१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
ब्रेन्डन ओ’बोयल
२o८१ बैशाख २२ शनिबार o७:o४:oo
Read Time : > 3 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

बोलिभियाली मतपरिणामको पाठ

Read Time : > 3 मिनेट
ब्रेन्डन ओ’बोयल
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:o४:oo

अक्टोबर १८ मा सम्पन्न बोलिभियाली राष्ट्रपतीय निर्वाचनमा लुइस आर्सेले भारी मतले जिते । उनी पूर्वराष्ट्रपति इभो मोरालेसको मुभमेन्ट टुवार्ड सोसियालिजम पार्टीका राष्ट्रपतीय उम्मेदवार थिए । आर्सेलाई मोरालेस आफैँले उत्तराधिकारीका रूपमा चयन गरेका हुन् । केहीले यस जितलाई मोरालेसको सरकारको पुनःफिर्तीको रूपमा हेरेका छन् । तर, खासमा अहिलेको विशाल मतपरिणामले वर्तमान अशान्त विश्वलाई एउटा उदाहरण पेस गरेको छ । विगतका एउटा नेताको बोझले थिचिएका यस्तै आन्दोलनलाई समयसान्दर्भिक बनाउने पाठ पनि दिएको छ । 

चुनावी प्रचारका क्रममा आर्सेले आफू मोरालेसभन्दा फरक ढंगले अघि बढ्न तयार रहेको संकेत गरेका थिए । साथै, उनले मोरालेसको शासनकालमा जस्तो स्थिरता तथा समावेशिता फर्काउने वाचा गरेका थिए । यस चुनावमा उनको पार्टीले अघिल्लो वर्षको चुनावमा भन्दा आठ प्रतिशत बढी मत पाएको छ । ‘मुभमेन्ट टुवार्ड सोसियालिजमले मोरालेसको कारणले जितेको होइन, उनको अलोकप्रियताका बाबजुद जितेको हो,’ एक ट्विट गर्दै मोरालेसको पालामा संयुक्त राष्ट्रसंघमा राजदूत रहेका पाब्लो सोलोनले भने । 

२००० को दशकमा ल्याटिन अमेरिकामा आएको वामपन्थी लहरमा कैयौँ नेता सत्तामा आए । मोरालेस तिनैमध्ये एक थिए । ती नेता सत्तामा आउँदा तिनका देशको अर्थतन्त्र उच्च उपभोग्य सामग्रीको मूल्यबाट उचालिएको थियो । मोरालेसले यसलाई गरिबी घटाउन र मध्यमवर्ग विस्तार गर्न प्रयोग गरे । तर, बोलिभियादेखि इक्वेडरसम्म, अर्जेन्टिनादेखि ब्राजिलसम्म वामपन्थी नेताहरू पछि भ्रष्टाचार काण्डमा फसे ।

प्रेसमाथिको आक्रमण बढ्यो, शक्ति हत्याउने काम र ऋणका कारण मन्दी देखिए । यसले गर्दा देशका वामपन्थी पराजित हुँदै गए र सत्तामा दक्षिणपन्थको पकड बढ्यो । तर, सत्ताबाहिरबाट पनि पुराना नेताले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने काम जारी राखे । तिनै नेता पछि फेरि सत्तामा फर्किने प्रयास गर्दा कुनै समय तिनैले सुरु गराएको आन्दोलनलाई नराम्ररी असर गर्न थाल्यो । ‘पूर्वराष्ट्रपतिहरू नै देश अघि बढाउने मार्गमा अवरोध भइरहेका छन्,’ एम्हस्र्ट कलेजमा राजनीतिशास्त्र पढाउने ह्याभियर कोरालेस भन्छन् । 

आर्सेको जितले वामपन्थीहरूको पुनरागमन सम्भव भएको संकेत गरेको छ । आर्सेले आफूलाई मोरालेसबाट टाढै राख्ने प्रयास गरेका छन् । उनले आफ्नो सरकारमा मोरालेसको कुनै भूमिका नहुने वाचा गरेका छन् । बोलिभियाका पत्रकार पाब्लो स्टेफानोनीको तर्कमा मोरालेसको अनुपस्थितिले ‘मुभमेन्ट टुवार्ड सोसियालिजम’ कमजोर भएन, थप ऊर्जावान् बन्यो ।

विवादित नेतालाई छाडेर अघि बढ्न सके मात्र आन्दोलन र आन्दोलनका मूल्यमान्यता सशक्त हुन्छन्

मोरालेसको बहिर्गमनपछि नयाँ छिमलका नेतृत्वको उदय भयो । विगतमा तिनकोे उदयलाई मोरालेसको सरकारले अवरोध गरिरहेको थियो । सत्ताको स्वाद चाखेका लोकप्रिय नेतालाई बहिर्गमनका लागि मनाउन सजिलो हुँदैन । सत्तामा रहँदाका विभिन्न कानुनी समस्याबाट उम्कन ती पटक–पटक सत्तामा फर्किन चाहन्छन् । विभिन्न भ्रष्टाचार मुद्दामा घेरिएकी अर्जेन्टिनाकी क्रिस्टिना फर्नान्डेज डे किर्चनरले सन् २०१९ मा तेस्रो कार्यकाल उठ्ने प्रयास गरेकी थिइन् । तर, चुनाव हार्ने पक्का देखिएपछि अन्तिम समयमा उनी पछि हटिन् । उनले कानुनका प्राध्यापक तथा पूर्व चिफ अफ स्टाफ अलबर्टो फर्नान्डेजलाई उम्मेदवार बनाइन् र आफू उपराष्ट्रपतिमा उठिन् । अलबर्टोले ठूलो मतान्तरसहित जित हासिल गरे । 

तर, अन्य नेता भने आफू मात्र विपक्षीलाई हराउन सक्ने विश्वासमा छन् । ब्राजिलमा पूर्वराष्ट्रपति लुइज इनासियो ‘लुला’ दा सिल्भा सन् २०२२ मा पुनः राष्ट्रपतिमा उठ्ने चर्चा छ । ब्राजिली राजनीतिमा उनी ‘लार्जर देन लाइफ’ व्यक्तित्व भएका राजनीतिज्ञ हुन् । तर, चुनावको समयमा उनी ७६ वर्ष हुनेछन् । साथै, उनले पहिलो चरणको निर्वाचन जित्ने सर्वेक्षणले देखाएको भए पनि दोस्रो चरणमा जेयर बोल्सोनारोसँग हार्ने देखिएको छ । त्यसैले लुलाले आगामी निर्वाचनमा वर्कर्स पार्टीभित्र उदाइरहेका नयाँ नेतृत्वलाई उठाउनु सबैभन्दा उत्तम हुनेछ । 

बोलिभियाको पाठ वामपन्थी पार्टीमा मात्र लागू हुने होइन । अर्जेन्टिनामा पूर्वराष्ट्रपति मौरिसियो म्याक्रीको मध्य–दक्षिणपन्थी गठबन्धनले सन् २०२३ को राष्ट्रपतीय चुनावमा पुनरागमनको प्रयास गर्नेछ । तर, मतदातामा उनी अलोकप्रिय रहेकाले उनले पार्टीका अन्य नेतालाई उठाउनु उपयुक्त हुन्छ । बोलिभियामा आर्सेको विजयले आशा सिर्जना गरेको छ । तर, लोकप्रिय नेताका उत्तराधिकारीका रूपमा उदाएका नेताले केही समस्या सामना गर्नुपर्ने हुन्छ ।

यस विषयमा प्राध्यापक कोरालेसले लेखेका छन्, ‘बाहिरिएका नेताको स्थानमा आउने नेताले कठिन परीक्षा दिनुपर्ने हुन्छ । जब राष्ट्रपतिले चुनावी वाचालाई धोका दिन्छन्, तब दुई समूह असन्तुष्ट हुन्छन् । एउटा यथास्थितिको निरन्तर चाहने समूह र अर्को वास्तविक परिवर्तन चाहने समूह । पछिल्लो समूहको विश्वास उठेमा फर्काउन गाह्रो हुनेछ ।’

मोरालेसको चौध वर्षे शासनको सबैभन्दा खराब पाटोमा सुधार गर्ने हो भने आर्सेले पूर्वराष्ट्रपतिले आफ्नो फाइदाका लागि वर्षौंदेखि दुरुपयोग गर्ने गरेको संस्थानहरूलाई सबल बनाउनुपर्छ । लोकप्रिय तथा धु्रवीकृत नेताका उत्तराधिकारका रूपमा उदाएका आर्सेजस्तै इक्वेडरका लेनिन मोरेनो तथा कोलम्बियाका हुवाँ म्यानुयल सान्तोषले पुनःनिर्वाचित हुन नपाउने चुनावी सीमालाई स्विकारे ।

बोलिभियाको जटिल राजनीति तथा संकटग्रस्त आर्थिक परिदृश्यमा आर्सेले संस्थानहरूमा सकारात्मक परिवर्तन गर्न सके भने उनी मुभमेन्ट टु सोसियालिजमको मूल्यहरूका साथ शासन गर्न सक्छन् । त्यसबाट देशको गरिबी समाधान हुनेछ भने बोलिभियाको समृद्ध जातीय तथा सांस्कृतिक विविधतामा खुसी छाउनेछ । मोरालेसको अनुपस्थितिमा देशले उनको शासन अवधिको ध्रुवीकरण तथा चर्का कुरा सामना गर्नुपर्ने छैन । यसमा सफल भए भने आर्सेले आफ्नै विरासत निर्माण गर्न सक्नेछन् । साथमा उनले समग्र ल्याटिन अमेरिकामा राजनीतिक आन्दोलनका लागि उदाहरण पेस गर्न सक्छन् । 
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य

ब्रेन्डन ओ’बोयल ल्याटिन अमेरिकाबाट प्रकाशित हुने अमेरिकाज क्वाटर्लीका वरिष्ठ सम्पादक हुन् । 

ad
ad