छ ।

काेरोना जोखिम भए पनि भिडभाडमै कोचिएर सेवा लिनुपर्ने अवस्था रहेको सेवाग्राहीले बताएका छन् । सेवाग्राहीको भिडले संक्रमणको जोखिम एकातिर छ भने अर्कोतिर सेवा लिन पनि समस्या भएको छ ।

मालपोतमा सेवा लिनका लागि घन्टाैं लाइन लाग्नुपर्ने बाध्यता छ । मालपोतमा भेटिएका सेवाग्राही धनगढी उपमहानगरपालिका–११, घनश्याम रानाले जोखिम मोलेरै सेवा लिनुपरेको बताए।

अंशबन्डासम्बन्धी काम दुई दिनसम्म नसकिएको उनले बताए । ‘यतिका भिडमा घन्टाैंसम्म बस्नु जोखिम हो, तर डर मानेर के गर्नु सेवा पनि लिनुपर्‍यो,’ अन्य सेवाग्राहीसँगै लाइनमा भेटिएका रानाले भने, ‘दुई दिनसम्म काम भएन, अझै कति दिन पो लाग्ने हो ।’ भिडमा एकजना मात्रै संक्रमित भए पनि धेरैलाई सर्ने उनले बताए । 

यातायात व्यवस्था कार्यालय धनगढीमा पनि सेवाग्राहीको उस्तै भिड हुन्छ । कार्यालयका प्रमुख लक्ष्मण शाहले दैनिक आठ सयभन्दा बढी सेवाग्राही आउने गरेका जानकारी दिए । चालक अनुमतिपत्र, ब्लुबुक नवीकरण, नामसारीलगायतको सेवाका लागि कार्यालय खुल्नुअघि नै सेवाग्राही लाइनमा बसिसकेका हुन्छन् । अत्यधिक भिड हुने भएकाले भौतिक दूरी कायम गर्न सम्भव नभएको शाहको भनाइ छ ।

सेवाग्राहीको अत्यधिक चापले संक्रमणको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई फरकफरक दिन सेवा दिने व्यवस्था गरेको छ, तर बार छुट्याएर सेवा दिन थालेपछि सेवाग्राहीको भिड घटेको छैन ।

‘स्थानीय तह र वडासमेत तोकेर पालैपालो सेवा दिन थालेका छौँ, तर पनि भिड उस्तै छ,’ प्रशासनका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले भने, ‘सेवाग्राहीको चाप यति छ कि व्यवस्थापन गर्न सम्भवै छैन ।’ 

लाइनका लागि डोरी लगाउने, भौतिक दूरी कायम गर्न आग्रह गर्नेलगायतका कार्य गरिए पनि सेवाग्राहीबीच भौतिक दूरी कायम गर्न नसकिएको उनले बताए । सेवाग्राही सचेत नहुँदा पनि समस्या भएको जोशीको भनाइ छ । धनगढीमा बैंक तथा वित्तीय संस्थाहरूमा पनि सेवाग्राहीको भिड लाग्ने गरेको छ ।

स्वास्थ्य सावधानी नपनाइँदा हुने भिडले सेवाग्राहीबीच मात्र होइन, सेवाग्राहीबाट कर्मचारी र कर्मचारीबाट सेवाग्राहीमा पनि संक्रमण सर्न थालेको छ । सेवाग्राहीको अत्यधिक चाप हुने कतिपय कार्यालयका कर्मचारीमा पनि संक्रमण देखिएको छ । जिल्ला प्रशासन, मालपोत तथा केही स्थानीय तहमा कार्यरत कर्मचारीमा संक्रमण देखिसकेको छ । 

तीनजना कर्मचारीमा संक्रमण देखिएपछि गत महिना मालपोत कार्यालय धनगढीमा एक सातासम्म बन्द गरिएको थियो । प्रशासनमा कार्यरत दुईजना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको थियो ।

कर्मचारीमा संक्रमण देखिएपछि अहिले भजनी नगरपालिकाले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । गोदावरी, गौरीगंगा, टीकापुर नगरपालिकालगायत तहमा कार्यरत केही कर्मचारीमा संक्रमण देखिएको छ । 

सेवाग्राहीको भिडले सेवाग्राहीसँगै कर्मचारी पनि जोखिममा रहेका मालपोत कार्यालयका मालपोत अधिकृत उद्धवसिंह कार्कीले बताए । सेवाग्राही र उनीहरूसँगै आउने गरी मालपोतमा दैनिक एक हजारजति आउने गरेका उनले बताए ।

‘दैनिक एक हजार सेवाग्राही जम्मा हुने मालपोतमा तीमध्ये दुई–चारजना मात्र पनि संक्रमण भए धेरैलाई सर्ने सम्भावना हुन्छ,’ त्यहाँ कार्यरत एक कर्मचारीले भने, ‘न कार्यालयले स्वास्थ्य सावधानी अपनाएको छ न सेवाग्राहीले नै ।’

पछिल्लो समय कैलालीमा कोरोना संक्रमण तीव्र बन्दै गएको छ । यहाँ हालसम्म चार हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने कोरोना संक्रमित १३ जनाको मृत्यु भएको छ ।