१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ श्रावण २५ शनिबार १०:३९:००
Read Time : > 8 मिनेट
खेलकुद

यस्तो हुँदै छ सागको तयारी 

हरेक दुई वर्षमा हुनुपर्ने साग २० वर्षयता चारपटक मात्र

Read Time : > 8 मिनेट
२०७६ श्रावण २५ शनिबार १०:३९:००

१५ मंसिरदेखि काठमाडौंमा १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) हुँदै छ । १० दिनसम्म चल्ने प्रतियोगिता नेपालमा २० वर्षपछि हुन लागेको हो । प्रतियोगिताका २७ वटै खेलका खेलाडी अहिले अभ्यासमा छन् । भारतमा भएको १२औँ सागमा तीन गोल्ड मेडल मात्रै जितेको नेपाललाई यसपालि घरेलु मैदानमा ठूलो दबाब छ । हरेक दुई वर्षमा हुनुपर्ने प्रतियोगिता २० वर्षमा चारपटक मात्रै भएको छ । करिब चार महिना बाँकी छँदा कस्तो छ सागको तयारी ? प्रकाश कँडेलको रिपोर्ट :

एक हजार दुई सय २२ खेलाडी प्रशिक्षणमा

सागका लागि १२ सय २२ खेलाडी प्रशिक्षणमा व्यस्त छन् । १ साउनबाटै प्रशिक्षणको औपचारिक उद्घाटन भए पनि सबै खेलको प्रशिक्षण १६ साउनदेखि मात्रै थालिएको छ । साग टिम तयारी समितिका निर्देशक महेन्द्रकुमार राईले खेलाडीलाई एक सय ८० प्रशिक्षकले प्रशिक्षण गराइरहेको बताए । २७ खेलमा ६ सय ४४ खेलाडी बन्द प्रशिक्षणबाट फाइनल चरणका लागि छनोट हुनेछन् । जसमा ३३२ पुरुष र ३१४ महिला रहनेछन् । क्रिकेटको प्रशिक्षण भने यही हप्तादेखि सुरु हुँदै छ ।

संरचना निर्माणमा मात्रै यस वर्ष ४९ करोड

राष्ट्रिय खेलकुद परिषद्ले चालू वर्षमा ४९ करोडमा सागका लागि संरचना निर्माण गर्दै छ । परिषद्का वरिष्ठ इन्जिनियर अरुण उपाध्यायका अनुसार गत वर्ष भएको आठौँ राष्ट्रिय खेलकुद र साग तयारीका लागि ६८ करोडका संरचना बनाइएका थिए । 

सातदोबाटोका तेक्वान्दो, कराते हल र स्क्वास कोर्ट, मूलपानीको माथिल्लो क्रिकेट मैदान, कीर्तिपुर मैदान, सातदोबाटो तथा पोखराका लनटेनिस कोर्ट, राखेप कभर्डहल र पोखरा कभर्डहलको निर्माण पूरा भइसकेको छ । त्यस्तै, दशरथ रंगशाला र सातदोबाटोमा हिटिङ स्विमिङ पुल निर्माण सकिने चरणमा छ ।  

‘गत वर्ष र यस वर्ष गरी एक अर्ब १७ करोडका संरचना तयार हुँदै छन्,’ उपाध्यायले भने, ‘प्रदेश ५ मा अधिकांश संरचना बनेका छन् । काठमाडौं र पोखरामा पनि बनिरहेका छन् । १५ कात्तिकसम्म सम्पूर्ण संरचना तयार हुन्छन् । संरचनाकै कारण सागमा कुनै कठिनाइ हुँदैन ।’ 

राखेप सदस्यसचिव रमेश सिलवाल भन्छन्, 'सागका लागि कुनै समस्या छैन'


सागको तयारी राम्रोसँग अघि बढिरहेको छ । भौतिक संरचना, खेलाडीको तयारी र साग उद्घाटनदेखि समापनसम्मको योजना तीन पाटोबाट हेर्नुपर्छ । यी सबै योजनाअनुसार अघि बढिरहेका छन् । समस्या आउने सम्भावना देखिँदैन । भौतिक पूर्वाधार धेरै बनिसकेका छन् । तोकिएकै समयमा साग सम्पन्न गर्छौँ ।

कुन खेलको तयारी कस्तो ?

प्याराग्लाइडिङ : एसियाडमा ऐतिहासिक रजत पदक जिताएर नेपाललाई पदकविहीन हुनबाट जोगाएको प्याराग्लाइडिङ सागमा पनि वर्चस्व स्थापनाको ध्याउन्नमा छ । प्याराग्लाइडिङका महासचिव शैलेन्द्र राउत यसपटक वैशाखबाटै तयारी गरेकाले थप बलियो टिम तयार हुने दाबी गर्छन् ।  

कराते : कराते ११औँ सागपछि पुनः समावेश छ ।  त्यतिखेर करातेले तीन स्वर्ण जितेको थियो । अहिले बन्द प्रशिक्षणमा १०८ खेलाडी अभ्यासरत छन् । ‘प्रशिक्षणमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेका खेलाडीले मौका पाएको यो पहिलो अवसर हो । त्यसैले सबै खेलाडीमा निकै लगाव देखिएको छ,’ राखेपका सहायक प्रमुख प्रशिक्षक दीपक श्रेष्ठले भने । 

उसु : १२औँ सागमा स्वर्ण दिलाएको उसुको अभ्यास दशरथ रंगशालामा भइरहेको छ । वर्षा हुँदा केही समस्या भए पनि अभ्यास राम्रो चलिरहेको मुख्य प्रशिक्षक अम्बरकुमार थिङले बताए । ‘खुला ठाउँमा पानीले केही दुःख दिए पनि निरन्तर अभ्यास गरिरहेका छौँ,’ उनले भने । अहिले क्लोज क्याम्पमा ४४ खेलाडी छन् । फाइनल छनोटपछि केही समयका लागि अभ्यास गर्न चीन जान सकिने उनले बताए ।

तेक्वान्दो : इतिहास राम्रो भए पनि तेक्वान्दो पछिल्लो समय खस्किएको छ । यद्यपि, यसपटक इतिहास दोहोर्‍याउनेमा विश्वस्त छन् प्रशिक्षक नोर्बु लामा । ‘यसपटक घरेलु मैदानमा फाइदा उठाउनुपर्छ । यो तयारी लामो मान्न त सकिन्न, तर पछिल्लो डेढ महिनामा राम्रो तयारी भएको छ ।’ त्यस्तै, तेक्वान्दोकै प्रशिक्षक दीपक विष्ट खेलाडीहरूको मिहिनेत देख्दा नतिजामा आउनेमा विश्वस्त छन् । ‘खेलाडीमा मेडल ल्याउन सक्ने क्षमता छ । अबको तीन महिनामा खेलाडीमा अझ निखारता आउँछ,’ उनले भने ।

जुडो : अभ्यासमा रहेका जुडोका खेलाडीलाई २० साउनदेखि होटेलमै राखेर प्रशिक्षण दिने तयारी छ । ३६ खेलाडी अभ्यासमा रहेको र फाइनल चरणमा पुरुष र महिलातर्फ नौ–नौ खेलाडी छनोट हुने मुख्य प्रशिक्षक वीरेन्द्र रञ्जितले बताए । भदौ अन्तिमसम्म फाइनल छनोट गर्ने योजना उनले सुनाए । वैदेशिक प्रशिक्षणका लागि चीन र भारतमा अभ्यास गराउने कुरा चलिरहेको र विदेशबाट कोच ल्याउनेबारे पनि छलफल भइरहेको बताए । 

फुटबल : राष्ट्रिय टिम विश्वकपको दोस्रो चरणको तयारीमा व्यस्त छ । जहाँ यू–२३ का धेरै खेलाडी सहभागी छन् । त्यसबाहेक ३०–३५ जना खेलाडी सागको प्रशिक्षणमा रहेको प्रशिक्षक बालगोपाल महर्जन बताउँछन् । महर्जनले भने, ‘अहिले प्रशिक्षण सुरु गरिएको छ । तर, धेरै खेलाडी विश्वकपको दोस्रो चरणको क्लोज क्याम्पमा रहेकाले बाँकी खेलाडीलाई समेटेर प्रशिक्षण भइरहेको छ । घरेलु मैदानमा साग जित्ने लक्ष्यसहित अघि बढ्छौँ ।’

एथलेटिक्स : एथलेटिक्सका खेलाडी भद्रकाली र लगनखेलमा अभ्यास गरिरहेका छन् । मुख्य प्रशिक्षक चन्द्र गुरुङ अभ्यास राम्रो चलिरहेको बताउँछन् । ‘हाम्रो अभ्यास अहिले लगनखेल र भद्रकालीमा भइरहेको छ । पहिलो चरणको प्रशिक्षणमा ६१ जना छन् । सबैले मिहिनेत गरिरहेका छन्,’ उनले भने, ‘हामीसँग तीन महिना बाँकी छ । अल्टिच्युड र मौसमका हिसाबले काठमाडौंमै अभ्यास गर्न अनुकूल छ ।’ 

ब्याडमिन्टन : अहिले अनकोर्ट र अफकोर्ट तयारीमा व्यस्त छ । मुख्य प्रशिक्षक सुदीप योञ्जन यसै साताबाट ३४ खेलाडीले अभ्यास गर्ने बताउँछन् । अहिले १६ खेलाडी अभ्यासरत छन् । १० भदौभित्र फाइनल छनोट हुने उनले बताए । राखेप कभर्डहलमा हप्तामा तीन दिन अनकोर्ट प्राक्टिसमा रहँदा तीन दिन अफकोर्ट अभ्यास भइरहेको उनले सुनाए । दुई दिन जिम र एक दिन रनिङ गराउने गरेको उनको भनाइ छ । 

फाइनल प्रतियोगिताका लागि १० पुरुष र १० महिला छनोट हुनेछन् । यसबीचमा महत्वपूर्ण प्रतियोगिता हुने भएकाले एक्सपोज राम्रो हुने योञ्जनले बताए । ‘दुई महिनाभित्र नेपालमै दुई–तीनवटा महत्वपूर्ण खेल छन् । त्यस्तै, सेप्टेम्बरमा अस्ट्रेलियामा प्रतियोगिता खेल्नकै लागि चार पुरुष र दुई महिला त्यसतर्फ जानेछन् । त्यसपछि नेपालमै २० देशको सहभागितामा इन्टरनेसनल सिरिज हुने कार्यतालिको छ । नोभेम्बरमा नेपाल इन्टरनेसनल च्यालेन्ज आयोजना हुँदै छ,’ उनले भने, ‘यसै साताबाट खेलाडीलाई होटेलमा राखेर अभ्यास गराइन्छ ।’ सागमा ब्याडमिन्टनको सात इभेन्टमा प्रतिस्पर्धा हुनेछ । 

टेनिस : नवनिर्मित टेनिस कोर्टमा अहिले १४ खेलाडी अभ्यासरत रहेका छन् । त्यसबाहेक पाँचजना खेलाडी अभ्यासकै लागि विदेशमा छन् । एकजना अस्ट्रेलिया, दुईजना अमेरिका, एकजना भारतको अहमदाबादमा अभ्यास गरिरहेको प्रशिक्षक रेणुदेवी कोन्डाले बताइन् । उनका अनुसार राजधानीबाहिरबाट आएका खेलाडी होटेलमा बसेको र काठमाडौंका घरबाटै अभ्यासमा आइरहेका छन् । टेनिसमा यसपटक मेडलको अपेक्षा राखिएको उनले बताइन् । टेनिसबाट ६–६ जना खेलाडी सहभागी रहनेछन् । फाइनल छनोटका लागि विदेशबाट प्रशिक्षक ल्याउने तयारी भइरहेको कोन्डाले बताइन् । 

टेबलटेनिस : ३३ खेलाडी लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा अभ्यास गरिरहेका छन् । १७ पुरुष र १६ महिला खेलाडीलाई पाँच प्रशिक्षकले प्रशिक्षण गराइरहेका छन् । उनीहरू होटेलमै बसेर अभ्यास गरिरहेको प्रशिक्षक विनोद शाक्यले बताए । ‘अहिले राम्रो तयारी भइरहेको छ । सागका लागि २० खेलाडी छनोट हुनेछन्,’ उनले भने । साथै केही समयपछि हुने एसियन च्याम्पियनसिपमा भाग लिने ६ खेलाडीको पनि छनोट भइरहेको छ । प्रतियोगिता इन्डोनेसियामा हुँदै छ । त्यस्तै, फाइनल छनोटपछि अभ्यासका लागि असोजमा दक्षिण कोरिया, चीन जाने विषयमा छलफल भइरहेको शाक्यले बताए । 

स्क्वास : स्क्वासमा सुरुबाटै सीमित मात्र खेलाडी क्लोज क्याम्पमा छन् । प्रशिक्षक हिराबहादुर थापाले अहिले १० खेलाडीले अभ्यास गरिरहेको बताए । आठ खेलाडी सागका लागि छनोट हुनेछन् । यबीचमा स्क्वास कोर्टको निर्माण कार्य हुने भएकाले केही दिनपछि टिम अभ्यासका लागि मलेसिया प्रस्थान गर्ने तयारीमा रहेको थापाले बताए । ‘अभ्यासका लागि मलेसिया जाने प्रयास गरिरहेका छौँ । सम्भवतः एक साताभित्र हामी मलेसिया जानेछौँ । त्यहाँ अभ्यास गरेर नोभेम्बरमा फर्किन्छौँ,’ उनले भने, ‘दुई इभेन्टमा स्क्वासले प्रतिस्पर्धा गर्नेछ ।’

सुटिङ : सुटिङका २४ खेलाडीले अभ्यास गरिरहेका छन् । आर्मी सुटिङ रेन्ज लगनखेलमा दुई दिन र बाँकी दिन सातदोबाटोमा अभ्यास गर्ने गरेका छन् । प्रशिक्षक उपेन्द्र थापाले साउनको अन्तिममा खुला प्रतियोगितामातर्फ खेलाडी छनोट गरिने बताए । ‘अहिले २४ खेलाडी छन्, सागमा २४ जना नै सहभागी हुन्छन्,’ उनले भने । अहिले सातदोबाटोमै उत्कृष्ट सुटिङ रेन्ज रहेकाले अभ्यासका लागि विदेश जानु नपर्ने उनले बताए ।

बास्केटबल : बास्केटबल टिम अहिले धरानमा अभ्यासरत छ । तीव्र गतिमा अभ्यास भइरहेको प्रशिक्षक बिकु महर्जनले बताए । ‘हामीले तयारी गरिरहेका छौँ । महिला र पुरुष दुवै विधामा ३२–३२ खेलाडी सहभागी भएर अभ्यास भइरहेको छ,’ उनले भनिन् । दुई इभेन्टमा प्रतिस्पर्धा हुने भएकाले कुल १६–१६ खेलाडी फाइनलमा छनोट हुनेछन् । पर्याप्त समय भएकाले वैदेशिक प्रशिक्षणमा जानुअघि टिम तयार हुनेछ । ‘एक महिना धरानमै अभ्यास गर्ने, त्यसपछि काठमाडौंमा केही समय अभ्यास गरेर थाइल्यान्ड जान सक्ने सम्भावना छ,’ महर्जनले भने । बास्केटबलमा थ्री बाई थ्री र फाइभ बाई फाइभ गरी दुई इभेन्टमा प्रतिस्पर्धा हुने बताए । 

गल्फ : गोकर्ण फरेस्ट क्लबमा गल्फका १० खेलाडीले अभ्यास गरिरहेका छन् । ‘सागलाई नै लक्षित गरेर अभ्यास गरिरहेका छौँ । खेलाडी छनोटअघि १० जना खेलाडी अभ्यासमा छन्,’ गल्फका महासचिव चन्द्रबहादुर राईले भने, ‘सागका लागि चार खेलाडी छनोट हुनेछन् ।’

फेन्सिङ : फेन्सिङ सागमा पहिलोपटक सहभागी गराइएको खेल हो । नेपालमा फेन्सिङको इतिहास धेरै लामो छैन । आयोजक राष्ट्रका रूपमा नेपालले सागमा यो खेल समेटेको छ । ‘नेपालमा सुरुवात भएको नौ–दश वर्ष भएको छ । यसबीचमा हामीले प्रगति गरेका छौँ । अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा दक्षिण एसियामा भारतपछि हामी छौँ,’ फेन्सिङका महासचिव सुजनलाल श्रेष्ठले बताए । 

अहिले महाराजगन्ज पुलिस एकेडेमीमा बिहान–बेलुका ३६ खेलाडी क्लोज क्याम्पमा अभ्यासरत छन् । सागका लागि २४ जना छनोट हुनेछन् । फाइनल छनोट भदौभित्र भइसक्ने श्रेष्ठले बताए । यस खेलमा १२ गोल्डमेडलका लागि प्रतिस्पर्धा हुनेछ । 

खो–खो : खो–खोले अहिले भुरीगाउँ बर्दियामा अभ्यास गरिरहेको छ । कुल ७० खेलाडीले अभ्यास गरिरहेको अध्यक्ष केशव गौतमले बताए । बिहान र बेलुका दुई समय अभ्यास भइरहेको उनले बताए । भारतबाट एक–दुई दिनमा प्रशिक्षक आएपछि टिम थप परिष्कृत हुने उनले बताए । एक महिनाभित्र दोस्रो चरणको छनोटमा २०–२० महिला र पुरुष खेलाडी छनोट हुने, १५ असोजसम्म अभ्यास गरेर दसैँ बिदा गर्ने र २३ गते काठमाडौंमा भेला भएर भारत जाने योजना सुनाए । भारतमा कात्तिक अन्तिमसम्म बढीभन्दा बढी खेल खेलाएर काठमाडौं फर्कने उनले बताए । यो खेल १२औँ सागदेखि समावेश भएको हो । 

भलिबल : भलिबलको पुरुष राष्ट्रिय टिम अहिले सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीमा छ । १४ खेलाडी सोही प्रतियोगिताको तयारीमा रहेको र त्यसअघि २५ खेलाडीलाई क्लोज क्याम्पमा राखेर प्रशिक्षण गरिएको मुख्य प्रशिक्षक सलिना श्रेष्ठले बताइन् । सेन्ट्रल जोन भलिबल सकिएपछि १४ जनालाई पनि केही साता अभ्यास गराउने योजना छ । भदौ अन्तिममा २५ बाट १८ खेलाडी छान्ने र वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड लैजाने तयारी रहेको श्रेष्ठले बताइन् । महिलातर्फ पनि अहिले २५ खेलाडी क्लोज क्याम्पमा रहेर अभ्यास गरिरहेका छन् । भदौसम्म सर्टलिस्ट हुने र फाइनल चरणका लागि १६ या १४ खेलाडी तय हुने प्रशिक्षक श्रेष्ठले बताइन् । 

क्रिकेट : क्रिकेट सागको क्लोज क्याम्प सुरु गर्ने तयारीमा छ । सागको क्लोज क्याम्प यसै साताबाट गर्ने योजना रहेको प्रशिक्षक जगत टमाटाले बताए । ‘यसै साताबाट प्रशिक्षण सुरु गर्नेछौँ । पहिलो चरणमा महिला र पुरुष गरी ३५–३५ खेलाडीको सहभागिता हुनेछ,’ टमाटाले भने । क्रिकेटमा टेस्ट नेसन्सलाई यू–२३ टिम र तीन सिनियर खेलाडी ल्याउने अवसर दिएको छ भने ननटेस्टलाई उमेर बाउन्ड्री नरहेको टमाटाले बताए । अब क्लोज क्याम्प सुरु भएपछि बिस्तारै महिला र पुरुष दुवैतर्फ खेलाडी सर्टलिस्ट गर्दै लैजाने योजना उनले सुनाए । 

कुस्ती : कुस्तीको प्रशिक्षण हेटौंँडामा चलिरहेको छ । महिला र पुरुष गरी ४२ खेलाडीलाई ६ प्रशिक्षकले खेलाइरहेको अध्यक्ष राज मोहमद अन्सारीले बताए । आठौँ सागमा पहिलो र दोस्रो भएका खेलाडी अहिले क्लोज क्याम्पमा छन् । तेस्रो स्थानमा रहेको टिमलाई पनि सहभागिताको प्रयास भइरहेको सुनाए । ‘हामीले अहिले कुल ४२ खेलाडीलाई प्रशिक्षणमा राखेका छौँ । सम्भव भएसम्म तेस्रो स्थानका खेलाडीलाई पनि राखेर एक महिना अभ्यास गराएर फाइनल छनोट गरौँ भन्ने उद्देश्य हो । राखेपसँग कुरा भइरहेको छ ।’ अहिले खेलाडीलाई बिहान र बेलुका प्रशिक्षण दिने तयारी भइरहेको छ । भदौ अन्तिमसम्ममा फाइनल खेलाडी छनोटको योजना छ । फाइनल छनोटपछि वैदेशिक प्रशिक्षणका लागि समेत इरान, मंगोलिया र भारतसँग कुरा भइरहेको अन्सारीले बताए । सागमा फाइनल खेलाडी छनोटमा १०–१० महिला र पुरुष खेलाडी सहभागी हुन्छन् । 

साइक्लिङ : साइक्लिङमा १६ खेलाडीले ४ इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् । विभिन्न ठाउँमा खेलाडीले अभ्यास गरिरहेका छन् । ‘हामीले चार विधामा सहभागी हुने खेलाडीलाई फाइनल तयारी गरिरहेका छौँ,’ साइक्लिङ संघका सचिव देवेन्द्र बस्नेतले भने । नेपालबाट माउन्टेन बाइकको क्रसकन्ट्री दुई महिला र दुई पुरुष, त्यस्तै डाउन हिलतर्फ पनि दुई महिला र दुई पुरुषले सहभागिता जनाउँछन् । रोडरेसको दुई क्याटगोरीमा पनि समान २–२ महिला पुरुषले सहभागिता जनाउने बस्नेतले बताए । 

कबड्डी : कबड्डीको अभ्यास आर्मी तालिम केन्द्र भद्रकालीमा भइरहेको छ । महिला २८ र पुरुष २८ खेलाडी पहिलो चरणको अभ्यासमा रहेको कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले बताए । ‘पहिलो चरणमा कुल ५६ खेलाडी छन् । पहिलो चरणमा फिजिकल पाटोलाई हेरिरहेका छौँ,’ भाटले भने, ‘अब तीन–चार चरण गरेर खेलाडी कम गर्दै लैजान्छौँ । फाइलनमा हामीसँग १२ महिला १२ पुरुष खेलाडी रहनेछन् ।’
 
ट्रायथलन : लगनखेलस्थित आर्मी ट्रेनिङ सेन्टरमा फिटनेसको अभ्यास भइरहेको छ । अन्य ठाउँमा पनि अभ्यास जारी छ । संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले महिला र पुरुष ६–६ जना गरी १२ खेलाडी सहभागी रहेको बताए । सागका लागि आठ खेलाडी सहभागी हुने भए पनि चारजना वैकल्पिकमा रहने उनले बताए । 

बक्सिङ : क्लोज क्याम्पमा बक्सिङका ३२ खेलाडी अभ्यासरत छन् । ३२ मध्ये १६ जनाले थाइल्यान्डमा अभ्यास गरिरहेका छन् । नेपालमा दुई प्रशिक्षक छन् भने थाइल्यान्डमा तीन प्रशिक्षक छन् । बक्सिङका प्रशिक्षक दीपक महर्जन देश र विदेशमा राम्रो अभ्यास भइरहेको बताउँछन् । फाइनलमा १० पुरुष र ६ महिला छानिनेछन् । 

भारत्तोलन : भारत्तोलनका ३४ खेलाडी प्रशिक्षणमा छन् । केही खेलाडी प्रदेशबाट आउन ढिला भएकाले प्रशिक्षणमा नरहेको मुख्य प्रशिक्षक राम पौडेलेले बताए । ‘कारणवश प्रदेशबाट खेलाडी आउन केही ढिला भयो । आइतबारदेखि ३७ देखि ४० खेलाडी नै क्लोज क्याम्पमा रहन्छन्,’ उनले भने । सागका लागि महिला र पुरुष गरेर २० क्याटगोरीमा प्रतिस्पर्धा भए पनि नेपालले मेडलनजिक रहने क्याटगोरी तय गरेर १४ वटामा सहभागिता जनाउनेछ । फाइनल इन्ट्रीअघिसम्म कुन क्याटगोरीमा मेडलको सम्भावना हुन्छ भन्ने तय नहुने उनले बताए । 

आर्चरी : आर्चरीको अभ्यास पोखरामा भइरहेको छ । आर्चरीका महासचिव रमेश सिवाकोटीले वर्षाले प्रभावित गर्दा केही समस्या भएको बताए । यद्यपि, उनले वर्षा नभएको समयमा खेलाडीले पूर्ण रूपमा अभ्यास गरिरहेको बताए । आर्चरीको क्लोज क्याम्पमा १६ खेलाडी रहने भए पनि आठजनाले नियमित रूपमा पोखरामा अभ्यास गरिरहेका छन् । चार खेलाडी जापानमा अभ्यास गरिरहँदा अन्य चार खेलाडीको उपकरण विदेशबाट मगाएको र आइनपुगेकाले सामान्य अभ्यासमा मात्र छन् । 

पौडी : पौडीका लागि ३६ खेलाडी क्लोज क्याम्पमा छन् । चार खेलाडी जापान र एक खेलाडी थाइल्यान्ड र बाँकीले कालोपुलमा अभ्यास गरिरहेका छन् । ‘यसपटक नेपालमै हुने प्रतियोगिता भएकाले धेरैभन्दा धेरै इभेन्टमा सहभागिता जनाउनुपर्नेछ । जित्न मात्र नभएर खेलाडीको एक्सपोजका लागि समेत राम्रो हुने भएकाले २८ खेलाडी सागका लागि छनोट गर्नेछौँ,’ पौडी संघका अध्यक्ष अशोक बज्रचार्यले भने । सातदोबाटोको स्विमिङ पुल सञ्चालनमा आएपछि पौडी खेलाडीलाई थप राहत भएको छ । 

ह्यान्डबल : ह्यान्डबलको अभ्यास पोखरामा भइरहको छ । २८–२८ महिला र पुरुष गरी ५६ खेलाडी क्लोज क्याम्पमा छन् । सागका लागि १६–१६ जना अन्तिम छनोट हुने सचिव केशव पाठकले बताए । एक महिना बन्द प्रशिक्षणपछि २२ मा झार्ने र असोज अन्तिमसम्म १६–१६ जना छनोट हुने उनले बताए । महिला टिमका लागि भारतबाट र पुरुष टिमका लागि फ्रान्सबाट प्रशिक्षक ल्याउन छलफल चलिरहेको उनको भनाइ छ । 

तस्बिर : ज्ञानेन्द्र कार्की, संजित परियार/नयाँ पत्रिका