Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2020
मिलन पाण्डे काठमाडाैं
२०७७ श्रावण २३ शुक्रबार १०:१३:००
दृष्टिकोण प्रिन्ट संस्करण

नागरिकको पीडामा नेकपाको रत्यौली

मिलन पाण्डे, काठमाडाैं
२०७७ श्रावण २३ शुक्रबार १०:१३:००

आज नागरिकलाई पीडाले सलहजसरी छोपेको छ, नागरिक लाचार बनेका छन्, सरकार मौन छ, वाक्कुस्तीमा मस्त नेताहरू बालुवाटारमा रत्यौली खेल्न व्यस्त छन्

आज देशको राजनीति क्रिकेट म्याचझैँ बनेको छ । घटनाक्रम पलपलमा बदलिँदो छ । को कहाँ गएर कसलाई भेट्यो, के भन्यो, कसरी भन्यो, कति वेला निस्कियो, छिनछिनमा ब्रेकिङ न्युजहरू आइरहेका छन् । सरकारले कोरोनाबाट नागरिकलाई बचाउन नसके पनि, राहत दिन नसके पनि सस्पेन्स, थ्रिलर, कमेडी सब दिइरहेको छ । टी–२० फर्म्याटमा सुरु भएको नेकपा विवाद अहिले टेस्ट म्याचजस्तो लम्बिएको छ । दुःखको कुरा, उनीहरूको यो खेलमा जित कसैको हुनेवाला छैन । सबैभन्दा बढी देश अनि नागरिक हार्नेछ । नेपालीको समृद्धिको सपना हार्नेछ ।

नागरिकको पीडा : आज नेकपाका प्रत्येक गतिविधिले नागरिकको पीडामा नुनखुर्सानी छर्किरहेको छ । रोगले छटपटिएर मरेका राजु सदाहरू, भोकले नाम्लो थापेर जीवन त्यागेका सूर्यबहादुर तामाङहरू, अनि सरकारले क्वारेन्टाइनबाट पिसिआर टेस्ट नगरी पठाइदिएका कारण समाजको छिःछिः दुरदुरबाट आजित भएर आत्महत्या गरेका विश्वेश्वर यादवहरूको हत्यारा कोरोना भाइरस होइन, ओली नेतृत्वको सरकार हो । सरकारको अक्षमताले उनीहरूलाई मारेको हो ।

पीडा चौतर्फी छन् । अदालतले न्यायको व्यापार गर्दै छ । निर्मलाहरूको आत्मा वर्षाैंदेखि न्यायका लागि भड्किरहेका छन् । मन्त्रीहरू चेपाङको घर जलाएर घरलाई गोठ साबित गर्न लागिपरिरहेका छन् । देशभरि बाढी–पहिरो गएको छ । बस्तीहरू डुबानमा छन् । तर, ओली सरकार तानाशाही शैलीमा सभामुखलाई समेत जानकारी नदिई संसद् तालाबन्दी गरेर सुतेको छ । एउटा व्यक्तिको स्वार्थका निम्ति नागरिकको पीडामा छलफल हुने स्थान बन्धक बनेको छ । यो लोकतन्त्रको अपहरण हो । नागरिकको मत र विश्वासमाथिको घात हो । तर पनि कथा यस्तो बुनिएको छ कि बरु उल्टै नागरिक त्रहिमाम त्राहिमाम गर्दै नेकपाको फुट रोक्न र सरकार जोगाइदिन बालुवाटारेश्वर प्रभुहरूलाई बिन्ती चढाउन अभिशप्त छन् ।

लकडाउनमा पनि युवाहरू सडकमा आएर कोरिया जान पाऔँ भनेर आन्दोलन गर्दा युवा नेताहरूलाई लाज लाग्नुपर्छ कि पर्दैन ? लकडाउनको अवधिमा २,२१८ जनाले आत्महत्या गर्दा मन्त्रीहरू बोल्नुपर्छ कि पर्दैन ? ऋण लिएर व्यवसाय सुरु गरेका उद्यमीको व्यवसाय थला परेको अवस्थामा नेकपामा बहस हुनुपर्छ कि पर्दैन ? जनजीविकाका तमाम मुद्दा अलपत्र छन् । नेताहरू दिशाविहीन छन्, देश अन्योलको सिकार बनेको छ ।

आज देशमा स्वास्थ्यको अवस्था कस्तो छ ? पाँच महिनादेखि विद्यालय बन्द भएका कारण लाखौँ विद्यार्थीको पठनपाठन ठप्प छ । वैकल्पिक माध्यमको पढाइबारे सरकारले सिन्को भाँचेको अनुभूति भएको छैन । यी पीडाहरू हाम्रो राजनीतिको मुद्दा कहिले बन्छ ? प्रत्यक्ष जनहितका विषयले कहिले सत्तासीन पार्टीको स्थायी समिति बैठकमा प्रवेश पाउँछ ? मन्त्रिपरिषद्को एजेन्डा कहिले बन्छ ? यो विवाद उल्झाउने वेला होइन भन्ने नेकपाका नेताहरूलाई कसले बुझाइदेला ? आज नागरिकलाई पीडाले सलहजसरी छोपेको छ । नागरिक लाचार बनेका छन् । तर, सरकार मौन छ । वाक्कुस्ती अनि कुर्सीमा मस्त नेताहरू बालुवाटारमा रत्यौली खेल्न व्यस्त छन् ।

जीवनजलसमेत नपाई छटपटिएर मरेका राजु सदाहरू, भोकले नाम्लो थापेर जीवन त्यागेका सूर्यबहादुर तामाङहरू, सरकारले क्वारेन्टाइनबाट पिसिआर टेस्ट नगरी पठाइदिएका कारण समाजको छिःछिः दुरदुरबाट आजित भएर आत्महत्या गरेका विश्वेश्वर यादवहरूको हत्यारा कोरोना भाइरस होइन, ओली नेतृत्वको सरकार हो ।

दलीय दलदल : दासप्रथा पूर्ण रूपमा उन्मूलन भएको रहेनछ । आज कार्यकर्ता भनेको नेताका दाससरह नेकपाको तमासा हेरेर बसेका छन् । नत्र यत्तिका महिनादेखि केही नेताले पार्टी र देशलाई दनै बन्धक बनाइरहँदा लाखौँ कार्यकर्ता कहाँ छन् ? बरु उल्टो, केही कार्यकर्ता नेताको समर्थन गर्दै प्रदर्शनमा सडकमा उत्रेका छन् । आज यो पार्टी नागरिकका लागि मरेको छ । देशको सबैभन्दा ठूलो पार्टी नेकपाको भूमिकाबारे अब पनि नबोल्ने ? सरकारले त गरेन–गरेन, कार्यकारी अध्यक्ष प्रचण्डले कोरोनाविरुद्ध लड्न नेकपालाई कति चलायमान बनाए ? हालको देशको समस्याबारे माधवकुमार नेपाल कति सक्रिय भए, यी कुराको मूल्यांकन हुनुपर्दैन ? कार्यकर्ताले प्रश्न सोध्नुपर्दैन ? नेकपामा अब विचार छैन, पद्धति छैन, मुद्दा छैन, छ त केवल सत्ता र स्वार्थ । 

प्रत्येक दिन कुनै न कुनै नेकपाका मन्त्री जमिनदार पारामा आएर नागरिकलाई हेपेर जान्छ । के नेकपाका लागि नेपाल भनेको बालुवाटार, खुमलटार र कोटेश्वर मात्र हो ? नेपाली जनता भनेको आफ्ना छेउछाउमा सीमित नेता–कार्यकर्ता मात्र हुन् ? आजको राजनीतिमा विचारधारा खोइ ? विचार त धारासरह बग्नुपथ्र्याे, अपडेट अनि अपग्रेड हुनुपथ्र्याे, तर यहाँ वर्षाैंदेखि विचारमा लेउ जमेको छ । विचार धारा होइन, विचार कुवा बनेको छ । जुन केही व्यापारी अनि बिचौलियाको ढुंगे पर्खालले घेरिएको छ । राष्ट्रवादको ज्वरो यति आएको छ कि ‘कम्युनिस्ट’ ओली ‘भगवान् राम’लाई समेत आफ्नो दूत बनाएर राजनीति गर्दै छन् । आज कोरोनासँग हारेको सरकार आफ्नो राजनीति बेसारपानीको गफबाट टिकाउन खोज्दै छ । कोरोनाको कारण अवस्था नियन्त्रणबाहिर जाँदै छ, अस्पतालहरू भरिएका छन् । तर, सरकारको पूर्वतयारी केही छैन । आज नागरिकका निम्ति बहुमतको सरकार टोक्नु न बोक्नु, पाल्नु न फाल्नु भएको छ ।

नेकपामा विधि छैन र आन्तरिक लोकतन्त्र पनि छैन । केही सीमित व्यक्ति नै पार्टी हो भन्ने भएको छ । पार्टी कमिटी अहिले भारदारी सभा बनेको छ । आज नेकपा ६ महिनादेखि न ओलीलाई हटाउन सक्छ, न ओलीलाई मानेर अगाडि बढ्न सक्छ । केपी ओली हटे अबको नेता को भनेर उत्तर दिन सक्ने अवस्थामा समेत नेकपा छैन । बहुमत सांसद जितेको पार्टीले एउटा विकल्पसमेत आँट गर्न नसक्नु पार्टीको मृत्यु हुनु हो । नेकपाको एकता सिद्धान्तको, विचारको वा उद्देश्यको एकता थिएन, सत्ता स्वार्थका निमित्त थियो भन्न अब अरू कुन प्रमाण कुरेर बस्ने हो र ? यो नागरिकलाई नेकपाले दिएको सबैभन्दा ठूलो धोका हो ।

आज प्रत्येक नेकपाको बैठकले समाजवादलाई गिज्याएको छ । बालुवाटारको जग्गा नेताले हडपेका छन् । सिंगै बालुवाटारलाई नेकपाले हडपेर पार्टी कार्यालय बनाएको छ । आज प्रधानमन्त्री कार्यालय नेकपाको पार्टीप्यालेस बनेको छ । राज्यको सम्पत्तिको यो स्तरको दुरुपयोग कुन कम्युनिस्ट घोषणापत्रमा लेखिएको थियो ? माक्र्सवाद, माओवाद वा लेनिनवादमध्ये कसले नागरिकको स्वास्थ्यभन्दा कुर्सीका लागि लड्नु भनेका थिए ? नाम राख्दैमा कोही कम्युनिस्ट हुँदैन । हिटलरको पार्टीको नाम पनि सोसलिस्ट पार्टी नै थियो । यसरी नै राष्ट्रवादको खोक्रो नारामा त्यतिवेला विश्वयुद्ध जन्मिएको थियो । आज नेकपा संगठन होइन, केही मानिसको स्वार्थकेन्द्र बनेको छ । नाजी पार्टीले जस्तै स्वार्थ र भावनाको राजनीति गर्दै नेकपाले देशलाई गम्भीर दुर्घटनातर्फ डो‍र्‍याइरहेको छ ।

असफल नेतृत्वको कारण : अंग्रेजीमा एउटा शब्द छ– ‘काकिस्टोक्रेसी’, जसको अर्थ सबैभन्दा खत्तम, अयोग्य, अक्षम, मूर्ख अनि अनैतिक व्यक्तिहरूले चलाएको सरकार हो । अंग्रेजीमा अर्काे एउटा शब्द पनि छ– ‘क्लिप्टोक्रेसी’, यसको अर्थचाहिँ ठग र चोरहरूले चलाएको सरकार हो । यस्तो सरकारमा भ्रष्ट व्यक्तिले आफ्नो सत्ताको शक्तिलाई प्रयोग गरेर राज्य दोहन गर्छन् र आफ्नो शक्ति अनि सम्पत्ति बढाउँछन् । आज नेपाल काकिस्टोक्रेसी र क्लिप्टोक्रेसी दुवैको सिकार भएको छ । झन् त्यसमा ‘वृद्धतन्त्र’ पनि थपिँदा देश अक्षमता, निर्णयहीनता र नतिजाविहीनताको बन्दी बनेको छ ।

‘कन्फिडेन्ट’ हुनु र ‘कम्पिटेन्ट’ हुनुमा फरक छ । हाम्रा नेतामा ‘कन्फिडेन्स’ छ, तर ‘कम्पिटेन्स’ छैन । हामीलाई आत्मविश्वासी मानिस योग्य छ भन्ने छाप परिरहेको हुन्छ । तर, नेतृत्व योग्य देखिनु र साँच्चिकै योग्य हुनु फरक हो । अनुभवी हुनु र सीप हुनुमा फरक छ । हाम्रो राजनीति यहीँनेर चुक्दै छ । आज शेरबहादुर देउवालाई चारचोटि प्रधानमन्त्री हुनु ‘योग्यता’ लागिरहेको छ, तर त्यो योग्यता होइन । १४ वर्ष जेल बस्नु प्रधानमन्त्री बन्नुको योग्यता पनि होइन । तसर्थ, हामी भ्रमित छौँ । अरूलाई मूर्ख बनाउने मानिसले सबैभन्दा पहिला आफूलाई मूर्ख बनाउँछ भन्ने कुरा बिर्सिएका छौँ । 

लकडाउनमा पनि युवाहरू सडकमा आएर कोरिया जान पाऔँ भनेर आन्दोलन गर्दा युवा नेताहरूलाई लाज लाग्नुपर्छ कि पर्दैन ? लकडाउनको अवधिमा २,२१८ जनाले आत्महत्या गर्दा मन्त्रीहरू बोल्नुपर्छ कि पर्दैन ? ऋण लिएर व्यवसाय सुरु गरेका उद्यमीहरूको व्यवसाय थला परेको अवस्थामा नेकपामा बहस हुनुपर्छ कि पर्दैन ?

एउटा डाक्टरले औषधि दिनुअघि जाँच गर्छ र रोग पत्ता लगाउँछ, तर धामीले हेर्नेबित्तिकै सबै रोग बताइदिन्छ । आज हाम्रा नेता डाक्टर होइन, धामीजस्ता भएका छन् । समस्या आउनेबित्तिकै छुमन्तर गरिदिने तर समाधान नदिने । तर, ती समाधान कति सतही छन् भनेर नागरिकले काल्पनिक पानीजहाज अनि रेल चढेर बुझिसकेका छन् । हाम्रा नेतामा नेतृत्वको गुण वा क्षमता मात्र पनि होइन, नेतृत्वको कला पनि छैन । एउटा मन्त्री बोल्दा किन पत्रकारदेखि नागरिकसम्म चिढिन्छन् ? नेतामा जुन समानुभूति र विनम्रता हुनुपर्छ, त्यो हाम्रा नेतामा छैन । हाम्रा नेता सामूहिक भाव जगाउन सक्दैनन्, जसले गर्दा कुनै पनि निर्णयको अपनत्व कसैले लिँदैन । पार्टीमा त्यो सामूहिक ‘भिजन’ नै छैन । केपी ओलीले सत्तामा पुग्नेबित्तिकै जसरी सबै पदमा आफ्नो गुटका मानिस योगदान, योग्यता, क्षमता अनि नेतृत्व व्यवस्थापनको हेक्का नगरी हुले, त्यसले स्थिति यस्तो आयो कि आज उनको गुटबाहेक उनको बचाउ गर्ने कोही छैन ।

अहिले लोकरिझ्याइँको विश्वव्यापी खहरे उर्लिएको छ । १९६० मा मिडियाको व्यापकतापछि उदाएको लोकरिझ्याइँ अहिले इन्टरनेटको युगसम्म आइपुग्दा उच्च बिन्दुमा पुगेको छ । आज हामी त्यस्तो नेता खोजिरहेका छौँ, जो चामत्कारिक होस् अनि रमाइलो होस् । हामीले के बुझ्न जरुरी छ भने प्रभावकारी नेता हुनु र ‘स्ट्यान्ड अप कमेडियन’ हुनुमा फरक छ । योग्य नेता चमत्कारीभन्दा पनि विनम्र र परिणाममुखी हुन जरुरी छ । नेतृत्व अनि पार्टीको कमजोरी औँल्याइरहँदा हामीले भुल्न नहुने कुरा हाम्रो राजनीतिक संस्कार हो । आज एउटा व्यक्ति कसरी नेता बन्दै छ ? कसरी चुनाव जित्दै छ ? पार्टीहरू कसरी चल्दै छन् ? कसरी योग्य मानिसलाई हाम्रो दलीय अनि गुटगत संरचनाले रोक्दै छ ? त्यो बुझ्न जरुरी छ । आज एउटा इमानदार मानिस कांग्रेस वा नेकपामा गएर काम गर्न सक्ने माहोल छ ? छैन । जबसम्म हाम्रो संस्कार परिवर्तन हुँदैन, हाम्रो राजनीति यसरी नै चलिरहनेछ । 

अबको परिदृश्य : आज देशको मुद्दा के हो ? प्राथमिकता के हो ? कोभिड–१९ को नियन्त्रण यो वेला प्राथमिकतामा नपरे कहिले पर्छ ? कोरोनाले नेकपाको बहस कुरेर बस्छ र ? शिक्षा, स्वास्थ्य, रोजगारीमा नागरिकको पहुँच अनि समान अवसर आज सम्बोधन गर्न पर्ने मुद्दा होइन र ? आज यो मुद्दा कसले उठाइदिएको छ ? नेकपाको किचलोले अतिको सीमा नाघेर नागरिकमाथि अत्याचार गर्न थालेको छ ।

यी असन्तुष्टिले छिटै देशमा आन्दोलनको आँधीबेहरी ल्याउनेछ, जसले यी राजनीतिक दलहरूको अस्तित्वलाई चुनौती दिनेछ । त्यो आन्दोलनले नयाँ पुस्ताका ईःहरूजस्ता नेतृत्वलाई स्थापित गर्नेछ । आज देशको आधा जनसंख्या २४ वर्षमुनिको छ । ती युवालाई केपी ओलीले, प्रचण्डले वा शेरबहादुर देउवाहरूले प्रतिनिधित्व गर्दैनन् । अब कांग्रेस अनि नेकपालाई बचाउन केही कुराले सक्छ भने पार्टीलाई सक्षम पुस्तामा हस्तान्तरणले सक्छ । पार्टीको रूपान्तरणले सक्छ । पार्टीमा यस्तो माहोल बनाउनुपर्‍यो कि एउटा सक्षम व्यक्ति आएर आफ्नो योजना, विचार र उद्देश्यका आधारमा पार्टीमा नेतृत्व गर्न सकोस् । 

नेता सुध्रन जरुरी छ । तर, कार्यकर्ता पनि सुध्रिन जरुरी छ । आज शीर्ष नेताहरूले कार्यकर्ताहरूको खुट्टा भाँचेर माग्न बाध्य बनाइरहेका छन् । र, आफू सरकारको ढुकुटीबाट केही दाना फालेर माइबाप बनिरहेका छन् । नेता अनि कार्यकर्ताले के बुझ्न जरुरी छ भने अब राजनीति टिकाउने हो भने खुट्टा भाँचेर माग्न लगाउने होइन, कार्यकर्तालाई उद्यमशील बनाउने हो । आज यो देशमा कोही बुर्जुवा छन् भने हाम्रै नेताहरू हुन्, अरू त आ–आफ्नो काम गरेर खाइरहेका छन् ।

अन्त्यमा, : समस्या नेता वा कार्यकर्तामा मात्र होइन, आमनागरिकमा पनि छ । आज हरेक घरमा ‘केपी ओली’ प्रवृत्ति छ । हामी त्यही प्रवृत्तिमा रमाइरहेका छौँ । तसर्थ, हामीले नागरिकलाई विवेकशील बनाउन जरुरी छ । नेताले के गर्नुपर्छ भन्ने नै हामीले भुलिसक्यौँ । हामीले के बुझ्न जरुरी छ भने यदि कुनै ताल्चा खोल्न गाह्रो भयो भने अधिकांश वेला चाबी गलत परिरहेको हुन्छ । यी नेतृत्वबाट समृद्धिको ताला खोल्न गाह्रो छ, किनकि हामीले चाबी नै गलत रोजिरहेका छौँ ।

विडम्बना, आजको राजनीतिको प्रमुख मुद्दा वामदेव आज कुन गुटमा लागे भन्ने बनेको छ । आजको बैठकमा प्रचण्डको कुर्सी कहाँ होला अनि कुन रङको कपडा टेबुलमा राखेको होला भनेर ब्रेकिङ न्युज पढ्नुपर्ने बाध्यता छ । अनि यहीबीचमा नेताहरू आएर पाँच वर्षमै देशको कायापलट गरिदिने भनेर भाषण गर्दा पनि नागरिकले सहेर बस्नुपरेको छ । आज देशलाई क्यान्सर लागेको छ, हामी सिटामोल खुवाएर समाधान निकाल्न खोज्दै छौँ । यो राजनीतिक क्यान्सरको औषधि सुसंस्कृत राजनीति हो । राजनीति नै नबदली अब यही सिस्टम अनि व्यक्तिहरूबाट समाधान आउँदैन । अत्यधिक बहुमतसहित सत्ता सम्हालेको पार्टीले जनताको पीडालाई कुर्सीको रत्यौलीमा भुलेर नजरअन्दाज गर्नु इतिहासकै सबैभन्दा ठूलो धोका बनेको छ । आँखामा मोतीबिन्दु लागेकाले होला, मैले नागरिकको पीडा देखेको छु, सरकारको काम महसुस गर्न पाएको छैन । कसैले देख्नुभएको छ भने, बताइदिनुहोला !

(लेखक विवेकशील नेपाली दलका अध्यक्ष हुन्)