१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ भदौ २ मंगलबार ०४:०५:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काम थालेपछि नेकपा कार्यदल सचिवालयबाट ससर्त अनुमोदन, सचिवालयमा नेपालको बेग्लै एजेन्डा, वामदेवको असन्तुष्टि

Read Time : > 3 मिनेट
२०७७ भदौ २ मंगलबार ०४:०५:००

-कोरोना महामारी, विपत् रोकथाम र नियन्त्रणका सन्दर्भमा तीनवटै तहका सरकार र जनप्रतिनिधिले खेलेको भूमिकाबारे पार्टीका तर्फबाट अर्को बैठकमा बेग्लै कार्यदल बनाउने विषयमा छलफल गर्ने समझदारीसहित कार्यदल सर्सत अनुमोदन ‘कार्यदल अनुमोदन किन गर्ने ? अध्यक्षहरूले व्यक्तिगत रूपले चाहेका कारण बनेको हो भने के बनाउनुपर्ने हो, के सुझाब लिनुपर्ने हो, लिनुस्, सचिवालयमा किन छलफल गरिराख्नुपर्‍यो ? होइन कमिटीबाट निर्णय गर्ने हो भने त सचिवालयले नाममा पनि छलफल गरेर बनाउनुपर्थ्यो, सचिवालय असफल भएको सन्देश गइसकेपछि निर्णय गर्नु र नगर्नुको अब कनै अर्थ रहेन ।’ : उपाध्यक्ष वामदेव गौतम 

.....................

पार्टी विवाद सुल्झाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गठन गरेको कार्यदलले काम थाले पनि नेकपा सचिवालयले बल्ल कार्यदललाई अनुमोदन गरेको छ । कोरोना महामारी, विपत् रोकथाम र नियन्त्रणका सन्दर्भमा तीनवटै तहका सरकार र जनप्रतिनिधिले खेलेको भूमिकाबारे पार्टीका तर्फबाट अर्को बैठकमा बेग्लै कार्यदल बनाउने विषयमा छलफल गर्ने समझदारीसहित कार्यदल सर्सत अनुमोदन भएको हो । तर, सचिवालय बैठकबाट कार्यदल अनुमोदन हुनुअगावै शनिबारबाट कार्यदलले गृहकार्य सुरु गरिसकेको छ ।

गत शुक्रबार गठित ६ सदस्यीय कार्यदल गठनको विधि र प्रक्रियाबारे वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाउँदै छलफल माग गरेपछि बालुवाटारमा सचिवालय बैठक बोलाइएको थियो । अध्यक्ष प्रचण्डले सचिवालयका नेताहरूको असन्तुष्टिबारे जानकारी गराएर प्रधानमन्त्री ओलीसँग परामर्श गरेपछि बैठक बसेको हो । 

बैठकमा वरिष्ठ नेता नेपाल र खनाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको समस्या समाधान गरेर एकता कायम गर्ने उद्देश्यले कार्यदल गठन गरिएको भनिए पनि विधि र प्रक्रिया नपुर्‍याएर फेरि पनि पार्टीमा अविश्वास र विरोधको अवस्था सिर्जना गर्न खोजिएको बताएका थिए । उनीहरूले अध्यक्षहरूले व्यक्तिगत हिसाबले सुझाब लिन व्यक्तिगत रूपमै कुनै नेताविशेषलाई जिम्मेवारी दिने कुरा अन्यथा नभए पनि विधि र संस्थागत प्रक्रियामाथि बारम्बार प्रश्न उठ्दै आएको परिप्रेक्ष्यमा बैठकको निर्णयविनै गरिने यस्तै काम र कार्यशैलीले पार्टीका सबै तहमा अराजकता मौलाउन सक्ने भन्दै गम्भीर ध्यानाकर्षण गराएका थिए । 

‘यसरी अध्यक्षहरूले केन्द्रमा मनोमानी गर्ने कार्यशैलीलाई प्रदेश कमिटी, जिल्ला कमिटी, क्षेत्रीय कमिटी र स्थानीय तहका कमिटीका अध्यक्ष र प्रमुखहरूले पनि पछ्याएर आफूखुसी काम गर्दै जान थाले भने पार्टीको हालत के हुन्छ ? कम्युनिस्ट पार्टी सञ्चालनको विधि र प्रक्रियाको ठाउँमा अराजकताले ठाउँ लिन्छ कि लिँदैन ?’ नेपालले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘यदि निजी हिसाबले कसैले व्यक्तिगत रूपमा गृहकार्य गर्न खोजेको हो भने त्यसै गरौँ, केही छैन, तर गठन भएको भनेर बाहिर नामै आइसकेपछि त त्यो निजी मामिलाजस्तो कसैले सुटुक्क प्रतिवेदन बनाउने र सुटुक्क दिनेजस्तो कुरा त रहेन । त्यसैले विश्वासको वातावरण बनाउन र विधि र पद्धति आत्मसात् गर्नका लागि पनि कार्यदल गठनको प्रस्ताव अनुमोदन गर्नुपर्छ ।’ 

तीन नेताको कुरा सुनेपछि अध्यक्ष प्रचण्डले सुझाब उपयुक्त भन्दै निर्णयका लागि प्रस्ताव गरेका थिए । ‘हाम्रा कुरालाई प्रचण्डजीले स्वीकार गर्दै तपाईंहरूका कुरा ठीक छन् र अब निर्णय गरौँ, कार्यदलले के प्रतिवेदन ल्याउँछ, हामी पनि हेर्छौँ, तपाईंहरूले पनि हेर्नुहोला, छलफल गरौँला, त्यसपछि स्थायी कमिटी बैठकमा प्रस्ताव लैजाऔँला भनेपछि अनुमोदन भयो,’ एक सचिवालय सदस्यले भने । तर, प्रधानमन्त्री ओली भने बैठकको सुरुवातदेखि अन्तिमसम्म मौन बसेका थिए । ‘खै किन हो यसपटकको बैठकमा प्रधानमन्त्री सुरुदेखि अन्तिमसम्मै मौन रहनुभयो, बैठकको सुरुवातदेखि निर्णयसम्म प्रचण्डकै सक्रियता थियो,’ ती सचिवालय सदस्यले भने । 

बैठकपछि प्रवक्ता श्रेष्ठले अध्यक्षहरूद्वारा गठित कार्यदललाई सचिवालय बैठकले अनुमोदन गरेको र त्यसलाई स्वागत गरेको जानकारी दिए । बैठकमा उनले पनि नेपालले जस्तै कार्यदल बनाउने कुरा स्वागतयोग्य भए पनि विधि र प्रक्रियाअनुसार छलफल गरेर पार्टीले स्वामित्व ग्रहणका लागि बैठक बसेर निर्णय गर्दा उपयुक्त हुने विषयमा सुझाब राखेको बताएका थिए । 

वरिष्ठ नेता खनालले कार्यदल अनुमोदन भएकाले उसले आफ्नै हिसाबले समय लिएर काम गर्ने बताए । ‘कार्यदललाई कुनै समयसीमा तोकिएको छैन, त्यसले आफ्नै हिसाबले समय लिएर काम गर्छ,’ खनालले नयाँ पत्रिकासँग भने, ‘अध्यक्षहहरूले कार्यदलबारे जानकारी गराउनुभो, हामीले कमिटी गठन गरेर कुरा राम्रो हो, निर्णयका लागि ल्याउनुभो, ठीक छ भन्दै स्वागत गर्‍यौँ र बैठक सकियो ।’ 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अध्यक्षद्वयको प्रस्तावमा गठन भए पनि छलफल गरेर अनुमोदनका लागि बैठकमा एजेन्डा प्रस्तुत भइसकेको अवस्थामा लामो बहस गरिरहनुको औचित्य नहुने धारणा राखेका थिए । महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल, पम्फा भुसाल र भीम रावल सदस्य छन् । 

सचिवालयमा नेपालको बेग्लै एजेन्डा, वामदेवको असन्तुष्टि

सचिवालय बैठकमा पार्टी समस्या समाधानका लागि गठित कार्यदल अनुमोदन मात्रै एजेन्डा भए पनि वरिष्ठ नेता नेपालले भने दोस्रो एजेन्डा पनि छलफलका लागि प्रस्ताव गरेका थिए । उनले विश्वमा देखिएको कोरोना महामारीले नेपालमा पनि ठूलो क्षति पुर्‍याइरहेकाले यसको रोकथाम र नियन्त्रण तथा प्राकृतिक विपत्मा केन्द्रदेखि स्थानीय तहसम्मका सरकार र जनप्रतिनिधिले खेलेको भूमिकाबारे अध्ययन गर्न पार्टीले बेग्लै कार्यदल बनाउनुपर्ने भन्दै छलफलका लागि प्रस्ताव गरेका थिए । 

उनले त्यसका लागि पार्टीको प्राकृतिक विपत् व्यवस्थापन विभागका प्रमुख डा. गंगालाल तुलाधारको संयोजकत्वमा आवश्यकताअनुसार सम्बन्धित विज्ञहरूलाई पनि सदस्य राखेर कार्यदल बनाउन सकिने भन्दै अर्को एजेन्डाका रूपमा छलफल गर्न माग गरेका थिए । नेपालको प्रस्तावलाई प्रचण्डसहित खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सकारात्मक भन्दै पहिले पार्टीद्वारा गठित कार्यदलले प्रतिवेदन बुझाएपछि अर्को बैठकमा छलफल गरेर निर्णयमा जान उपयुक्त हुने जवाफ दिएको नेताहरूको भनाइ छ । नेपालले संयोजक प्रस्ताव गरेका तुलाधारले जापानबाट प्राकृतिक विपत्तिका सम्बन्धमा विद्यावारिधि गरेका छन् ।

बैठकमा उपाध्यक्ष वामदेव गौतमले भने पार्टी कमिटी असफल भएको सन्देश जाने गरी कार्यदल बनाइएको भन्दै आपत्ति जनाएका थिए । गौतमले अध्यक्षहरूले चाहेअनुसार कार्यदल बनेको र व्यक्तिगत हिसाबले नै सुझाब लिन खोजेको हो भने सचिवालयमा बहस र छलफल गर्नुको औचित्य नै नरहेको धारणा राखेका थिए। 

‘कार्यदल किन अनुमोदन गर्ने ? अध्यक्षहरूले व्यक्तिगत रूपले चाहेका कारण बनेको हो भने के बनाउनुपर्ने हो, के सुझाब लिनुपर्ने हो, लिनुस्, सचिवालयमा किन छलफल गरिराख्नुपर्‍यो ?’ गौतमको असन्तुष्टि उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘होइन, कमिटीबाट निर्णय गर्ने हो भने त सचिवालयले नाममा पनि छलफल गरेर बनाउनुपर्थ्यो, सचिवालय असफल भएको सन्देश गइसकेपछि निर्णय गर्नु र नगर्नुको अब कुनै अर्थ रहेन ।’

पार्टीभित्र विवाद समाधानका लागि गौतमले गत १३ साउनमा बालुवाटारमा प्रचण्ड–नेपाल समूहका स्थायी समिति सदस्यहरूको बैठकमा ६ बुँदे प्रस्ताव राखेका थिए । सोमबारको बैठकमा गौतमले त्यही प्रस्तावका आधारमा पार्टीभित्र विवाद समाधान गर्न सकिने भएकाले त्यस प्रस्तावमाथि सचिवालयमा छलफल नगराएको भन्दै कूटनीतिक हिसाबले विरोध जनाएको सचिवालयका नेताहरूको दाबी छ । 

उनले घुमाउरो तरिकाले आफूले प्रस्ताव गरेको सहमतिको सूत्रअनुसार नै समाधान हुन लागिरहेकाले कार्यदलको नेतृत्व पनि आफैँ भइदिए राम्रो हुन्थ्यो भन्ने आशयसहित धारणा राखेको नेताहरूको भनाइ छ ।