१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
सागर चन्द काठमाडाैं
२०७७ असार १२ शुक्रबार ०८:५७:००
Read Time : > 1 मिनेट
नयाँCity

खुल्न थाले क्याफे

Read Time : > 1 मिनेट
सागर चन्द, काठमाडाैं
२०७७ असार १२ शुक्रबार ०८:५७:००

काठमाडौं उपत्यकामा लकडाउन आंशिक खुलेसँगै कफीसप पनि खुल्न थालेका छन् । तिनैमध्ये हो, थापाथलीस्थित कफी स्टेसन । १ असारदेखि खुलेको यो क्याफेमा कफीपारखीको बाक्लै भीड लाग्न थालेको छ । ग्राहक बाक्लिएपछि क्याफेका कर्मचारी पनि काममा फर्केका छन् ।

कालिकास्थानको हिमालयन कफी बिन्स बिहान ८ देखि साँझ ८ बजेसम्म खुल्छ । लकडाउनमा लामो समय बन्द रहेका क्याफे खोल्न पाउँदा सञ्चालक खुसी देखिन्छन् । क्याफे खुले पनि पहिलेजस्तो व्यापार नभएको बानेश्वरस्थित कफीशालाकी बरिस्ता तथा म्यानेजर एलिजा राना बताउँछिन् । बानेश्वरको यो क्याफे नियमित ग्राहकका लागि २८ वैशाखमै खुलेको थियो । १ असारदेखि भने पूर्ण रूपमा खुलेको हो ।

सधैँ विदेशी पर्यटक भरिभराउ रहने पाटन क्षेत्रका क्याफे पनि नेपाली ग्राहकलाई लक्षित गर्दै सञ्चालनमा आएका छन् । पाटन दरबार स्क्वायर परिसरको डी–स्क्वायर क्याफेमा नेपाली ग्राहक बढेका छन् । करिब तीन महिना पाटन दरबार क्षेत्र सुनसान रह्यो । त्यतिवेला यो क्याफेले होम डेलिभरी सेवा दियो । अहिले भने क्याफेभित्र प्रवेश खुला गरिएको छ ।

१ असारदेखि खुलेका राजधानीका क्याफेले ढोकामै मास्क अनिवार्य लेखेका छन् । र, खुट्टाले थिचेर स्यानिटाइजर लगाउने प्रविधि जडान गरेका छन् ।

हिमालयन बिन्सका सञ्चालक जनक बुढाथोकीका अनुसार क्याफेको आम्दानीसँगै कोरोना संक्रमणको जोखिम पनि बढेको छ । ‘सुरक्षा सावधानी अपनाउँदै कफीपारखीलाई सेवा दिइरहेका छौँ,’ उनी भन्छन् । बानेश्वरको कफीशालामा ग्राहक र कर्मचारीका लागि छुट्टाछुट्टै स्यानिटाइजर राखिएको छ । ‘स्टाफलाई मास्क अनिवार्य गरेका छौँ । स्यानिटाइजर पनि बारम्बार प्रयोग गराउँछौँ,’ म्यानेजर राना भन्छिन्, ‘ग्राहकलाई पनि मास्क अनिवार्य गरेका छौँ ।’

कतिपय क्याफेले ढोकामै ‘मास्क अनिवार्य’ लेखेका छन् । थापाथलीस्थित कफी स्टेसनको ढोकामै स्यानिटाइजर राखिएको छ । ‘स्यानिटाइजरमा पनि हात पु-याउन नदिन खुट्टाले थिचेर निकाल्न मिल्ने व्यवस्था गरेका छौँ,’ कफी स्टेसनका व्यवस्थापक सन्दीप भट्टराई भन्छन् । संक्रमणबाट जोगिन पाटनको डी-स्क्वायरले ‘युज एन्ड थ्रो’ कपमा कफी सर्भ गर्छ । ‘यसबाट ग्राहक र कर्मचारी दुवैमा संक्रमण फैलिने जोखिम कम हुन्छ,’ सञ्चालक ईश्वरकुमार प्रधानांग भन्छन् ।

लकडाउनमा लामो समय व्यवसाय बन्द रहँदा आर्थिक संकट आएकाले जोखिम मोलेरै क्याफे खोल्नुपरेको कफी स्टेसनका सञ्चालक भट्टराई बताउँछन् । भन्छन्, ‘क्याफेको भाडा तिर्न पनि समस्या भएपछि खोल्नुको विकल्प रहेन ।’ कर्मचारीलाई तलबविहीन राख्न नमिल्ने भएकाले क्याफे खोल्नुपरेको हिमालयन बिन्सका सञ्चालक बुढाथोकी बताउँछन् । ‘कर्मचारी तलबमै निर्भर छन्, उनीहरूलाई दैनिक छाक टार्नै समस्या हुन थालेकाले क्याफे खोल्ने निर्णय लियौँ,’ उनी भन्छन् ।

संक्रमणको जोखिम हुन नदिन ग्राहकलाई भौतिक दूरीमा बस्न सञ्चालकहरूले आग्रह गर्ने गरेका छन् । ‘ग्राहकले यसमा ध्यान दिनुप-यो, हामीले त मास्क र स्यानिटाइजर लगाएर मात्र सेवा दिइरहेका छौँ,’ कफी स्टेसनका व्यवस्थापक भट्टराई भन्छन् ।