
वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउखेतीमा रु. एक करोड लगानी गरेका छन्।
युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका– १० केवलपुरमा च्याउखेती सुरु गरेका हुन्।
युएईको कन्सल्टेन्ट कम्पनीमा मासिक झन्डै रु. एक लाख कमाइ भइरहे पनि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ च्याउखेती सुरु गरेको उनले बताए।
‘अर्काको देशमा अरूले दिएको रोजगारीले जति नै कमाइ भए पनि नेपालमै कृषिखेती गर्नुपर्छ भन्ने पारिवारिक सल्लाहअनुसार च्याउखेती सुरु गरिएको हो,’ पौडेल भन्छन्, ‘चार वर्षअघि सुरु गरेको च्याउले राम्रै आम्दानी दिइरहेको छ।’
०७६ मा काठमाडौंको नागार्जुन नगरपालिका– ५ आमकोटबाट साझेदारीमा च्याउखेती गर्न सुरु गरेका पौडेलले धादिङको केवलपुरमा ३० रोपनी जग्गामा च्याउखेती गरिरहेका छन्। अहिले ४५ च्याउ घर छन् । दुई रोपनीमा ग्रिनहाउस छ।
१० रोपनी पौडेलको आफ्नै जग्गा हो, थप २० रोपनी जग्गा वार्षिक रु. ७५ हजार भाडामा लिएर च्याउखेतीमा मात्रै एक करोड लगानी भएको छ उनको।
अहिले दैनिक पाँच सय किलो च्याउ कालीमाटी फलफूल तथा तरकारी बजारमा पुग्छ, सरदर महिनामा २० दिन मात्र च्याउ बिक्री गर्दा १० हजार किलो च्याउ बिक्री हुँदै आएको छ, एक वर्षमा एक लाख २० हजार किलो च्याउ बिक्री गर्दै आएको उनको भनाइ छ।
सदर प्रतिकिलो रु. एक सय २० मा बिक्री गर्दा वार्षिक रु. एक करोड ४४ लाखको कारोबार हुने उनको अनुभव छ। जलेश्वर कृषि च्याउ तथा पशुपक्षी फार्म प्रालिमार्फत च्याउ बजारसम्म लैजान उनले रु. २५ लाखमा गाडी किनेका छन्। तीनजना पूर्णकालीन र ६ जना आंशिक गरी नौजनालाई उनले रोजगारीसमेत दिएका छन्।
पौडेल भन्छन्, ‘हिजो म अर्काको देशमा अरूकै काम गरेर आएको हुँ, आज आफ्नै नेपाली दाजुभाइलाई गाउँठाउँमा काम दिन सक्ने भएको छु।’
उनले दुईवटा ग्रिनहाउस बनाउन रु. ६ लाख अनुदान सरकारबाट लिएका छन्। काम गर्ने मजदुर खर्च, ब्याज, कच्चापदार्थ खर्च, औषधि, उपचार र व्यवस्थापन खर्च कट्टी गरेर मासिक रु. एक लाख २० हजार बराबर कमाइ हुने उनको भनाइ छ।
‘कमाएको हिसाबले विदेशमा मासिक रु. ७५ हजार आउँथ्यो । विनालगानीको कमाइ ठीकै लाग्थ्यो, अहिले कम्पनीमा भएको लगानी रु. एक करोडमध्ये ५० लाख ऋणमा छ, घरपरिवारसँगै बसेर कृषिमा राज्यलाई योगदान गर्न पाएको छु, यसमै खुसी छु,’ उनले भने।
जाडो मौसममा तीन किलो र गर्मी मौसममा दुई किलो परालको पोका बनाएर बिउ उमार्ने गरिन्छ। च्याउ उत्पादनका लागि पराल तयार पार्नेदेखि ग्रिनहाउसमा लगेर पोका झुन्ड्याउने काम गरेबापत प्रतिपोका रु. ३२ मजदुरले पाउँछन्। यसरी काम गर्दा एक मजदुरले सरदर रु. एक हजार दैनिक पाउँछन्। रासस