१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण २९ आइतबार
  • Wednesday, 02 July, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o७९ श्रावण २९ आइतबार ११:५३:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तिब्बत लकडाउनले तातोपानी नाका बन्द

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o७९ श्रावण २९ आइतबार ११:५३:oo

तीव्र रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न तिब्बतमा पछिल्लो एक सातादेखि लकडाउनको आदेश जारी छ। लकडाउनपछि तिब्बत अटोनमस रिजन (टार)को सम्पूर्ण जनजीवन प्रभावित भएको छ। २५ साउनबाट तातोपानी नाका पनि बन्द छ।

सिगात्से सहरमा तीन दिनदेखि लकडाउन घोषणा गरिएकाले तातोपानी आउने सबै कन्टेनर बाटोमै रोकिएका छन्। तिब्बत सिल्कका प्रतिनिधि सोनाम शेर्पाले दिएको जानकारीअनुसार कम्तीमा ३० कन्टेनर सामान सिगात्सेमा रोकिएका छन्। न्यालम र खासासम्म आइपुगेका केही कन्टेनर पनि बीचमै रोकिएको उनले बताए। स्याउ, लसुन र नासपातीजस्ता फलफूल कुहिएर व्यापार घाटा भएको उनले सुनाए।

तिब्बतको सिगात्से, केरुङ, खासा, न्यालमलगायत सीमा क्षेत्रमा निषेधाज्ञा जारी गरिएकाले सबै गतिविधि बन्द भएको शेर्पाले बताए। ल्हासा सहरमा लगाइएको निषेधाज्ञा केही दिनका लागि लम्ब्याइएको छ। सबै स्थानीयलाई घरमा बस्न भनिएको बताउँदै शेर्पाले भने, ‘दिनदिनै पिसिआर चेक भइरहेकाले सबैको परीक्षणपछि संक्रमितलाई क्वारेन्टाइनमा लाने र अरू गतिविधि खुला गर्ने सरकारको नीति छ।’ कोरोना भाइरस नियन्त्रणमा आएपछि तत्काल तातोपानी नाका खुल्ने उनले बताए।  सिगात्से सहरमा मात्रै चार सय ४९ संक्रमित भेटिएका छन्। तिब्बत क्षेत्रका स्थानीयलाई खाना र बस्नको सबै व्यवस्था चीन सरकारले नै गरेको छ।

‘तिब्बतको विभिन्न सहरमा कोरोना भाइरस फैलिएकाले तातोपानी नाका बन्द भएको अनौपचारिक खबर आएको छ,’ तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत नारद गौतमले भने। नाका कहिलेदेखि खुल्छ भन्ने कुनै जानकारी नभएको उनले बताए। औपचारिक चिठीपत्र केही नआएकाले नाका खुल्नेबारे केही भन्न नसकिने उनले प्रस्ट्याए। भाइरस नियन्त्रणपछि नाका खुला हुन सक्ने भएकाले भन्सारका सबै कर्मचारी एलर्टमा रहेको उनको भनाइ छ। तर, स्रोतका अनुसार चीनतर्फ सीमा क्षेत्रमा कोरोना भाइरस तीव्र रूपमा फैलिएकाले नाका तत्काल खुला हुने अवस्था छैन। 

भाइरस परीक्षणका लागि तिब्बत क्षेत्रको भन्सार र वाणिज्यसँग आबद्ध कर्मचारी सबै क्वारेन्टिनमा छन्। नाका बन्द भएको समयमा लिपिङदेखि डाक्लाङसम्म बिग्रेको कच्ची सडक सुधारका लागि काम गर्न सम्बन्धित पक्षसँग अनुरोध गरिएको गौतमले बताए। कोदारी राजमार्गको दूरावस्थाले खासा–काठमाडौं ढुवानी गर्ने कन्टेनर पाइलैपिच्छे दुर्घटनाको जोखिममा छन्।