
अधिकांश बलिउडकर्मी कलाकारिताबाहेक खेलमा पनि उत्तिकै रुचि राख्छन् । च्यारिटी सो वा मैत्रीपूर्ण खेल होस्, बलिउडकर्मीको सहभागिता उत्तिकै हुने गर्छ ।
रुचि मात्र होइन, राम्रो आम्दानी भएका नायक वा नायिकाले विभिन्न फ्रेन्चाइजमा सहभागिता जनाउने गर्छन् र उनीहरूले टोलीको स्वामित्वसमेत ग्रहण गर्छन् । युएईमा चलिरहेको १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा साहरुख खानले कोलकाता नाइट राइडर्स तथा प्रिती जिन्टाले किंग्स ११ पन्जाबमा लगानी गरिरहेका छन् । यी दुवै टोली प्ले अफका लागि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।
समाचारअनुसार बलिउडका स्टार सलमान खानका भाइ सोहेल खानले श्रीलंकामा चल्ने लंका प्रिमियर लिगमा लगानी गरेका छन् । उनले क्यान्डी फ्रेन्चाइज टोली टस्कर्स किनेका छन् । सोहेलले आफ्नो टोली बलियो बनाउने क्रममा वेस्ट इन्डिजका बायाँहाते ब्याट्सम्यान तथा टी–२० खेलकै ‘द बोस’ नामले चिनिने क्रिस गेललाई समावेश गरेका छन् ।
सोहेलको टोलीमा श्रीलंकाली क्रिकेटर कुशल परेरा, कुशल मेन्डिस, नुवान प्रदीप तथा इंग्ल्यान्डका दायाँहाते फास्ट बलर लिआन प्लंकेट पनि भित्र्याएका छन् । सोहेल खानले क्यान्डी टस्कर्समा एकल लगानी भएको बताएका छन् । उनले यसमा परिवारका सदस्यहरूको साथ नभएको जनाएका छन् । ‘मेरो स्वामित्वमा रहेको क्यान्डी टस्कर्समा परिवारका सदस्यहरूको लगानी छैन, यसमा मेरो मात्र लगानी हो,’ ट्विटरमा पोस्ट गर्दै सोहेलले भने, ‘मलाई विश्वास छ, मेरो यो निर्णयमा परिवारको साथ रहनेछ ।’
यसैगरी सोहेलले आफ्नो टोलीले लंका प्रिमियर लिगको फाइनल खेलेको हेर्न चाहेको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘लंका प्रिमियर लिगमा पहिलो लक्ष्य फाइनल पुग्नु नै हो, त्यसपछि हामी उपाधिका लागि दाबेदारी दिन्छौँ ।’ श्रीलंकामा स्थानीय क्रिकेट समर्थक लंका प्रिमियर लिगमा उत्साहित रहेको उनको भनाइ छ । ‘श्रीलंकामा क्रिकेटको क्रेज छ, त्यहाँका समर्थक क्रिकेटलाई निकै मन पराउँछन्, विश्वास छ, उनीहरूले मेरो टोलीको समर्थन गर्नेछन्,’ सोहेलले भने, ‘अझ क्रिस गेल टी–२० कै सर्वश्रेष्ठ खेलाडी हुन्, उनीजस्तो खेलाडी टोलीमा रहँदा टस्कर्समा सबै रोमाञ्चित भएका छन् ।’
आफ्नो टोलीमा गेल मात्र स्टार खेलाडी नभएर अन्य थुपैै रहेको दाबी उनले गरेका छन् । ‘हामीसँग गेल मात्र नभएर विश्वकै चर्चित खेलाडीहरू छन्,’ उनी भन्छन्, ‘अनुभवी खेलाडी हुनुका साथै म्याच जिताउन सक्नेसम्म छन् ।’ लंका प्रिमियर लिगमा दुई भारतीय खेलाडीले सहभागिता जनाउनेछन् । यसैबीच टस्कर्सलाई श्रीलंकाली पूर्वकप्तान हसन तिलकरत्नेले प्रशिक्षण गर्नेछन् । टोलीको डाइरेक्टरको जिम्मेवारी रविन विक्रमरत्नेले पाएका छन् ।
प्रतियोगिता १५ दिनसम्म चल्दा २३ खेल हुनेछन् । यसैगरी लंका प्रिमियर लिगका सिइओ अनिल मोहनले प्रतियोगिता वल्र्ड क्लास हुने जनाए । प्रतियोगिताका लागि आफूहरूले राम्रो लगानीकर्ताको आगमन भएको उनको भनाइ छ । २१ नोभेम्बर देखि १३ डिसेम्बरसम्म चल्ने प्रतियोगिता दुई सहरमा हुनेछन् ।