अविरल वर्षा, बाढीपहिरो, हावाहुरी तथा चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति नियमित राख्न तथा प्रभावित क्षेत्रमा अवरुद्ध सेवा यथाशीघ्र पुनर्स्थापना गर्न आवश्यक तयारी र समन्वयलाई तीव्र बनाएको छ।
प्राधिकरणले देशभरको विद्युत् आपूर्ति, प्रसारण तथा वितरण संरचनाको अवस्था र प्रभावित क्षेत्रबारे निरन्तर जानकारी तथा अनुगमन गरिरहेको छ। सम्भावित क्षति तथा विद्युत् आपूर्ति अवरोधलाई तत्काल सम्बोधन गर्न आवश्यक जनशक्ति, उपकरण तथा सामग्री तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले आइतबार वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, ग्रिड सञ्चालन विभागका प्रमुख, सातै प्रदेशका प्रादेशिक कार्यालय प्रमुख तथा दुईवटा डिभिजन कार्यालयका प्रमुखसँग जुममार्फत छलफल गरी विद्युत् संरचनामा पुगेको क्षति र विद्युत् आपूर्तिको अवस्थाबारे जानकारी लिनुभएको थियो।
छलफलका क्रममा विभिन्न प्रदेश तथा क्षेत्रमा भइरहेको वर्षा, बाढीपहिरोबाट विद्युत् संरचनामा परेको प्रभाव, विद्युत् आपूर्तिको वर्तमान अवस्था तथा सम्भावित जोखिमबारे जानकारी लिइएको थियो।
प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत् सेवा नियमित गर्न आवश्यक जनशक्ति, उपकरण तथा सामग्रीको तयारी र परिचालन गर्न कार्यकारी निर्देशक श्रेष्ठले कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। विद्युत् आपूर्ति अवरुद्ध भएका स्थानमा सम्भव भएसम्म वैकल्पिक लाइन तथा फिडरमार्फत सेवा सञ्चालन गर्न तथा क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन गरी सुरक्षित रूपमा मर्मत तथा पुनर्स्थापनाको काम तत्काल अघि बढाउन पनि उगले निर्देशन दिएका हुन्।
प्राधिकरणले प्रभावित क्षेत्रको अवस्थाको निरन्तर अनुगमन गर्दै आवश्यकताअनुसार थप जनशक्ति, उपकरण तथा प्राविधिक सामग्री परिचालन गर्ने व्यवस्था मिलाएको जनाएको छ।
प्राकृतिक विपतका कारण उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै कर्मचारी तथा प्राविधिक जनशक्तिको सुरक्षालाई प्राथमिकतामा राखेर मात्र मर्मत तथा पुनर्स्थापनाको काम अघि बढाउन सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार विद्युत् आपूर्ति प्रणालीको अवस्था केन्द्रीय तहबाट निरन्तर अनुगमन तथा समन्वय भइरहेको छ। उपभोक्तालाई सम्भव भएसम्म नियमित विद्युत् सेवा उपलब्ध गराउन तथा अवरुद्ध सेवा छिटोभन्दा छिटो पुनर्स्थापना गर्न आवश्यक सबै उपाय अवलम्बन गरिएको छ।