कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सामानान्तर महाधिवेशनको तयारी जुटेको छ । कांग्रेस संस्थापनले ७ असोजमा जिल्ला अधिवेशन र १० असोजमा प्रदेश अधिवेशन हुँदै १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिसके पनि देउवा पक्षले त्यसलाई बहिष्कार गर्दै छुट्टै १५औं महाधिवेशनको तयारीमा जुटेको हो ।
सर्वोच्च अदालतले महाधिवेशन रोक्नुपर्दैन भनेर आदेश दिएपछि छुट्टै महाधिवेशनको तयारीमा लागेको नेता मीन विश्वकर्मा बताउँछन् । ‘अदालतमा आधिकारिकताको विषय विचाराधीन रहेको अवस्थामा गगन थापा नेतृत्वको कार्यसमितिले महाधिवेशनको कार्यतालिका ल्याएपछि त्यसलाई रोक्न हामी अदालत गयौँ । अदालतले रोक्न अन्तरकालीन आदेश दिएन । महाधिवेशन रोक्न नपर्ने भएले हामी पनि महाधिवेशनको तयारीमा लागेका छौँ,’ उनले भने ।
महाधिवेशनको कार्यतालिका ल्याउन बुधबार तयारी समितिको बैठक बोलाइएको छ । बैठकमा १४औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिमा पदाधिकारी र सदस्य एवं आमन्त्रित सदस्यलाई उपस्थितिका निम्ति अनुरोध गरिएको छ । बैठकका लागि तीन एजेन्डा तय गरिएको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिअन्तर्गतको सचिवालय समन्वय समितिका संयोजक दीपक कुइँकेलले बताए । उनका अनुसार पहिलो एजेन्डामा १५औँ महाधिवेशन तयारी सम्बन्धमा छ भने दोस्रो एजेन्डा समसामयिक विषय र तेस्रो विविध रहेको छ ।
१९ भदौसम्म क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक गर्न सकिने
कांग्रेसले १५औँ महाधिवेशनका लागि क्रियाशील नवीकरण/अद्यावधिक गर्न थप पाँच दिन समय दिएको छ । गत वैशाखमै सम्पन्न गर्ने भनिएको क्रियाशील सदस्यताको विषय अझै टुंगिन सकेको छैन । १९ भदौसम्म क्रियाशील नवीकरण र अद्यावधिक गर्न सकिने गरी समय थपिएको हो । सबैलाई समेटेर महाधिवेशन सम्पन्न गर्न अन्तिमपटक पाँच दिनको समय थपिएको क्रियाशील सदस्यता व्यवस्थापन समितिले दाबी गरेको छ । समितिले गत जेठदेखि नै पटक–पटक समय थप्दै आएको छ । कांग्रेस नेताहरूका अनुसार करिब सात लाख पुराना सदस्यले अद्यावधिक गरेका छन् भने एक लाखभन्दा बढीले नयाँ सदस्यका नाम अद्यावधिक गरेका छन् । नयाँ सदस्यको हकमा वडा हुँदै क्षेत्रले टुंग्याउनेछ भने पुराना सदस्यको हकमा वडा, क्षेत्र हुँदै जिल्लाले टुंग्याउनेछ । जिल्लामा तीनसदस्यीय छानबिन समिति गठन हुनेछ । त्यसमा चित्त नबुझे केन्द्रमा उजुरी दिन सकिने व्यवस्था छ ।
एकताको वातावरण बनाउन शेखरले दुवै पक्षसँग संवाद थाल्ने
कांग्रेस नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूसँग रणनीतिक छलफल गरेका छन् । देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा लागेपछि कोइरालाले मंगलबार विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा निकट नेताहरूसँग छलफल गरेका हुन् । पार्टी एकता कसरी कायम राख्ने भन्ने विषयमा छलफल भएको कोइरालाको सचिवालयले जनाएको छ ।
कोइरालाले पार्टी एकता कायम राख्न आफू लागिपरेको बताएका छन् । ‘देश संकटमा छ । यस्तो वेला कांग्रेस विभाजित हुँदा थप संकट आउँछ । कांग्रेसलाई विभाजित हुन नदिन सबैले भूमिका खेल्नुपर्नेछ,’ कोइरालाको भनाइ उद्धृत गर्दै नेता रामहरि खतिवडाले भने, ‘महाधिवेशनको दुइटा क्यालेन्डर नआओस् भन्नेमा उहाँको जोड छ । दुवै पक्षलाई एक ठाउँमा राखेर कुरा गर्छु भन्नुभएको छ ।’ कोइरालाले आफू र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का पार्टी विभाजनको पक्षमा नरहेको बताएका छन् । एकताका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन् ।