१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o७:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

वैदेशिक व्यापारमा भारतको हिस्सा ६३.०२ प्रतिशत

नौ महिनामा १० खर्ब ८३ अर्बको व्यापार घाटा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:२३:oo

चालू आर्थिक वर्षको नौ महिनामा नेपालले गरेको कुल वैदेशिक व्यापारमा भारतको मात्रै हिस्सा ६३.०२ प्रतिशत रहेको छ । भन्सार विभागका अनुसार कुल यो अवधिमा कुल वैदेशिक व्यापार १२ खर्ब ८१ अर्बको भएको छ । त्यसमध्ये भारतसँगको मात्रै व्यापार आठ खर्ब सात अर्बको व्यापार भएको छ । त्यस्तै, बढी आयात–निर्यात हुने दोस्रो मुलुक चीनसँगको व्यापारको हिस्सा १७.०८ प्रतिशत छ । नेपालसँगको वैदेशिक व्यापारमध्ये चीनको व्यापार दुई खर्ब १८ अर्ब भएको विभागको तथ्यांक छ । 

भौगोलिक रूपमा सिमाना जोडिएका दुई देश भारत र चीनसँगै नेपालको वैदेशिक व्यापारमा वर्चस्व कायम छ । सबैभन्दा बढी वस्तु आयात हुने र बढी निर्यात हुने दुवै देशमा भारत र चीन पर्छन् । भारतबाट सात खर्ब २९ अर्बको वस्तु आयात भएकोमा नेपालको भारततर्फ ७७ अर्ब ८५ करोडको वस्तु निर्यात भएको छ । यस अवधिमा भारतसँग नेपालको १० खर्ब ५३ अर्ब व्यापार घाटा देखिएको छ । चीनबाट दुई खर्ब १६ अर्बको वस्तु आयात भएकोमा नेपालले चीनतर्फ दुई अर्ब ११ करोडको वस्तु निर्यात गरेको छ । चीनसँग नेपालको व्यापार घाटा ६ खर्ब ५१ अर्ब पुगेको छ । 

 आयातमा २.८४ प्रतिशतको ह्रास
चालू आर्थिक वर्षको नौ महिनामा कुल वस्तु आयात २.८४ प्रतिशतले घटेको छ ।  भन्सार विभागका अनुसार यस अवधिमा ११ खर्ब ६७ अर्बको वस्तु आयात भएको छ । गत आवको चैतसम्म यस्तो आयात १२ खर्ब एक अर्ब थियो । यस अवधिमा सबैभन्दा धेरै एक खर्ब तीन अर्बको डिजेल आयात भएको छ । त्यस्तै, ५० अर्ब २५ करोडको पेट्रोल र ४१ अर्बबराबरको खाना पकाउने एलपिजी ग्यास आयात भएको छ । 

आयातमा ह्रास आएसँगै निर्यात पनि घटेको छ । यस अवधिमा निर्यात एक खर्ब १४ अर्ब पुगेको छ । यो गत आवको तुलनामा ३.६६ प्रतिशत कम हो । गत आर्थिक वर्षको नौ महिनामा एक खर्ब १८ अर्ब पुगेको थियो ।बढी निर्यात हुने वस्तुमा कार्पेट र गलैँचा अग्रस्थानमा छ । यस अवधिमा सात अर्ब ८१ करोडको गलैँचा र ६ अर्ब २८ करोडको अलैँची निर्यात भएको छ । त्यसबाहेक फलामको पाता, स्टिल, जुस, धागो निर्यात भएको छ ।   

आयात र निर्यातमा देखिएको असन्तुलनले व्यापार घाटा १० खर्ब ५३ अर्ब कायम भएको छ । यो गत आर्थिक वर्षको नौ महिनाको तुलनामा २.७५ प्रतिशत कम हो । गत आवमा १० खर्ब ८३ अर्ब व्यापार घाटा कायम थियो । आयात र निर्यातमा ह्रास आएसँगै कुल वैदेशिक व्यापारमा समेत कमी आएको छ । गत आर्थिक वर्षको चैतसम्म १३ खर्ब १९ अर्ब कायम भएको वैदेशिक व्यापार घटेर चालू आवको सोही अवधिमा १२ खर्ब ८१ अर्ब कायम भएको छ । 

 ५२ करोड थान लाइटर आयात 
संख्यात्मक हिसाबले सबैभन्दा बढी पकेट लाइटर आयात भएको देखिन्छ । नौ महिनामा ५२ करोड पाँच लाख १५ हजार सात सय ९५ थान लाइटर आयात भएको छ । २३ करोड ६२ लाख थान पेन तथा पेन्सिल होल्डर आयात भएको छ । १७ करोड थान सेनेटरी प्याड र १० करोड थान डाइपर आयात भएको छ । किलोमा सबैभन्दा बढी खाना पकाउने ग्यास आयात भएको छ । त्यस्तै, फलाम तथा फलामजन्य वस्तु, भटमासको पिना, मकै, धान, चामल, रासायनिक मल, बिटुमिन, स्याउ बढी आयात भएका छन् । ग्राममा सबैभन्दा बढी सुनचाँदी र गरगहना आयात भएको छ ।

ad
ad