१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ असोज १२ सोमबार १७:३४:००
Read Time : > 2 मिनेट
फिचर

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि करछलीको आरोप, एक वर्षको आयकर ७५० डलर

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ असोज १२ सोमबार १७:३४:००

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आयकर नबुझाएको रिपोर्ट सार्वजनिक भएको छ । अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले प्रकाशित गरेको रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले आफू शक्तिमा आएपछि कर तिर्न छाडेको देखिएको छ ।

न्युयोर्क टाइम्सले ट्रम्प राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएको पहिलो वर्ष सन् २०१६ र निर्वाचित भएको पहिलो वर्षमा सात सय ५० अमेरिकी डलर कर तिरेको उल्लेख गरेको छ । पत्रिकाले राष्ट्रपति ट्रम्प र उनको कम्पनीको दुई दशकको कर ‘रेकर्ड’को अध्ययन गरेको जनाएको छ । पत्रिकाले आफूले प्राप्त गरेको प्रमाणअनुसार राष्ट्रपति ट्रम्पले पछिल्लो १५ वर्षमध्ये १० वर्षमा पटक्कै कर नतिरेको दाबी पनि गरेको छ ।

ट्रम्पले भने समाचार गलत (फेक न्युज) भएको दाबी गरेका छन् । ‘वास्तवमा म कर तिर्छु । जब मैले कर तिरेको कागज आइपुग्छ त्यसपछि तपाईंले मैले कर तिरेको थाहा पाउनुहुनेछ,’ ट्रम्पले भनेका छन्, ‘अहिले लेखापरीक्षण भइरहेको छ ।’

राष्ट्रपति ट्रम्पले आफूले कर तिरेको कागजपत्र सार्वजनिक गर्न मानिरहेका छैनन् । यद्यपि यसमा उनले कानुनी रूपमा चुनौतीको सामना गर्नुपर्नेछ । उनी आफूले कर तिरेको प्रमाण सार्वजनिक नगर्ने सन् १९७० पछिको पहिलो राष्ट्रपति बनेका छन् । 

अमेरिकामा कानुनले नै आफूले कर तिरेको प्रमाण सार्वजनिक गर्नु भनेको छ । अर्काे कार्यकालका लागि समेत राष्ट्रपतिको उम्मेदवार बनेका ट्रम्पको अभियानमा यो समाचारले ठूलो असर गर्न सक्छ । निर्वाचनअघि विपक्षी उम्मेदवार जोई बाइडेनसँगको पहिलो सार्वजनिक बहसको केही दिनअघि राष्ट्रपति ट्रम्पले कर छली गरेको समाचार सार्वजनिक भएको हो ।

महत्वपूर्ण दाबीहरू के छन् ?
न्युयोर्क टाइम्सले समाचार तयार पार्नुअघि सन् १९९० सम्मको ट्रम्प र ट्रम्प अर्गनाइजेसनको नेतृत्वमा रहेको कम्पनीहरूले कर तिरेको प्रमाण हेरेको दाबी गरेको छ । त्यसअनुसार राष्ट्रपति ट्रम्पले सन् २०१६ र २०१७ मा दुईपटक ७५० डलर आयकर तिरेको देखिएको जनाइएको छ । त्यसबाहेक पछिल्लो १५ मध्ये १० वर्षमा एक रुपैयाँ पनि आयकर नतिरेको पत्रिकाले दाबी गरेको छ । पत्रिकाले यो अवधिमा राष्ट्रपति ट्रम्पले आफूले कमाउनेभन्दा बढी खर्च भएको रिपोर्ट सम्बन्धित निकायमा बुझाएर कर छली गरेको आरोप लगाएको छ ।
राष्ट्रपति निर्वाचित हुनुअघि ट्रम्प सेलेब्रिटी व्यापारी र सम्पत्ति ‘मुगल’को रूपमा परिचित थिए । यद्यपि, राष्ट्रपति ट्रम्पले कर कार्यालयमा बुझाएको रिपोर्टमा भनेका छन्, ‘एउटा व्यापारीको चित्रण, जसले एकै वर्षमा दशौँ लाख डलर लिन्थ्यो, आज दीर्घकालीन घाटा व्यहोर्नुपरेको छ । जसले गर्दा कर तिर्नुपर्ने बाध्यता पनि परेको छैन ।’

राष्ट्रपति निर्वाचित भएपछि उनको आम्दानी अझ बढी भएको धेरैको बुझाइ छ । तर, उनले रिपोर्टमा ४७.४ मिलियन डलर घाटा व्यहोरेको जनाएका छन् । राष्ट्रपति ट्रम्पसँगै ट्रम्प अर्गनाइजेसनले पनि कर छली गरेको आरोप झुटो भएको जनाएको छ ।

‘धेरै, समाचारमा प्रयोग गरिएको सबै तथ्य अनुपयुक्त देखियो,’ कम्पनीका प्रमुख कानुनी अधिकृत एलान गार्टनले भनेका छन्, ‘अघिल्लो दशकमा राष्ट्रपति ट्रम्पले दशौँ मिलयन डलर कर तिरेका छन् । सन् २०१५ मा राष्ट्रपतिको उम्मेदवार घोषणा गरेपछि पनि दशौँ लाख कर तिरेका छन् ।’

रिपोर्टले के भन्छ ?
न्युयोर्क टाइम्सले प्राप्त गरेको भनिएको रिपोर्टमा गल्फ कोर्स, होटेलजस्ता ट्रम्पको ठूला व्यवसायले पनि वर्षैपिच्छे लाखौँ डलर घाटा व्यहोरेको उल्लेख छ । आफ्नो कम्पनी ऋणमा डुबेपछि थप ‘लोन’ लिनुपरेकोसमेत जनाइएको छ ।

यद्यपि, पत्रिकाले भने राष्ट्रपति ट्रम्पको नेतृत्वमा रहेको कम्पनीहरूले उनीबाट सहयोगको अपेक्षा गरेको, अरू धेरै लगानीकर्ताहरूबाट रकम प्राप्त गरेको दाबी गरेको छ । पत्रिकाले ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि उनको कम्पनीले थप ठूलो कमाइ गरेको दाबी गरेको छ । पत्रिकाले आफ्नो अध्ययनबाट उनी राष्ट्रपति बनेको दुई वर्षको अवधिमै ७३ मिलियन डलर कमाइ गरेको दाबी गरेको छ । त्यसमध्ये धेरैजस्तो कमाइ आयरल्यान्ड र स्कटल्यान्डमा रहेको गल्फ कोर्षबाट आएको दाबी गरिएको छ ।