कर्रा खोलामा आएको बाढीका कारण हेटौँडा उपमहानगरपालिका– ४, गर्दोईमा एक घर जोखिममा परेको छ । घरको दक्षिणतर्फको भाग भत्किएपछि उक्त घरमा बस्दै आएका १० जनाको परिवारलाई सुरक्षित गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गण हेडक्वार्टर मकवानपुरका अनुसार आइतबार गर्दोईस्थित फन डेरीनजिक शेख मुवारकको घरको दक्षिणतर्फ रहेको कर्रा खोलामा आएको बाढीले कटान गरेको हो । बाढीका कारण घरको दक्षिणतर्फको सुर भत्किएर थप क्षतिको जोखिम बढेको थियो ।
घर जोखिममा परेपछि मुवारकसहित परिवारका १० जनालाई सुरक्षित गर्न तथा थप क्षति रोक्न संयुक्त टोली परिचालन गरिएको हो ।
बोरामा माटो भरेर जाली लगाउँदै कटान रोक्ने प्रयास
हेटौँडा– ४ का वडाध्यक्ष नवीन सिग्देलसहित सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गणबाट सशस्त्र प्रहरी निरीक्षक रविनकुमार खड्काको कमान्डमा १० जनाको टोली घटनास्थल पुगेको थियो । त्यस्तै, वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक धर्मराज खत्रीको कमान्डमा १० जना प्रहरी, हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरी टोली तथा स्थानीय बासिन्दा पनि उद्धार तथा रोकथाममा खटिएका छन्।
संयुक्त टोलीले घरको दक्षिणतर्फ भत्किएको भागमा बोरामा माटो भरेर जालीमा राख्ने काम सुरु गरेको छ । कर्रा खोलाको कटानले घरमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले तत्काल रोकथामको काम गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
लगातारको वर्षाका कारण कर्रा खोलामा पानीको बहाब बढेको अवस्थामा किनार क्षेत्रका संरचनामा थप जोखिम हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रको अवस्थामाथि निगरानीसमेत बढाइएको छ ।