१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
एजेन्सी
२०७६ चैत २१ शुक्रबार ११:०८:००
Read Time : > 1 मिनेट
विश्व

रेल र रंगशालामा आइसोलेसन वार्ड बनाउँदै भारत

Read Time : > 1 मिनेट
एजेन्सी
२०७६ चैत २१ शुक्रबार ११:०८:००

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतले रेल र रंगशालामा आइसोलेसन वार्ड बनाउन थालेको छ । भारतीय रेल्वे विभागले २० हजार रेल गाडीलाई मेडिकल सुविधामा परिणत गर्ने काम सुरु गरेको बुधबार बताएको छ । 

‘प्रत्येक गाडीमा १६ वटा शय्या हुनेछन् । योसँगै त्यहाँ तीन लाख ३२ हजार मानिसलाई क्वारेन्टाइनमा राख्न सकिन्छ,’ रेलवे विभागले एक विज्ञप्तिमा भनेको छ । 

एक अर्बभन्दा बढी जनसंख्या रहेको भारत अहिले लकडाउनमा छ । भाइरसको फैलावट रोक्न भन्दै सरकारले २१ दिन भारत बन्द गर्ने निर्णय गरेको थियो, तर यो साता भाइरस संक्रमण बढेको त्यहाँका अधिकारीले बताएका छन् ।

अहिलेसम्म भारतमा ५६ जनाको मृत्यु भएको छ भने दुई हजार मानिस संक्रमित भएका छन् । भारतीय राज्यहरूले भाइरसको सम्भावित प्रकोपसँग जुध्न खेल रंगशालालाई पनि अस्थायी अस्पताल बनाउन सुरु गरेका छन् । 

भारतमा कोरोना भाइरसबाट हुने श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याको उपचारका लागि आवश्यक भेन्टिलेटर, चिकित्सक तथा आवश्यक औषधि–उपकरणको अभाव छ । भाइरसको संक्रमण बढेसँगै त्यहाँको स्वास्थ्य सेवा प्रणालीप्रति चिन्ता जनाइएको छ । 

नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले जवाहरलाल नेहरू रंगशालालाई क्वारेन्टाइन सेन्टर बनाउने बताएका छन् । हैदराबादको गाछीबोओली रंगशालालाई पनि १५ सय शय्यासहितको क्वारेन्टाइन र उपचार केन्द्र बनाएर विदेशबाट आउने नागरिकलाई त्यहाँ राख्ने निर्णय गरिएको छ । 

आसामको सरुसाजाई रंगशालालाई पनि एक हजार मानिस राख्न मिल्ने गरी क्वारेन्टाइन वार्ड बनाउने भएको छ । 

चन्डीगढको उत्तरी सहरका खेल रंगशाला तथा खेलकुद कम्प्लेक्सलाई भने भिन्दै उद्देश्यका लागि प्रयोग गरिने भएको छ । त्यहाँ रहेका खेलकुद मैदानहरूलाई अस्थायी जेल बनाउने भएको छ । ती जेलमा लकडाउन उल्लंघन गर्ने व्यक्तिलाई राखिने प्रहरी प्रवक्ता चरनजित सिंहले बताए । 

स्वास्थ्य विज्ञहरू भारतमा कम्युनिटी ट्रान्समिसनको खतरा रहेको बताउँछन् । लकडाउनका अवधिमा पनि हजारौँ भारतीय नागरिकहरू हिँडेर गाउँ गाउँ पुगेका छन् । यसले भाइरसको संक्रमणलाई तीव्र फैलाउन सक्ने चेतावनी पनि उनीहरूले दिएका छन् । 

पूर्वी राज्य झारखण्डमा सडक र सीमा बन्द गरेपछि मानिसहरू पश्चिम बंगालका गाउँमा पुग्नलाई पौडी खेलेर सीमा तरेको त्यहाँका अधिकारी विजेन्द्र कुमारले बताए । यहाँजस्तै हरियाणामा पनि मानिसहरू ट्युब र डुंगाको प्रयोग गरेर उत्तर प्रदेश गएका थिए ।