मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंग0प्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १७ शनिबार
  • Saturday, 30 May, 2020
सागर चन्द काठमाडौं
२०७७ जेठ ४ आइतबार १८:४८:००
फिचर

‘सारा संसार लगाए ताला, गरिबले के खाला ?’

सागर चन्द काठमाडौं
२०७७ जेठ ४ आइतबार १८:४८:००

लकडाउनका कारण राजधानीको पर्यटकीय हब ठमेल सुनसान छ । सधैँजसो पर्यटकले भरिभराउ हुने ठमेलका गल्लीहरू यतिवेला खाली छन् । क्युरियो पसल, रेस्टुरेन्ट, पब, डान्स क्लबहरू पनि सबै बन्द छन् ।

ठमेल नर्सिङ चोकमा सारंगी बोकेर बसिरहेका छन् डम्बर गन्धर्व । पर्यटकलाई सारंगीको धुन सुनाएर परिवार पाल्ने डम्बरको कमाइ लकडाउनका कारण देशझैँ ठप्प छ । ०२८ सालमा काठमाडौं आएका डम्बरले यसअगाडि यति सास्ती कहिल्यै पनि भोग्नुपरेको थिएन ।

भूकम्प र नाकाबन्दीताका पनि ठमेलमा पर्यटक हुन्थे । सारंग रेटिरहेका डम्बरलाई पर्यटकले धेरथोर पैसा दिन्थे र उनको गुजारा चल्थ्यो । लकडाउनका कारण पर्यटकको आवत–जावत त रोकियो नै सडकमा मान्छे पनि निस्कन प्रतिबन्ध लाग्यो । डम्बरले आफ्नो सारंगी धुन सुनाउन पाएनन् । सारंगी रेटिएपछि मात्र घरमा चुलाे बल्ने उनको चुलाे बल्न छाडेको छ ।

पाँचजनाको परिवारसहित गल्कोपाखामा बस्ने ५९ वर्षीय डम्बरको घरमा खाद्यान्न सकिएको छ । घरमा खाद्यान्न सकिएपछि नै उनी सडकमा आएका हुन् । ‘सारंगी सुन्ने कोही भेटियो भने पैसा दिन्छन् कि भनेर आएको,’ डम्बर भन्छन् ।

लकडाउनको तेस्रो साता डम्बरको कोठामा खाद्यान्न सकियो । त्यसयता उनी दिनहुँ ठमेल आउँछन्, ‘कोही भेटिन्छ कि’ भन्ने आसमा । ‘घरमा गएर सुनाऊँ भने पनि बन्द छ । गेटमा छिर्न दिँदैनन्,’ डम्बरलाई अप्ठ्यारोमाथि अप्ठ्यारो छ । घरमा चामल लिएर जान नसके पनि डम्बर कहिलेकाहीँ खाना भने लिएर जान्छन् । विपन्न परिवारलाई खाना बाँडिरहेको ठाउँ खोज्दै डम्बर खाना माग्न जान्छन् ।

‘कति ठाउँमा त खाना घर लग्न दिन्छन्, कति ठाउँमा त त्यहीँ बसेर खानुपर्छ,’ डम्बर भन्छन् । आफू खाएर घरमा खाना लग्न नपाउँदा डम्बर झन् दुःखी हुन्छन् । सारंगी धुन सुनाएर रुवाउने डम्बर आफैँ रुन्छन्, सारंगीको धुनबिनै ।

हरेक दिन ठमेलबाट रित्तै हात घर फर्किनुपर्दा डम्बर गहुँगो मन लिएर जान्छन् । ‘घर जाँदा, अलिकति चामल लिएर गए बुढी पनि खुसी हुन्थी कि ?’ डम्बर भन्छन् ।

बाहिर निस्केर मान्छेको सम्पर्कमा आउँदा कोरोना संक्रमण हुन सक्छ भन्ने थाहा छ डम्बरलाई । तर, ज्ञान र जानकारीले मात्र भोक टर्दैन । ‘डर त कसलाई छैन र ? ज्यानको माया कसलाई छैन र ?’ तर डम्बरका लागि यतिवेला ज्यान भन्दा भोक ठूलो हो ।

सारंगी बजाएरै जीवनको उत्तरार्धमा पुगेका डम्बरले कोरोना कहरको पनि गीत बनाएका छन् । समाजका तमाम अप्ठ्यारा, दुःख, सुखलाई गीतमा उतार्ने डम्बर भन्छन्, ‘हाम्रो त जीवन यस्तै हो ।’

यति भनेर उनी सारंगी रेट्दै गीत गाउन थाल्छन्–
‘सारा संसार लगाए ताला,
काम छैन, गरिबले के खाला ?’

- तस्बिर : दीपेन्द्र ढुंगाना