बाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने स्वामीकार्तिक खापर गाउँपालिकामा खोलाको दूषित पानी पिउँदा गाउँमा भाइरल ज्वरो फैलिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका– २ का पारिबगर, घट्टछुद्धरी र बालुवा बस्तीमा एक सातादेखि भाइरल ज्वरोको संक्रमण फैलिएको छ ।
वर्षायाममा खोलाको दूषित पानीका कारण स्थानीयमा ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिन थालेपछि गाउँमा त्रासको वातावरण सिर्जना भएको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए । उनका अनुसार भाइरल ज्वरोका कारण तीनवटा बस्तीका ६० भन्दा बढी घरपरिवारका नागरिक प्रभावित भएका छन् ।
‘अविरल वर्षापछि बाढीका कारण गाउँको खानेपानी अवरुद्ध भयो, लगत्तै त्यहाँका स्थानीयले खोलाको पानी पिउन थालेपछि एक सातादेखि बालबालिका, वृद्धवृद्धा बिरामी भइरहेका छन्,’ रोकायाले भने, ‘स्वास्थ्य जाँचसँगै उपचारका लागि एकजना सामान्य स्वास्थ्यकर्मी पठाएका थियौँ, तर अझै सन्चो नभएपछि सोमबार पालिकाकै टिम खटिएको छ ।’
स्वामीकार्तिक गाउँपालिका– २ का अध्यक्ष कृष्णबहादुर बुढाका अनुसार गत २९ साउनमा आएको बाढीपहिरोले छुद्धरी खानेपानीको मुहानसहित पाइप बगाएपछि ३ भदौदेखि भाइरल ज्वरो फैलिएको हो । भाइरल ज्वरोका कारण छुद्धरीका ५६ वर्षीय पप्प बुढाको मत्यृु भएको हो । भाइरल ज्वरोका कारण बालबालिकालगायत गाउँका सबै बिरामी भएपछि गंगादेवी आधारभूत विद्यालय एक हप्तादेखि बन्द रहेको वडाध्यक्ष बुढाले बताए ।