मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
पश्चिमी सीमानाका गड्डाचौकीमा तालिमप्राप्त कुकुर परिचालन गरेर सुरक्षा जाँच गरिँदै
मोहन विष्ट कञ्चनपुर
२०७७ कार्तिक २३ आइतबार १०:२९:००
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

तिहारमा विशेष सुरक्षा : पश्चिमी नाकामा कुकुरसहित सुरक्षाकर्मी परिचालन

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ कार्तिक २३ आइतबार १०:२९:००

तिहारको समयमा आपराधिक क्रियाकलाप रोक्न प्रहरीले सीमा क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाएको छ । पश्चिमी सीमानाकामा आपराधिक क्रियाकलाप रोक्न तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । 

भारतसँग जोडिएको कञ्चनपुरको पश्चिम सीमानाका गड्डाचौकी र डोकेबजार सीमा क्षेत्रमा तालिम प्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कञ्चनपुर प्रहरीका अनुसार दुवै सीमानाकामा कुकुर प्रयोग गरी सुरक्षा जाँच गर्न थालिएको हो । तिहारका वेला बिस्फोटक पदार्थ तथा लागुऔषध भित्रिन नदिनका लागि विशेष सुरक्षा योजनासहित सतर्कता अपनाइएको हो ।

तिहार र छठलाई मध्यनजर गर्दै भित्रिने सक्ने बिस्फोटक पदार्थ, पटका र लागुऔषध नियन्त्रणका लागि विशेष तालिमप्राप्त कुकुरसहित सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले बताए । ‘भारतबाट अवैध सामान भित्रिन नदिन विशेष सुरक्षा जाँच गर्न सुरु गरेका छौँ,’ थापाले भने । 

नेपाल प्रहरी कुकुर परिचालन शाखा, धनगढीबाट तालिमप्राप्त कुकुर झिकिएको हो । कुकरमार्फत नेपाल भित्रिने यात्रुको झोला र सामान जाँच गर्न थालिएको प्रहरीले जनाएको छ । ‘सबैको झोला खोलेर सामान जाँच गर्नुपर्ने बाध्यता हटेको छ । यसले यात्रुलाई पनि सहज भएको छ,’ थापाले भने, ‘कुकुरले सुँघेरै लागुऔषध र बिस्फोटक पदार्थ पत्ता लगाउँछ ।’

कुकुर परिचालन गर्न दुईजना प्रहरी खटिएका छन् । उनीहरूसँगै नियमित ड्युटीमा रहने प्रहरी त यथावत् नै छन् । तालिमप्राप्त कुकुरलाई सीमा क्षेत्रका साथै भिडभाड हुने बसपार्क, बजारक्षेत्रमा पनि परिचालन गर्ने प्रहरीको तयारी छ ।