
मनसुन सुरु नहुँदै काभ्रेपलाञ्चोकको रोशी खोला र आसपासमा बाढी आएको छ। सोमबार दिउँसो परेको पानीले पनौती नगरपालिका र रोशी गाउँपालिकामा बाढी आएको प्रहरीले जनाएको छ।
रोशी गाउँपालिकाको माम्ती र भ्याकुरे खोला क्षेत्रमा आएको बाढीले बिपी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। भ्याकुरे खोलामा एक भ्यानसमेत फसेको छ। सडक अवरुद्ध भएपछि यात्रुहरू सडकमै अलपत्र परेका छन्। उनका अनुसार हाल बिपी राजमार्ग अवरुद्ध छ। रोशी खोलाले पनि बिपी राजमार्गको डाइभर्सन बगाएको छ। जोखिम भएकाले राजमार्गमा सवारी चलाउन रोकिएको छ।
पनौतीमा पनि एक्कासि ठुलो पानी पर्दा बाढी आएको थियो। जहाँ आलु खन्न गएकी महिलालाई कुलोले बगाएको छ। पनौती–६ की ३३ वर्षीय रेनुका गिरीलाई कुलो तर्ने क्रममा बगाएको र खोजी भइरहेको एसपी शाहले बताए। एक्कासि परेको पानीले कुलोको बहाव तीव्र हुँदा बगाएको प्रहरीले जनाएको छ।
गत असोजको बाढीले पनि पनौती र रोशी क्षेत्र नै सर्वाधिक प्रभावित बनेको थियो। यो वर्ष पनि मनसुनको सुरुमै यो क्षेत्रमा बाढीले असर गरेको छ।
बेपत्ता महिलाको खोजी गर्दै सुरक्षाकर्मी