Skip This
नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति, कार्यदल गठन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ३ शनिबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत ३ शनिबार ११:o२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति, कार्यदल गठन 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत ३ शनिबार ११:o२:oo

माओवादी र नेपाल समाजवादी पार्टीको महिन्द्र राय यादव समूहबीच पार्टी एकता गर्ने सहमति भएको छ । पहिलो वरीयताका अध्यक्ष डा. बाबुराम भट्टराईसँग छुट्टिएर अर्का अध्यक्ष यादव पक्षले माओवादीसँग एकताको सहमति गरेको हो । 

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव देव गुरुङलगायत माओवादी नेताहरूसँगको बैठकमा अध्यक्ष यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादव सहभागी थिए । छलफलमा डा. भट्टराई सहभागी थिएनन् । पार्टी एकता सहमतिमा माओवादीबाट महासचिव गुरुङ र नेसपाबाट महासचिव यादवले हस्ताक्षर गरेका छन् ।

एकीकृत पार्टीको नाम आगामी महाधिवेशनबाट टुंगो लगाउने सहमति छ । वैचारिक एकता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा माओवादीबाट महासचिव गुरुङ, उपमहासचिव जनार्दन शर्मा तथा नेसपाबाट सहअध्यक्ष श्रेष्ठ र महासचिव यादव छन् । अध्यक्ष यादव निवर्तमान मन्त्री हुन् भने श्रेष्ठ बागमती प्रदेशको मन्त्री छन् । डा. भट्टराईलाई पनि बैठकमा बोलाइए पनि उपस्थित नभएको अर्का अध्यक्ष यादवले बताए । ‘एकता प्रक्रिया अगाडि बढाउने पार्टीको सर्वसम्मत निर्णय हो । खबर गर्दा पनि माओवादीसँगको बैठकमा आउनुभएन । प्रचण्डले फोन गर्दा पनि उठाउनुभएन,’ यादवले भने, ‘उहाँ पनि एकताको प्रक्रियामा आउनुपर्छ ।’

एकताका लागि एक वर्षसम्म भट्टराई नै कुरेको श्रेष्ठले बताए । उनले पार्टी एकता संयोजन समितिको बैठकले एकता गर्ने निर्णय गरेको बताए, तर संयोजक भट्टराई छन् । समितिमा भट्टराईसहित अर्का अध्यक्ष यादव, सहअध्यक्ष श्रेष्ठ, उपाध्यक्ष दुर्गा सोब र महासचिव यादव छन् ।

फागुन पहिलो साता नेसपाले आफ्ना दुई सांसदलाई माओवादी पार्टीको अभिलेखबाट हटाइदिन निर्वाचन आयोग र संसद् सचिवालयलाई पत्र पठाएको थियो । नेसपाले माओवादीको चुनाव चिह्न लिएर निर्वाचित जनप्रतिनिधिलाई आफ्नै दलको अभिलेखमा राखिदिन अनुरोध गर्दै आयोग र संसद् सचिवालयलाई पत्राचार गरेको थियो । तर, २९ फागुनमा संघीय संसद् सचिवालयले पूर्वप्रधानमन्त्री डा. भट्टराई नेतृत्वको नेसपालाई छुट्टै संसदीय दलको मान्यता दिन अस्वीकार गरेको थियो । सभामुख देवराज घिमिरेले निवेदनमा निर्णय सुनाउँदै नेसपालाई छुट्टै दलको मान्यता दिन कानुनले नमिल्ने र माओवादी संसदीय दलकै अभिलेखमा सांसदहरू रहने जानकारी गराएका थिए । 

‘छुट्टै दलको मान्यता सम्बन्धमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४९ (३) ले एउटै चुनाव चिह्न लिएर लडेका दलहरूमा जुन दलले बढी सिट जितेर ठूलो हुन्छ, त्यही संसदीय दलको सदस्य हुनेछ भन्ने व्यवस्था रहेको छ,’ संसद् सचिवालयका कानुन महाशाखा प्रमुख लक्ष्मीप्रसाद गौतमले भनेका थिए, ‘एउटै चुनाव चिह्नले लडेका दलले दुइटा संसदीय दलको परिकल्पना नगरेको हुनाले संसदीय दलको सन्दर्भमा एउटै मात्र संसदीय हुने र जुन ठूलो छ, त्यही हुने कानुनी व्यवस्थाबमोजिम निर्णय गरेर जानकारी गराइएको हो ।’

माओवादीको हँसिया हथौडा चुनाव चिह्नबाट प्रतिनिधिसभामा नेसपामा दुई सांसद निर्वाचित छन् । सर्लाही– ३ बाट महिन्द्र राय यादव निर्वाचित हुन् भने उमरावती देवी बारा– २ बाट समानुपातिक सांसद छन् । प्रदेश सभातर्फ बागमतीको सिन्धुली २ (२) बाट गंगानारायण श्रेष्ठ र गोरखा २ (२) बाट फणीन्द्र देवकोटा निर्वाचित भएर माओवादी दलबाटै संसदीय गतिविधि गरिरहेका छन् । हँसिया हथौडा चुनाव चिह्नबाट निर्वाचित नेसपाका दुईसहित प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ सांसद छन् ।