१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
अजित अधिकारी काठमाडौं
२०७७ असार ४ बिहीबार ०६:३९:००
Read Time : > 1 मिनेट
अर्थ

सरकारी कम्पनीले ५० हजार टन चिनी ल्याउने

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ असार ४ बिहीबार ०६:३९:००

निजी क्षेत्रबाट उत्पादन घटेको भन्दै साल्ट ट्रेडिङले ४० हजार टन र खाद्य कम्पनीले १० हजार टन चिनी ल्याउने प्रस्ताव स्वीकृतिका लागि अर्थ मन्त्रालयमा, आयातको प्रक्रिया अहिले नै सुरु गर्न सकिए दसैँ-तिहारमा मात्र आइपुग्ने

उत्पादनमा ठूलो गिरावट आएको निष्कर्ष निकाल्दै सरकारी कम्पनीले ५० हजार टन चिनी आयात गर्ने भएका छन् । 

तत्कालै चिनी ल्याउनुपर्ने आवश्यकता रहेको रायसहितको प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरकारी कोटामा चिनी आयात गरी आपूर्ति सहज गर्नेसम्बन्धी प्रस्ताव अर्थमा पठाएको हो ।

उद्योग मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला केसीका अनुसार भन्सार छुटमा ५० हजार टन चिनी आयातका लागि स्वीकृति दिन अर्थ मन्त्रालयसँग आग्रह गरिएको छ । ‘साल्ट ट्रेडिङले ४० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले १० हजार चिनी ल्याउन पाउने गरी प्रस्ताव पठाएका छौँ,’ उनले भनिन् ।

यो वर्ष चिनी उत्पादनमा ठूलो गिरावट आएपछि सरकारी संयन्त्र परिचालन गरेर आयातको प्रबन्ध मिलाउन लागिएको हो । अहिले आयातका लागि स्वीकृत माग गरिएको चिनी सबै प्रक्रिया पूरा गरेर दसैँ-तिहारमा मात्र भित्रिन सक्नेछ ।

मुुलुकमा चिनी उत्पादन कम हुँदा वा मूल्य नियन्त्रण गर्नका लागि भन्सार सहुलियतबट साल्ट ट्रेडिङले चिनी आयात गरिरहेको छ । यो वर्ष उत्पादन घटेपछि बजार आपूर्ति सहज गर्न तथा मूल्य नियन्त्रण कायम राख्न फागुन अन्तिममा भन्सार सहुलियत पाएर साल्ट ट्रेडिङले १० हजार टन चिनी ल्याएको थियो ।

तर, सो चिनी लकडाउनमा वितरण गर्दा सकिन लागेको साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक पंकज जोशीले बताए । ‘हामीसँग भएको चिनी सकिन लाग्यो । अहिले उत्पादन र मागको अनुपात हेर्दा ८० हजार टन अपुग देखिन्छ,’ जोशीले भने, ‘यसलाई पूर्ति गर्न सरकारले छिटो पहल गर्नुपर्छ ।’ 

यो वर्ष उखु उत्पादनमा ठूलो गिरावट आएको छ । चिनीको उत्पादनसमेत तुलनात्मक रूपमा कमजोर हुन पुगेको छ । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीका अनुसार यो वर्ष १ करोड ९४ लाख क्विन्टल उखु क्रसिङ भएको छ । गत वर्ष २ करोड ८ लाख क्विन्टल उखु उत्पादन भएको थियो । ‘उखुको पैसा समयमै नपाइने भएकाले किसानले खेती गर्न छाडेका छन्,’ उनले भने, ‘त्यसैले उत्पादनमा गिरावट आइरहेको छ ।’

यो वर्ष मागको आधा मात्र उत्पादन

चिनी उत्पादक संघका अनुसार यो वर्ष क्रसिङ भएको १ करोड ९४ लाख क्विन्टल उखुबाट करिब १ लाख ६० हजार टन चिनी उत्पादन भएको छ । यो उत्पादनको मागको ४० प्रतिशत कम हो । 

मुलुकमा वार्षिक करिब २ लाख ५० हजार टन चिनीको माग छ । मागभन्दा ९० हजार टन चिनी कम उत्पादन हुनुमा उद्योगको क्षमतामा आएको ह्रास प्रमुख कारण हो ।

अहिले चार ठूला चिनी मिल नवलपरासीका लुम्बिनी र इन्दिरा, रौतहटको श्रीराम र सर्लाहीको अन्नपूर्ण सुगर मिल बन्द छन् । उद्योग बन्द भएको अवस्थामा किसानले उखु नै कम लगाएकाले चिनी उत्पादनमा गिरावट आएको हो ।