१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १८:oo:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

ज्येष्ठ नागरिक र दीर्घरोगी मात्र होइन, कोरोनाबाट मृत्यु हुने सक्रिय उमेर समूहका मानिस पनि कम छैनन्

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:oo:oo

कोरोना भाइरस संक्रमणका कारण १९ असोजसम्ममा देशभर पाँच सय ५४ जनाको मृत्यु भएको छ । यस सूचीमा जन्मेको पाँच दिनदेखि एक सय आठ वर्षसम्मका व्यक्ति छन् । कोरोनाको सर्वाधिक जोखिममा मानिएका ज्येष्ठ नागरिक मात्र होइन, तन्दुरुस्त उमेर समूहका व्यक्ति पनि कोभिड–१९ को सिकार बनेका छन् ।

१८ असोजसम्ममा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा ६० वर्षका सबैभन्दा बढी २६ जना छन् । यस्तै, ७० वर्षका २४, ६५ का २२, ५५ र ४५ वर्षका २०-२०, ५० वर्षका १८, ६८ वर्षका १५, ६२ का १४, ४० र ५८ का १२-१२ जनाले ज्यान गुमाएका छन् । यसैगरी, ७५ र ७६ वर्षका ११-११ जनाको मृत्यु भएको छ । ३५, ५९, ६१, ६४, ७४ र ७७ वर्षका १०-१० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

कोरानाका कारण २२ देखि ५० वर्षसम्मका एक सय ५४ जनाको मृत्यु भएको छ, जुन सर्वाधिक सक्रिय उमेर समूह मानिन्छ । यस्तै, कोरानाकै कारण ५१ देखि ६० वर्षका एक सय पाँचजनाको ज्यान गएको छ । ५० वर्षभन्दा कम उमेर समूहका एक सय ५३ जनाको मृत्यु भएको यस आँकडाबाट देखिन्छ । मृतकको सर्वाधिक संख्या भने ६० देखि ८० वर्षको उमेर समूहमा देखिन्छ । उक्त उमेर समूहका दुई सय ३४ जनाले कोभिड–१९ का कारण ज्यान गुमाएका छन् ।

उमेर समूहमा संक्रमितको मृत्यु
जन्मेको पाँच दिनदेखि ६ वर्षमा सात जना र ९२ देखि एक सय आठ वर्षका पाँचजनाको मृत्यु भएको छ । यी दुवै नेपालमा कोरोनाका कारण कम मृत्यु भएका उमेर समूह हुन् ।

१६ देखि २० वर्षका ११, २२ देखि ३० वर्षका २३, ३१ देखि ३५ का २४, ३६ देखि ४० का ३६ र ४१ देखि ४५ वर्षका ३६ जनाको मृत्यु भएको छ । यस्तै, ४६ देखि ५० का ३७, ५१ देखि ५५ का ४६, ५६ देखि ६० का ६२ र ६१ देखि ७० वर्षका एक सय २५ जनाको मृत्यु भएको छ । ७१ देखि ८० वर्षका ८४ र ८१ देखि ९० वर्षका ३९ जनाको ज्यान गएको छ ।

कोरोना संक्रमणबाट विगत २४ घन्टामा थप १९ जनाको मृत्यु भएको छ । कोरोनाबाट एकैदिन मृत्यु भएको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । योसमेत देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१५ जेठयता दैनिक मृत्यु
नेपालमा कोरोनाका कारण ४ जेठमा पहिलोपटक एक सुत्केरीको मृत्यु भएको थियो । त्यसपछि ८ जेठ, १० जेठ, १२ जेठ र १५ जेठमा गरी पाँचजनाको मृत्यु भयो । १५ जेठयता कोभिड–१९ का बिरामीको दैनिक मृत्यु भइरहेको छ । एकैदिन २५ जेठमा दुई, ९ साउनमा तीन, २१ साउनमा पाँच र २८ साउनमा ६ जनाको मृत्यु भएको थियो । ५ भदौयता भने दैनिक औसत ११ जनाको मृत्यु भइरहेको छ ।

ज्येष्ठ नागरिक र दीर्घरोगी बढी जोखिममा
ज्येष्ठ नागरिक र दीर्घरोगी व्यक्ति कोरोना संक्रमणको बढी जोखिममा रहेको चिकित्सकहरू बताउँछन् । ‘ज्येष्ठ नागरिकलाई कोरोना लाग्नबाटै जोगाउन आवश्यक छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भन्छन्, ‘ज्येष्ठ नागरिकबाट दुई मिटर टाढा बस्न र नजिक जानुपर्दा मास्क अनिवार्य लगाउन आवश्यक छ ।’ टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला पनि ज्येष्ठ नागरिकको अघिल्तिर खोक्दा वा हाछ्युँ गर्दा मुख छोप्ने आदत बसाउन सल्लाह दिन्छन् ।

सरकारको तथ्यांकअनुसार हाल मृत्यु भएकामध्ये आधिकांश ज्येष्ठ नागरिक र त्यसमा पनि दीर्घरोगको समस्या भएकाहरू बढी छन् । डा. बाँस्तोलाका अनुसार मुटु, फोक्सो, मधुमेह, क्यान्सर, उच्च रक्तचापको समस्या भएका व्यक्तिमा छिटो संक्रमण हुने गरेको पाइएको छ । मधुमेह, उच्च रक्तचाप, दम र मोटोपन भएकाहरूमा कोरोना संक्रमणको समस्या बढी पाइएको उनी बताउँछन् । तथ्यांकअनुसार यस्तै समस्या भएका व्यक्तिको मृत्यु पनि बढी पाइएको छ ।

‘कोरोनाको उच्च जोखिममा २४ वर्षका व्यक्ति पनि देखिएका छन्,’ डा. बाँस्तोला भन्छन्, ‘अंकका आधारमा हेर्ने हो भने ४० वर्षदेखि बढ्दै गएर ६० वर्षभन्दा माथि पिक लिएको देखिन्छ ।’ उमेर ढल्किँदै जाँदा रोगप्रतिरोधी क्षमता घट्ने र भाइरसले शरीरमा बढी क्षति पु¥याउने चिकित्सकहरू बताउँछन् । यस्तै, दीर्घरोगको समस्या भएका व्यक्तिमा पनि रोगप्रतिरोधी क्षमता कम हुनाले शरीरमा संक्रमण छिटो फैलिने उनीहरूको भनाइ छ ।

एकैदिन २७ सय २२ मा संक्रमण
१६ असोजमा हालसम्मकै सर्वाधिक दुई हजार सात सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २ भदौमा पहिलोपटक एकैदिन एक हजारभन्दा बढीमा संक्रमण पाइएको थियो ।

पछिल्लो २४ घन्टामा देशभर २४ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । यो अवधिमा १३ हजार सात सय ८१ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  देशभर हालसम्म संक्रमित हुनेको संख्या ८९ हजार दुई सय ६३ पुगेको छ ।

पछिल्लो २४ घन्टामा १९ जनाको मृत्यु
कोरोना संक्रमणबाट विगत २४ घन्टामा थप १९ जनाको मृत्यु भएको छ । संक्रमणबाट १४ पुरुष र पाँचजना महिलाको मृत्यु भएको हो । कोरोनाबाट एकैदिन मृत्यु भएको यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । योसमेत देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय ५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा काठमाडौंका तीन महिला र ६ जना पुरुष गरी नौजना रहेका छन् । ललितपुरमा तीन वर्षीय बालकसहित तीनजना पुरुषको संक्रमणबाट मृत्यु भएको छ । त्यसैगरी सर्लाहीका दुई पुरुष, सुनसरी, चितवन र नवलपरासीपूर्वका एक–एक पुरुषको मृत्यु भएको छ । पर्सा र गोरखाका एक–एक महिलाको मृत्यु भएको छ ।

ad
ad