मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १० बुधबार
  • Tuesday, 01 September, 2026
हदिश खुद्दार जनकपुरधाम
२o८o जेठ १० बुधबार o८:o५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सरकारी कम्पनीले लक्ष्यको १० प्रतिशत पनि धान खरिद गर्न सकेनन्

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८o जेठ १० बुधबार o८:o५:oo

झन्झटिलो खरिद प्रक्रियाका कारण खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरले लक्ष्यको तुलनामा १० प्रतिशत पनि धान खरिद गर्न सकेको छैन । चालू आर्थिक वर्षमा कम्पनीको प्रादेशिक कार्यालय जनकपुरले १५ हजार क्विन्टल सोना मनसुली धान खरिद गर्ने लक्ष्य राखेको छ । तर, कृषि ज्ञानकेन्द्र धनुषाले खरिद प्रक्रिया झन्झटिलो बनाउँदा हालसम्म कम्पनीले एक हजार ९३ क्विन्टल मात्रै धान खरिद गरेको छ । प्रादेशिक कार्यालयका प्रमुख गंगा साहले अहिलेसम्म ३४ लाख १९ हजार मूल्यबराबरको एक हजार ९३ क्विन्टल मात्र धान खरिद गर्न सकिएको बताए । 

सरकारले किसानसँग तीन हजार एक सय २८ रुपैयाँ प्रतिक्विन्टल सोना मन्सुली धान खरिद गर्न मूल्य तोके पनि खरिद समितिको गलत निर्णयका कारण लक्ष्यअनुसार धान खरिद गर्न नसकिएको प्रमुख साहले बताए । एक किसानसँग १० क्विन्टल मात्र धान खरिद गर्ने कृषि ज्ञानकेन्द्रको झन्झटिलो निर्णयका कारण किसानले खाद्य कम्पनीलाई धान नबेचेर सस्तोमा गल्ला व्यापारीलाई दिएका हुन् ।

कम्पनीलाई धान बेच्दा लालपुर्जा अनिवार्य चाहिने व्यवस्थाले किसानको धान किन्न नसकिएको कम्पनीका सूचना अधिकारी रामपुकार मण्डलले बताए । उनले भने, ‘हामीले सुरुमै त्यो पक्रियाको विरोध गरेका थियौँ । तैपनि, केन्द्रले यो प्रक्रिया लगाउनैपर्ने अडान लिएपछि हामीले सोही प्रक्रियाबाट धान खरिद गर्‍यौँ ।’

किसानले कृषि ज्ञानकेन्द्रमा झन्झटिलो प्रक्रिया हटाउन अनुरोध गरे पनि केन्द्रका प्रमुख शंकर साहको संयोजकत्वमा रहेको खरिद समितिले उक्त निर्णय फिर्ता नलिएको किसानहरू बताउँछन् । धनुषामा मात्रै यस्तो नियम लागू भएपछि किसान आर्थिक मारमा परेको जनकपुरधाम उपमहानगरपालिका–२१ का ललन पण्डितले दुखेसो पोखे ।