आयल निगमले तराईका ग्यास उद्योगमा आफ्नो मात्र नभई जुनसुकै ब्रान्डका सिलिन्डरमा ग्यास भर्न निर्देशन जारी गरेको छ।
निगमको एलपिजी विभाग प्रमुखसमेत रहेका निर्देशक विनीतमणि उपाध्यायले विभिन्न उद्योगलाई पत्राचार गर्दै कृष्णभिरमा आएको पहिरो रोकथाम भई पृथ्वी राजमार्ग सञ्चालनमा नआउन्जेलसम्म अन्य ब्रान्डका सिलिन्डरमा पनि ग्यास भर्न निर्देशन दिएका हुन् ।
उनले हेटौँडाको साहारा ग्यास उद्योगमा एभरेस्ट र सुगम ब्रान्डको सिलिन्डरमा ग्यास भर्न निर्देशन जारी गरेको पत्रमा भनिएको छ, ‘तहाँ उद्योगको नाममा लोड भई आउने ग्यास बुलेटहरू सहारा ग्यास उद्योगमा खाली गरी–गराई सिलिन्डर रिफिल गरी कृष्णभिरको बाटो नखुलेसम्म ट्रकहरूमा एलपी ग्यास सिलिन्डर राखी वैकल्पिक बाटोहरूबाट काठमाडौं उपत्यका तथा आसपासका जिल्लाहरूमा एलपी ग्यास आपूर्ति गरी बिक्री-वितरणको व्यवस्था मिलाउन हुन अनुरोध छ ।’ निगमको उक्त पत्रपछि सहारा ग्यास उद्योगमा काठमाडौंका लागि एभरेस्ट र सुगम ग्यास भरेर सोमबार नै ल्याइएको थियो।
उक्त ग्यास कान्ति लोकपथमा आएको पहिरोका कारण मंगलबार दिउँसो २ बजे मात्रै काठमाडौं आएको थियो। आयल निगमको निर्देशनपछि नेपाल ग्यासले चितवन र धनुषामा रहेको आफ्नै प्लान्टमा ग्यास भर्न थालेको छ।
सगर ग्यासले पनि नलपरासीमा रहेको चण्डेश्वरी प्लान्टमा ग्यास भर्न थालेको छ। यसरी अन्य ब्रान्डका सिलिन्डरमा ग्यास भरेर ल्याउँदा सुरक्षा र बढ्दो लागतको दायित्व पनि सम्बन्धित उद्योगलाई बेहाेर्न निर्देशन जारी भएको छ।