१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० पौष १६ सोमबार १२:५८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

गैँडाकोट हाफ म्याराथनको उपाधि नेपाली सेनाका रोकायालाई

Read Time : < 1 मिनेट
२०८० पौष १६ सोमबार १२:५८:००

गैँडाकोट हाफ म्याराथनको उपाधि नेपाली सेनाका धावक राजन रोकायाले जितेका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा विजय फाउन्डेशनद्वारा आयोजित हाफ म्याराथनको २१ किलोमिटर दूरी उनले एक घन्टा तीन मिनेट पाँच सेकेन्डमा पूरा गरे।

एक घन्टा तीन मिनेट ३० सेकेन्डमा दौड पूरा गर्ने नेपाली सेनाकै धावक नरेन्द्रसिंह रावत दोस्रो र एक घन्टा पाँच मिनेट ५२ सेकेन्डमा दूरी पूरा गर्ने काठमाडौं धापासीका अजितकुमार यादव तेस्रो भए। विजयीहरूले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन्।

आयोजक विजय फाउन्डेसनका अध्यक्ष त्रिलोचन सापकोटाका अनुसार निर्धारित दूरी एक घन्टा २७ मिनेट १४ सेकेन्डमा पूरा गर्ने सशस्त्र प्रहरी बलकी सीमा चौधरी महिलातर्फ पहिलो हुँदै रु. २५ हजार नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गरिन्। हाफ म्याराथनमा सहभागीमध्ये उत्कृष्ट हुने सातजनालाई समेत नगद रु. पाँच हजारसहित पुरस्कृत गरिएको थियो भने निर्धारित दूरी पूरा गर्ने सबै धावकलाई मेडल प्रदान गरिएको थियो। उनका अनुसार प्रतियोगितामा दुई सय ५० जनाले सहभागिता जनाएका थिए।

गैँडाकोट हाफ म्याराथनअन्तर्गत विद्यार्थीमैत्री पाँच किलोमिटर दौड प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)का प्रेमलाल कोहार पहिलो, तनहुँ ऋषिङका अमृत विक दोस्रो र काठमाडौं चन्द्रागिरिका अनुज महत तेस्रो हुँदै क्रमशः १० हजार, पाँच हजार र तीन हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे। यसमा आठ कक्षादेखि १० कक्षासम्मका एक सय ८० विद्यार्थीले सहभागिता जनाएका थिए।

विजेतालाई गैँडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारी,  अन्तर्राष्ट्रिय म्याराथन धावक वैकुण्ठ मानन्धर, विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले पुरस्कार वितरण गरेका थिए। गैँडाकोटको नाम अन्तर्राष्ट्रियस्तरमा पहिचान गराउन प्रतियोगिता आयोजना गरिएको बताउँदै अध्यक्ष सापकोटाले अब हरेक वर्षको पुस १५ गतेका दिन प्रतियोगिता गरिने बताए।