सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद गोपालबहादुर बमले छाउगोठ भत्काइएका कर्णाली र सुदूरपश्चिम प्रदेशका महिलाको अवस्थाका विषयमा बुझ्नुपर्ने बताएका छन् ।
सरकारले सुरु गरेको छाउगोठ भत्काउने अभियानमा समर्थन जनाउँदै उनले छाउगोठ भत्काएपछि ती क्षेत्रका महिलाको अवस्था कस्तो छ ? भन्ने बुझ्न सरकारसँग आग्रह गरे ।
सरकार र अभियानकर्ताहरुले छलफल, सेमिनार गरे पनि त्यहाँको वास्तविक समस्याको विषयमा छलफल नभएको उनले बताए । कर्णालीका महिलाले भोगेका पीडा, छाउगोठ बस्नुका बाध्यता के हुन् ? किन छाउगोठ बने ? भन्ने कुराको अध्ययन गर्न उनले आग्रह गरे ।
गृहमन्त्रालयले सयौँ छाउगोठ भत्काएपछि त्यहाँका महिलाले अहिले के गरिरहेका छन् भन्ने बुझ्न आवश्यक रहेको उनले औंल्याए ।
कर्णालीमा बन्ने घरहरुको अवस्थाका कारणले पनि छाउगोठ छुट्टै बन्ने गरेको उनले बताए । २ तले घरमा एक तलामा गाइगोरु र अर्को एक तलामा भान्सा, पुजाकोठा, सासु ससुरा र छोरा बुहारी बस्नुपर्ने बाध्यता रहेको उनको भनाई थियो ।
‘भूकम्पका बेला धेरै क्षति भयो, पूनर्निमाणको अभियान चलाइयो,’ उनले भने, ‘अब भत्केका छाउगोठका मान्छेहरुको घरको अवस्था के छ ? त्यसको अवस्था बुझेर । जसको एउटै कोठा छ त्यसको घर बनाउने अभियान चलाउने कि नचलाउने सरकारले ?’
उनले अभियानकर्ताहरुलाई ठूला होटलमा कार्यक्रम गरेर मात्रै नहुने भएकाले त्यहाँको वास्तविकता बुझ्न पनि आग्रह गरे ।