१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
मीना बुढाथोकी सल्यान
२०७६ मङ्सिर २९ आइतबार ११:२५:००
Read Time : > 1 मिनेट
अर्थ

व्यावसायिक च्याउ खेतीमा बादी महिला 

Read Time : > 1 मिनेट
मीना बुढाथोकी सल्यान
२०७६ मङ्सिर २९ आइतबार ११:२५:००

जिल्लाको शारदा नगरपालिका–१ शान्तिनगरकी पुष्पा बादीले व्यावसायिक च्याउ खेती गर्न थालेको एक वर्ष भयो । उनले यसै खेतीबाट मनग्गे आम्दानी गर्न थालेकी छन् ।च्याउ खेती थाल्नुअघि उनले गिट्टी कुटेर गुजारा आफ्नो जीविकोपर्जन गर्दै आएकी थिइन् । ‘बालुवा संकलन र गिट्टी कुट्दा मुस्किलले दिनमा २ सय रुपैयाँ कमाइ हुन्छ अनि दुःख धेरै भए पनि कम ज्याला पाउँदा समस्यामा हुन्छ,’ उनले थपिन् ‘च्याउ प्रतिकिलो तीन सयसम्म बिक्री हुँदा एकै सिजनमा ४० हजारसम्म कमाउन थालेका छौँ ।’

पुष्पा जस्तै शारदा नगरपालिका शान्तिनगरमा बस्दै आएका २९ घर बादी महिलामध्ये आधा दर्जनभन्दा बढीले व्यावसायिक रूपमा च्याउ खेती सुरु गरेका छन् । च्याउ खेतीमा लागेपछि दैनिक जीविकोपार्जन गर्न सजिलो भएको उनीहरू बताउँछन् । 

जग्गा अभावमा सुत्ने कोठामै च्याउ खेती
च्याउ खेतीलाई व्यावसायिक रूपमा सुरु गरेका बादी समुदायलाई भने जग्गाको अभाव छ । उनीहरूले घरभित्रै च्याउ खेती गर्न थालेका छन् । च्याउ खेती गर्न टहरा बनाउनुपर्छ । ‘जग्गा नभएपछि आफ्नै घरको सुत्ने कोठामा च्याउ खेती सुरु गरेका हौँ,’ पुष्पाले भनिन्, ‘अहिले सुत्ने कोठामा च्याउ खेती छ, हामी भने भान्सामा सुत्छौँ ।’

यहाँका बादी समुदायले जग्गा नभएका कारण वषौँदेखि गिट्टी कुटेर तथा नदी किनारमा बालुवा चालेर जीविका चलाउँदै आएका थिए । सम्पतिको नाममा सुकुम्वासी आयोगको सहयोगमा बनेको दुईकोठे घर छ । त्यहीँ घरको एउटा कोठामा च्याउ खेती गरेर आम्दानी गर्न थालेका छौँ । 

उत्पादन गरिएको च्याउले छोराछोरीको पढाइ खर्च जुटाउन बादी महिलालाई सहज भएको उनले बताइन् । ‘अहिले च्याउका ४० पोका राखेकी छु,’ उनले भनिन् ‘परम्परागत पेसा संकटमा परेपछि मजदुरी गर्ने, गिट्टी कुट्ने र बालुवा संकलन गर्ने कामले घरखर्च चलाउन गाह्रो भयो ।’ अहिले भने च्याउ खेतीले घरखर्च चलाउन सहज भएको उनले बताइन् । 

आधा दर्जन बादी महिलाले च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि अरूले पनि यो व्यवसाय गर्न रहर गरेका छन् । ‘अहिले च्याउ खेती गर्न २९ घरले रहर गरेका छन्,’ स्थानीय सिर्जना बादीले भनिन्, ‘तर जग्गा छैन के गर्नु ।’ परिवार ठूलो भएकाले कोठाको कमी भएको बताउँदै उनले कसैले टहरा बनाउन सहयोग गरे जग्गा भाडामा लिएर च्याउ खेती गर्ने  बताइन् । कम लगानी र परिश्रममा राम्रो आम्दानी हुन थालेपछि च्याउ खेतीमा आकर्षण बढेको उनले बताइन् । 

बजारको छैन समस्या
बादी महिलाले उत्पादित च्याउलाई स्थानीय बजारमा बेच्दै आएका छन् । उत्पादित च्याउ श्रीनगर र खलंगामा बेच्दै आएका छन् । ‘बजारको समस्या छैन,’ पुष्पा बादीले भनिन्, ‘च्याउ खरिद गर्न ग्राहक घरमै आउने गर्छन् ।’ बिक्री नभएमा च्याउको सुकुटी बन्ने कुरा आफूले थाहा पाएको उनले बताइन् । तर, अहिलेसम्म बिक्री नभएको भने छैन । ‘छेउमै बजार भएकाले कति त घरमै आएर लैजान्छन्,’ उनले थपिन्, ‘एकैपटक धेरै उत्पादन भएका वेला बजारसम्म बोकेर लैजान्छौँ ।’