१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ माघ ७ मंगलबार ०९:४९:००
Read Time : > 1 मिनेट
विश्व

चीनमा देखिएको नयाँ भाइरस दक्षिण कोरिया र थाइल्यान्डसम्म

Read Time : > 1 मिनेट
२०७६ माघ ७ मंगलबार ०९:४९:००

चीनमा एउटा रहस्यमय भाइरसका कारण दुई दिनमा थप १३९ जना बिरामी भएका छन् । सुरुमा वुहानमा देखिएको सो भाइरस चीनका अन्य सहरमा पनि फैलिएको छ । भाइरसका कारण तीनजनाको मृत्यु भइसकेको छ भने दक्षिण कोरिया र थाइल्यान्डमा पनि त्यसको संक्रमण देखिएको छ । बेइजिङमा दुईजनामा भाइरस देखिएको छ भने दक्षिणी प्रान्त सेन्जेनमा एकजनाको मृत्यु भएको छ । रहस्यमय भाइरसबाट संक्रमण हुनेको संख्या अहिलेसम्म दुई सय नाघेको छ भने तीनजनाको मृत्यु भएको छ । नयाँ भाइरसबाट संक्रमण हुनेको संख्या सरकारले सार्वजनिक गरेको तथ्यांकभन्दा निकै बढी हुन सक्ने विज्ञहरूले बताएका छन् ।

चिनियाँ नयाँ वर्षमा बिदा मनाउने क्रममा लाखौँ चिनियाँ नागरिकले विभिन्न देशको भ्रमण गर्ने भएकाले भाइरसको संक्रमण अन्य छिमेकी मुलुकमा पनि सर्ने चिन्ता विज्ञहरूले गरेका छन् । पहिलोपटक डिसेम्बरमा वुहानमा देखापरेको संक्रमणमा कोरोना भाइरस देखिएको स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन् । विज्ञहरूले सो भाइरसबाट निमोनियाको संक्रमण देखिने बताउँदै आएका छन् । सी फुड बिक्री हुने एउटा बजारबाट नयाँ भाइरस देखिएको विश्वास गरिए पनि यसको विस्तार कसरी भयो भन्नेबारेमा स्वास्थ्य अधिकारी अझै अन्योलमा छन् ।

अन्य देशमा फैलिन सुरु
दक्षिण कोरियामा सोमबार पहिलोपटक सो भाइरस देखिएको थियो । त्यसपछि थाइल्यान्डमा दुईजनामा र जापानमा एकजनामा सो भाइरस देखिएको थियो । वुहानबाट फर्किएकी ३५ वर्षीया महिला ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्याका कारण स्थानीय अस्पतालमा भर्ना भएको कोरियाली अधिकारीहरूले जनाएका छन् । उनलाई अलग्गै राखेर एउटा स्थानीय अस्पतालमा उपचार गरिएको छ । सिंगापुर र हङकङले वुहानबाट आउने हवाई यात्रुको कडा परीक्षण गरेको छ । त्यस्तै, अमेरिकाको सान फ्रान्सिस्को, लस एन्जल्स र न्युयोर्क विमानस्थलमा पनि चीनबाट आउने यात्रुको परीक्षण सुरु भएको छ । पछिल्लोपटक फैलिएको नयाँ भाइरसले कुनै वेला महामारीको रूप लिएको सार्सलाई सम्झाएको छ । सन् २००२ मा सार्सबाट एसियामा ७७४ जनाको मृत्यु भएको थियो ।

चीनमा कति संक्रमित ?
भाइरस संक्रमणको मुख्य केन्द्र बनेको मध्य चिनियाँ सहर वुहानमा १३६ जनामा संक्रमण देखिएको र भाइरसका कारण अर्का एकजनाको मृत्यु भएको छ । वुहानमा सो भाइरसबाट मृत्यु हुने तीनजना पुुगेका छन् । आइतबारसम्म १७० जनाको वुहानका विभिन्न अस्पतलामा उपचार भइरहेको छ । तीमध्ये नौजनाको अवस्था गम्भीर छ । वुहान भ्रमण गरी बेइजिङ फर्किएका दुईजनाको निमोनियाको उपचार भएको छ । त्यस्तै, हुवानको भ्रमण गरी फर्किएका ६६ वर्षीय वृद्धमा पनि सो भाइरसको संक्रमण देखिएको जनाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सो भाइरसलाई अझै पनि नियन्त्रण गर्न सकिने बताउँदै त्यसबारे सूक्ष्म निगरानी आवश्यक भएको बताएका छन् । 

के हो कोरोना भाइरस ?
कोरोना भाइरस भाइरसहरूको ठूलो समूहको एउटा सदस्य हो । योसँगै मानिसलाई संक्रमित गर्ने भाइरसको संख्या सात पुगेको छ । पछिल्लोपटक चीनमा वुहानको सिफुड र वन्यजन्तुसम्बन्धी बजारको संक्रमित जनावरमा भाइरस देखिएको चिनियाँ विज्ञहरूले बताएका छन् । कोरोना भाइरसका कारण रुघाखोकी लाग्छ । यो भाइरसबाट जोगिन जनावरको मासु र पशुपक्षीको अन्डा राम्रोसँग पकाएर खानुपर्ने र रुघाखोकीको संकेत देखिएका बिरामीसँग नजिकै बस्न नहुने विज्ञहरूले सुझाब दिएका छन् ।