१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १८:२६:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

बिपी प्रतिष्ठान कोेभिड अस्पतालको बेथिति सुधारका लागि दबाब समूह गठन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:२६:oo

बिपी प्रतिष्ठान धरानमा कोरोना उपचारमा देखिएको बेथिति सुधारका लागि  दबाब समूह गठन गरिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सञ्चालन गरेको  कोभिड- १९ अस्पतालमा चरम लापरबाही भएर बिरामीको मृत्यु हुने गरेको आलोचना बढेपछि नागरिक दबाब समूह गठन भएको हो । 

आज बिहीबार सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरिधारी सापकोटाको अध्यक्षतामा एक सय एक सदस्यीय बिपी प्रतिष्ठान सुधार दबाब समूह गठन गरेको हो । 

कोरोना महामारी चुलिएसँगै अस्पतालको व्यवस्थापन तथा सञ्चालन अस्तव्यस्त भएका कारण बिरामी समस्यामा परेको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । केही कोरोना संक्रमितहरूले भेन्टिलेटर तथा अक्सिजन नपाएर अकालमा ज्यान गुमाएका थिए । 

उचित व्यवस्थापनको अभावमा नागरिकको अकालमा ज्यान जान थालेपछि राजनीतिज्ञ तथा नागरिक समाजको एक भेलाले दबाब समूह गठन गरेको नेकपा धरान नगर इन्चार्ज फोक्साहाङ लिम्बू (चोत्लुङ)ले जानकारी दिए ।

समूहमा धरानमा रहेका सामाजिक संघसंस्था, नागरिक समाज, हरेक वडाका अध्यक्षहरू, स्थानीय बुद्धिजीवी, राजनीतिक दल, पत्रकारहरू सहभागी छन् ।  प्रतिष्ठान सुधारका लागि समूहले दबाब सिर्जना गर्ने र त्यसको लागि भद्र अवज्ञालगायतका विभिन्न गतिविधिहरू गर्ने बताइएको छ 

सेवा प्रवाहबारे आलोचना बढेपछि प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले समेत आज अस्पतालको आकस्मिक अनुगमनको निर्देशन दिएका थिए ।

त्यसपछि अस्पतालका निर्देशक प्रा.डा. गौरीशंकर साहको नेतृत्वको टोलीले बिहीबार नै कोभिड अस्पतालको आकस्मिक अनुगमन गरेको थियो । निरीक्षणको क्रममा प्रतिष्ठानका आठवटा भेन्टिलेटरले काम गरिरहेको भेटिएको निर्देशक साहले बताए । 

प्रतिष्ठानले भने १० थान भेन्टिलेटर जडान गरेको थियो । यीमध्ये ६ वटा बिग्रिएको कारण बिरामी अन्यत्र रेफर गरिँदा कतिपयका ज्यान गएको आरोप लागेको थियो ।

प्रतिष्ठानमा आएका कोरोना सङ्क्रमितहरूको उचित हेरचाह, आवश्यक अक्सिजन, भेन्टिलेटर तथा अन्य उपचारको अभावमा ज्यान जाने गरेको जनगुनासो बढेको छ । 

यसअघि यही कात्तिक ९ मा सुनसरी क्षेत्र नं. १ का सांसदहरूले समेत अस्पतालका पदाधिकारीहरूलाई भेटेर प्रतिष्ठानको कोभिड अस्पताल सुधार गर्न माग गरेका थिए ।

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, प्रतिनिधिसभा सदस्य जयकुमार राई नेकपा सत्तारुढ दलका स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेश सांसद भीम आचार्या, उमित बराइली, सावित्री श्रेष्ठलगायतको टोलीले १५ दिनभित्र सुधार गर्न निर्देशन दिएको थियो । 

यता सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि  पोखरेलले पनि जिल्ला प्रमुखको हैसियतमा लिखित रूपमा जनताको गुनासोको सुनुवाइ गर्न अनुरोध गरेका थिए । 
 

ad
ad