१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज १९ सोमबार ०४:४०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बुटवलमा मुख्यमन्त्री पोखरेलको गाडीमा ढुंगा प्रहार

निषेधाज्ञाबीच प्रदर्शन, दुईवटा गाडीमा क्षति, कांग्रेसका ६ जना नेता–कार्यकर्ता पक्राउ

Read Time : > 1 मिनेट
२०७७ असोज १९ सोमबार ०४:४०:००

राजधानीको विषयलाई लिएर आन्दोलन चर्किरहेका वेला आइतबार काठमाडौंबाट बुटवल पुगेका प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडीमा ढुंगामुढा भएको छ ।
प्रदेश ५ सरकारले दाङमा प्रदेश राजधानी बनाउने प्रस्ताव गरेपछि बुटवलमा आन्दोलन भइरहेको छ ।

काठमाडौंबाट भैरहवा विमानस्थल हुँदै फर्कने क्रममा बुटवलको चौराहानजिक मुख्यमन्त्री पोखरेलको गाडीमा ढुंगा प्रहार गरिएको प्रहरीले जनाएको छ । निषेधाज्ञा तोड्दै प्रदर्शन गरिरहेका आन्दोलनकारीले उनको गाडीमा आक्रमण गरेका हुन् ।

आक्रमणबाट मुख्यमन्त्री पोखरेलको गाडीमा क्षति पुगेको र उनलाई पनि सामान्य चोट लागेको प्रदेश सभामा नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । उनको स्कर्टिङ गरिरहेको सुरक्षाकर्मीको गाडीमा पनि क्षति पुगेको  छ ।

प्रहरीले आन्दोलनमा उत्रिएका कांग्रेसका ६ जना नेता–कार्यकर्तालाई पक्राउ गरेको छ । कांग्रेस रूपन्देहीका सचिव रामकृष्ण खाणका अनुसार रूपन्देहीका नेता विष्णु पोखरेल, नेविसंघका केन्द्रीय उपसभापति मुक्ति पौडेलसहितका नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदेश सरकारको प्रस्तावविरुद्ध कांग्रेसले बन्दसहितका कार्यक्रम गरिरहेको छ । कांग्रेसले बन्ददेखि प्रदेश सभा घेराउसम्मका कार्यक्रम तय गरेको छ । ‘बुटवल जाऔँ राजधानी जोगाऔँ’ नाराका साथ सोमबार प्रदेश सभा घेराउ गर्ने तय भएको कांग्रेस रूपन्देहीका सचिव खाणले बताए । प्रदेशको नाम र राजधानी तय गर्न १९ असोजमा प्रदेश सभा बैठक बस्ने कार्यसूची छ ।

प्रदेश सरकारको प्रस्तावबारे सहमति जुटाउन आइतबार भएको सर्वदलीय बैठक विनानिष्कर्ष टुंगिएको छ । सोमबार बिहान पुनः बैठक बस्दै छ । प्रमुख प्रतिपक्षी कांग्रेसले दलहरूबीच सहमति नभए प्रदेश सभा बैठक चल्न नदिने चेतावनी दिएको छ । उक्त प्रस्ताव होल्ड गर्न या फिर्ता लिन कांग्रेसले माग गरेको छ ।


यसैबीच, प्रदेश राजधानी दाङ तोक्ने प्रस्तावविरुद्ध बुटवलमा आइतबार स्थानीय व्यवसायी पनि आन्दोलनमा उत्रिएका छन् । व्यावसायिक संघसंस्थाले उक्त प्रस्ताव सच्याउन माग गरेका छन् । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग संघ, रूपन्देही व्यापार संघलगायत व्यावसायिक संघसंस्थाले सरकारको प्रस्तावविरुद्ध संघर्ष समिति गठन गरेका छन् ।