१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
उपचार गरेर फर्केपछि घरमै टोलाइरहेकी मूर्तिदेवी यादव ।
२०७७ असोज २१ बुधबार ०१:२१:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बोक्सीको आरोपमा यातनापछि मूर्तिजस्तै भइन् मूर्तिदेवी

टोलाएर हेर्छिन्, केही बोल्दिनन्, आँसु मात्रै झार्छिन्

Read Time : > 2 मिनेट
२०७७ असोज २१ बुधबार ०१:२१:००

बोक्सीको आरोपमा दिसा खुवाएर निर्घात कुटपिट गरिएकी मूर्तिदेवी यादव उपचारपछि तंग्रिएलिन् भन्ने आस गरेका थिए, परिवारजनले । तर, उनी भने अस्पतालबाट फर्केको एक साता बितिसक्दा पनि सामान्य दैनिकीमा फर्किन सकेकी छैनन् । घरमा भेट्न आउने आफन्तजनलाई टोलाएर हेर्छिन्, केही बोल्दिनन्, बरर आँसु मात्रै झार्छिन् । 

मंगलबार मध्याह्न नयाँ पत्रिकाकर्मी सिराहाको नवराजपुर गाउँपालिका– ५ कुर्सन्डी गाउँस्थित उनको घरमा पुग्दा उनी मूर्तिजस्तै बसिरहेकी थिइन् । उनलाई भेट्न आफन्तजन आइरहेका थिए । उनी सबैका कुरा एकनासले सुनिरहेकी थिइन् । आफन्तले ढाडस दिइरहेका थिए । तर, उनी भने कसैसँग पनि एक शब्दसमेत बोलिनन् । आफन्तजनले बोलेको सुनिरहिन् । उनीहरूलाई टोलाएर हेरिरहेकी उनले बीचबीचमा बरर आँसु मात्रै झारिन् । 

उनलाई भेट्न आएका आफन्तजन पनि निन्याउरो मुहार लगाएर फर्किन्छन् । उनी नबोलेपछि उनकी छोरी संगीतासँग कुराकानी गर्छन् । ‘विक्षिप्त हुनुहुन्छ । केही बोल्नुहुन्न, अरूले सम्झाउँदा रुनु मात्रै हुन्छ,’ छोरी संगीताले भनिन् । आफूहरूसँग पनि नबोल्ने गरेको संगीनाले सुनाइन् । 

संगीता आमाको हेरचारका लागि नै माइतीघर आएकी छिन् । जति गर्दा पनि नबोल्ने गरेकाले अप्ठ्यारो भएको उनले बताइन् । ‘बोक्सी भनेर कुटपिट गरेको पीडाले होला केही बोल्नुहुन्न । अर्को अनुहारमा पनि चोट लागेकाले बोल्न असजिलो हुन्छ होला,’ संगीताले अनुमान लगाइन् । 

कुटपिटबाट मूर्तिदेवीको अनुहारको बायाँपट्टिको चारवटा दाँतले ठाउँ छोडेको छ भने चिउँडोको हड्डी भाँचिएर स्टिल हालिएको छ । उनले २४ दिनदेखि ठोस खानेकुरा खान पाएकी छैनन् । त्यसैले होला उनको शरीर पनि गलेको छ । ‘मुख नै चलाउन नमिल्ने भएकाले जुस, दालको झोल, दूध मात्रै खुवाइरहेका छौँ । अन्य खानेकुरा खुवाउन सकिएको छैन,’ संगीताले भनिन् । 

बोक्सीको आरोपमा स्थानीयले २७ भदौको मध्यराति मन्दिरमा लगेर निर्घात कुटपिट गरेका थिए । सख्त घाइते भएकी उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको थियो । १३ दिन अस्पताल बसाइपछि उनी ११ असोजमा गाउँ फर्किएकी थिइन् । 

फेरि पनि उनको परिवारलाई पीडकहरूले धम्क्याउन छाडेका छैनन् । अप्रत्यक्ष रूपमा कुटपिट गर्नेका आफन्तले घटना सार्वजनिक गरी गाउँको बदनाम गराएको भन्दै धम्की दिइरहेको मूर्तिदेवीका पति रामनारायणले बताए । ‘गाउँको घटना मिडियामा दिएको र त्यही कारण मुद्दा दर्ता भएको छ भनेर धम्की दिइरहेका छन्,’ रामनारायणले भने, ‘राम्रो हुँदैन भन्दै अप्रत्यक्ष रूपमा धम्क्याउन थालेका छन् ।’ 

उपचारले बोकायो ऋणको भारी

एकातिर मूर्तिदेवी बोलचाल गरिरहेकी छैनन्, अर्कातिर कुटपिट गर्नेका आफन्तजनले धम्क्याइरहेका छन् । झन् त्यसमाथि उपचारमा लागेको ऋणले मूर्तिदेवीको परिवार सकसमा परेको छ । उनको उपचारमा डेढ लाख ऋण लागेको रामनारायणले बताए । ‘धरानमा उपचार गराउँदा डेढ लाख खर्च भयो । त्यो सबै सयकडा तीन रुपैयाँका दरले ऋण निकालेर लगेको हुँ,’ उनले भने । 

आर्थिक रूपमा कमजोर रहेको उनको परिवार खेतीपातीमै निर्भर छ । मिल चलाएर परिवार पाल्दै आएका रामनारायण उपचारमा समस्या भएको बताउँछन् । उपचार गरेर फर्केपछि पनि १८ असोजमा फलोअपका लागि गएका थिए । त्यसमा पनि १० हजार खर्च भएको उनले बताए । ‘फलोअपमा जाँदा पनि ऋण निकालेरै लगेको हुँ । फेरि एक महिनापछि आउनू भनेका छन्, अब कहाँबाट पैसा जुटाउने भन्ने चिन्ता लागेको छ,’ रामनारायणले भने । 

अझै पक्राउ परेनन् आरोपी

बोक्सीको आरोप लगाएर मूर्तिदवीलाई कुटपिट गर्ने आठजना अझै पनि पक्राउ परेका छैनन् । आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी शालिग्राम शर्मा पौडेलले बताए । ‘घटनामा संलग्नको नेपालकै सम्भावित ठाउँमा खोजी गरिरहेका छौँ । भारतीय समकक्षीसँग पनि समन्वय गरी खोजी गर्दै छौँ, ढिलोचाँडो पक्राउ पर्छन्,’ डिएसपी पौडेलले भने । 

मूर्तिदेवीका पति रामनारायणले ४ असोजमै जिल्ला प्रहरी कार्यालय सिराहामा किटानी जाहेरी दिएका थिए । उनको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ ।