१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
केशव गुरुङ गोरखा
२०७६ पौष ७ सोमबार १२:००:००
Read Time : < 1 मिनेट
प्रदेश

एकीकृत बस्ती पुनर्निर्माणको जिम्मेवारी सकेर बाहिरियो नेपाली सेना 

Read Time : < 1 मिनेट
केशव गुरुङ गोरखा
२०७६ पौष ७ सोमबार १२:००:००

धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुम्पी पाखामा निमार्णधीन एकीकृत बस्ती पुनर्निर्माणबाट नेपाली सेना बाहिरिएको छ । सेनाले आफ्नो जिम्मेवारीमा रहेको काम सकेर बाहिरिएको हो । गैरआवासीय नेपाल संघ (एनआरएन) ले बस्ती पुनर्निर्माणको जिम्मा लिएसँगै सेनाको टोली खटिँदै आएको थियो ।

रणसिं दलका गणपति उज्वल केसीका अनुसार बस्ती पुनर्निर्माणका लागि एनआरएनले सेनासँग सहयोग मागेको थियो । सोहीअनुसार जग हाल्नेदेखि गाह्रो लगाउने, छाना हाल्नेलगायत काममा सहयोग गरेको उनको भनाइ छ । बस्ती पुनर्निर्माणमा सेनाले करिब आठ करोड रकमबराबरको श्रमदान गरेको उनले बताए । गत असारसम्म श्रमदान गर्दै आएको सेनाले त्यसयता बस्तीमा सुरक्षा दिने काम गर्दै आएका थियो । १५ मंसिर ०७३ बाट सेना बस्ती पुनर्निर्माण खटिएको केसीले जानकारी दिए । एकीकृत नमुना बस्तीबाट सेना बाहिरिएसँगै बस्तीको सुरक्षाका लागि प्रहरी खटिएको छ । 

गुप्सीपाखामा पाँच सय ७३ घर बन्दै
गुप्सीपाखामा एनआरएनएले पाँच सय ७३ घर बनाउँदै छ । एकीकृन नमुना बस्ती हिउँले ढाकेपछि बस्ती पुनर्निर्माण प्रभावित भएको एनआरएनका साइट म्यानेजर लक्ष्मण अर्यालले बताए । उनले भने, ‘हिउँले पूरै बस्ती ढाकेको छ, बस्तीमा डेढ फिट बाक्लो हिउँ परेको छ, काम गर्न सक्ने अवस्था छैन । हिउँ पग्लिन केही दिन लाग्छ ।’ अर्यालयका अनुसार घर निर्माण ९० प्रतिशत सम्पन्न भएको छ । बस्ती पुनर्निर्माणका लागि ८० जना कामदार खटिएका छन् । चिसो बढेसँगै काम गर्न सक्ने अवस्था नभएपछि उनीहरू फर्किएको उनले बताए । मौसममा सुधार आए काम सुरु गर्ने अर्यालले जानकारी दिए । एकीकृत बस्ती निर्माण ०७३ सालबाट सुरु भएको थियो । बस्ती पुनर्निर्माणमा भइरहेको ढिलाइले लाप्राकका भूकम्पपीडित जोखिमयुक्त पुरानै बस्तीमा बस्दै आएका छन् ।