१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ श्रावण २१ मंगलबार ११:४८:००
Read Time : < 1 मिनेट
प्रदेश

ठूलीभेरीले बस्ती कटान गर्दै

तीन घर बगे, आठ घर जोखिममा, स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारियो

Read Time : < 1 मिनेट
२०७६ श्रावण २१ मंगलबार ११:४८:००

ठूलीभेरीले बस्ती कटान गरेपछि आठबिसकोट नगरपालिका—६ मनकाबगरका तीन घर बगेका छन् । अन्य आठ घर नदी कटानको जोखिममा रहेका छन् । ठूलीभेरी नदीले कटान गर्दा आठबिसकोट–६ मनकाबगरका पत्रे बोहरा, भीमबहादुर थापा र विष्णुकुमारी बुढाको घर बगेको छ । विष्णुकुमारीको घर आधा बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीनै घरका बासिन्दालाई यसअघि नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति हुनबाट जोगिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताए । 

त्यस्तै, अन्य आठ घर उच्च जोखिममा रहेका छन् । ती घरका बासिन्दालाई पनि सुरक्षित स्थानमा सारिएको डिएसपी खड्काले बताए । जोखिममा रहेको र नदीमा पानीको सहत बढेपछि एक साताअघि नै उनीहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको उनले बताए । 

ठूलीभेरीले वर्षेनी कटान गर्दै आएको छ । नदीवारिको पश्चिमी रुकुमको आठबिसकोट नगरपालिका र पारि पर्ने जाजरकोटका विभिन्न बस्ती जोखिमा रहेका छन् । थुप्रै घर जोखिमा रहेका भए पनि उच्च जोखिममा रहेका परिवारलाई मात्रै सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । 

गत वर्ष नदीले कटान गर्दा ठूलो क्षति भएको थियो । यस वर्ष पनि नदीले कटान सुरु गरेपछि स्थानीय बासिन्दा विस्थापित भएका आठबिसकोटका मेयर गोर्खबहादुर केसीले बताए । केही घर खाली गरिएको उनले बताए । नदीले धार परिवर्तन गर्न थालेपछि केही वर्षदेखि कटानको समस्या सुरु भएको उनको भनाइ छ । जाजरकोट–डोल्पा सडक खन्ने क्रममा खसेका ढुंगामाटोका कारण नदीले धार परिवर्तन गरेको मेयर केसीले बताए । 

गत वर्ष नदी कटान नियन्त्रणका लागि केही बजेट विनियोजन गरिएको भए पनि पर्याप्त नभएको उनले बताए । नदीले घर बगाउन थालेपछि स्थानीय बासिन्दा त्रसित रहेको बताउँदै उनले भने, ‘अहिले नदी कटान रोक्न केही गर्न सकिने अवस्था छैन । क्षति कम गर्न सतर्कता अपनाएका छौँ,’ मेयर केसीले भने ।