१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७६ श्रावण ५ आइतबार ०७:०१:००
Read Time : > 3 मिनेट
मुख्य समाचार

त्रिवि केन्द्रीय पुस्तकालयका आठ हजार पुस्तक गायब

Read Time : > 3 मिनेट
२०७६ श्रावण ५ आइतबार ०७:०१:००

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयबाट आठ हजार पुस्तक हराएका छन् ।

हराएका पुस्तकको तथ्यांक (रेकर्ड)मा छ, दराजमा छैन । पुस्तकालयबाट लैजानेले वर्षौँ बितिसक्दासमेत पुस्तक फिर्ता गरेका छैनन् ।

क–कसले पुस्तक लगेका हुन् भन्ने विषयमा पुस्तकालय अनभिज्ञ भने छैन । कुन पुस्तक कति सालमा कसले लगेको हो, पुस्तकालयले सबै हिसाब–किताब राखेको छ । अधिकांश पुस्तक सन् १९७२ देखि १९९९ को बीचमा लगेर फिर्ता नगरिएको पाइएको छ ।

हराएका पुस्तक भाषा, साहित्य, अर्थशास्त्र, राजनीतिलगायत विषयका छन् । यस्ता पुस्तक प्रोफेसर, नेता, विद्यार्थीहरूले लगेको पुस्तकालयको रेकर्डले देखाउँछ । त्रिवि पुस्तकालयका प्रमुख इन्द्रप्रसाद अधिकारी भन्छन्, ‘पुस्तक लैजाने व्यक्तिको फोन नम्बर र ठेगाना थाहा छैन । नाम मात्रै थाहा पाएर यो सहरमा कता खोज्न जानू ?’

त्रिवि पुस्तकालयले ‘किताब लैजाने भिआइपीहरू’ भन्दै सूची नै तयार पारेको छ । ‘किताब सबैले फर्काउनुपर्ने हो । हामीले भन्दा पाठकले नै चासो राख्नुपर्ने विषय हो यो,’ पुस्तकालय प्रमुख अधिकारी भन्छन् ।

प्रोफेसरहरूले लगेका केही थान पुस्तकचाहिँ फिर्ता आउला कि भन्ने आशा गर्छिन्, पुस्तकालय कर्मचारी सविता केसी । ‘रिटायर्ड भएका वेला शिक्षकले यहाँबाट क्लियरेन्स लिनुपर्छ । यहाँबाट क्लियरेन्स नलगेसम्म सञ्चय कोष पाइँदैन । त्यसैले उहाँहरूले किताब फर्काउलान् भन्ने आस छ,’ उनले भनिन् ।

पुस्तक लगेर नफर्काउनेमा राप्रपा अध्यक्ष कमल थापा पनि पर्छन् । उनले ‘इन्डो–नेप्लिज रिलेसन’ नामक पुस्तक लगेका थिए । राप्रपा संयुक्तका अध्यक्ष प्रकाशचन्द्र लोहनीले १९७४ मा लगेको पुस्तक केही दिनअघि मात्रै फिर्ता गरेका छन् । पुस्तक फिर्ता नगर्नेमा अमरबहादुर डाँगी, अनितबहादुर शाक्य, भरतबहादुर कार्की, विमल लोहनी, बिनु लोहनी, चन्द्र शाह, गणेश राई, हरिभक्त पाठक, हरिहर दाहाल, कृष्णकुमार मल्ल, कमला पन्त, केदारनाथ प्याकुरेल, कृष्णमोहन श्रेष्ठ, लक्ष्मण बस्नेत, मोहनबहादुर बस्नेत, मुकुन्द बराल, प्रवीण पाठक, राजन पन्त, राजु नेपाल, रमेश श्रेष्ठ, रामजी पौड्याल, शम्भुनारायण पाठक, सुरेश आचार्य, ताराबहादुर कार्की, उदयनाथ पौडेललगायतको नाम छ । 

देशकै सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालय पुस्तकालयसँग अहिले झन्डै साढे चार लाख पुस्तक छ । वर्षैपिच्छे लगभग पाँच हजार पुस्तक थपिन्छन् । यसमध्ये ‘आइएसबिएन’ नम्बर दिएबापत तीन हजारजति पुस्तक लाइब्रेरीमा आउँछ (आइएसबियन नम्बर लिएबापत प्रकाशकले दुईवटा पुस्तक त्रिवि पुस्तकालयलाई सित्तैमा दिनुपर्छ) । अन्य सरसहयोग र खरिदमार्फत दुई हजारजति भित्रिन्छ । कहिलेकाहीँ व्यक्तिगत सहयोगबाट समेत पुस्तक पुस्तकालयले हातपार्छ ।

यस केन्द्रीय पुस्तकालयमा दैनिक लगभग पाँच सयजना पाठक अध्ययनका लागि आउने अनुमान लगाउँछन्, अधिकारी । ८८ हजार स्क्वायरफिटमा समेटिएको पुस्तकालय बिहान साढे ९ बजे खुल्छ, बेलुकी साढे ५ बजे बन्द हुन्छ । ‘विदेशमा त राति पनि खोल्छन्, तर हामीसँग क्षमता छैन । कर्मचारीलाई नजिकै क्वार्टर दिन पाए राति १० बजेसम्म खोल्न सकिन्थ्यो,’ उनले भने ।

योजना छन्, कर्मचारी छैनन्
०७२ को भूकम्पपछि काठमाडौंका थुप्रै पुस्तकालय ध्वस्त भए । केन्द्रीय पुस्तकलाय पनि अछुतो रहेन । पुस्तकहरू छिन्नभिन्न भए ।

अहिले यस पुस्तकालयमा हजारौँ किताब भुइँभरि असरल्ल छन् । पुस्तकालय कमर्चारी र केही भाेल्युन्टीयरहरूकाे सहयाेगमा त्यसलाइ मिलाउने काम चलिरहेकाे छ ।     

पुस्तक मिलाउने मात्र हैन, ‘रेडियो फ्रिक्वेन्सी ट्रान्ज्याक्सन’ पनि सुरुगर्न आफूहरू सक्रिय रूपले लागेको सुनाउँछन्, अधिकारी । यो सिस्टमबाट जाँदा पुस्तकालय बढी प्रभावकारी हुने उनको अनुमान छ । ‘रेडियो फ्रिक्वेन्सी सिस्टम भयो भने पुस्तक चोरी कम हुन्छ । पाठकलाई किताब लैजान पनि सजिलो हुन्छ,’ उनले भन्छन्, ‘यस प्रक्रियामा जाँदा हरेक पुस्तकमा कम्प्युटर चिप्स टाँस्नुपर्छ । त्यसमा किताबको डाटा राखिएको हुन्छ । पुस्तक लैजाँदा व्यक्तिको व्यक्तिगत विवरण आफैँ रजिस्टर्ड हुन्छ यो सिस्टममा ।’

अहिले किताब लैजानु पर्‍यो भने काउन्टरमा रेकर्ड गरेर लैजानुपर्छ । रेडियो फ्रिक्वेन्सी जडान गर्ने हो भने कसैले किताब ‘इस्यु’ नगरी लैजाँदा साइरन बज्छ । यसबाट किताब चोरी भएको सजिलै थाहा लाग्छ । हुन त केन्द्रीय पुस्तकालयमा साइरन बज्ने व्यवस्था अहिले पनि छ । तर, त्यो बिग्रिएको छ । पुस्तकालयका प्रमुख अधिकारी भन्छन्, ‘अहिले इलेक्ट्रोम्याग्नेटिक सिस्टम छ त्यो पनि बिग्रिइसक्यो । इलेक्ट्रोम्याग्नेटिक सिस्टमलाई रेडियो फ्रिक्वेन्सी सिस्टममा लैजाने हाम्रो योजना हो । यसका लागि खर्च एकदमै महँगो छ । ७५ लाखभन्दा माथि खर्च उठ्छ । यसका लागि कि केन्द्रीय विश्वविद्यालय कि वैदेशिक संस्था गुहार्नुपर्छ।’

पुस्तकालयले आफ्नो अर्काे योजनास्वरुप क्याटलकलाइ कम्प्युटराइज गर्ने प्रक्रिया थालिसकेको छ । त्यस्तै, थेसिसलाई अनलाइनमा अपलोड गर्ने काम पनि भइरहेको छ । ४० हजारमध्ये १२ हजार थेसिसलाई डिजिटलाइज गरिसकिएको छ । पुराना किताबलाई पनि डिजिटलाइज गर्न जरुरी भएको पुस्तकालयका प्रमुख अधिकारी बताउँछन् । त्यसकालागी पुस्तकालयले अमेरिकामा प्रपोजल नै पठाएको छ ।

रेडियो फ्रिक्वेन्सीमा जाने, पुस्तक डिजिटलाइजेसन गर्ने, थेसिसलाई अनलाइनमा अपलोड गर्ने, क्याटलक कम्प्युटरमा राख्ने, यस्ता योजनामा काम गर्न पुस्तकालयसँग कर्मचारीको अभाव छ । अहिले पुस्तकालयमा ४२ जना कर्मचारी कार्यरत छन् । ‘दरबन्दी त ९० जनाको हो,’ अधिकारी थप्छन्, ‘आजभन्दा ३० वर्षअघि यहाँ ८० जना कर्मचारी थिए । केहीले राजीनामा दिए, केहीको मृत्यु भयो, केही डिभी परेर अमेरिका गए, केहीले अवकाश पाए । त्रिवि सेवा आयोगबाट नियमित भर्ना छैन ।’ प्रोफेसनल लाइब्रेरियनको अभाव भएको अधिकारीको गुनासो छ । 

कर्मचारीको अभावमा भूकम्पपछि लथालिंग भएको पुस्तक मिलाउनै अझै धेरै समय लाग्ने देखिन्छ । एउटा किताब मिलाउन एक घन्टा लाग्ने बताउँछन् कर्मचारीहरू । किताब ल्याएर थट कन्टेन्ट रेप्रिजेन्ट हुनेखालको कोड नम्बर किताबबाट झिकेर ‘स्पाइन’ मा राखिन्छ । त्यसपछि पाठकले किताब भेट्ने गरी कम्प्युटरमा डाटाबेस तयार पार्नुपर्छ । अधिकारी भन्छन्, ‘काम थुप्रै भएकाले सहयोग माग्न युजिसीकोमा पनि गएँ । लाइब्रेरियन नियुक्ति गर्ने काम हाम्रो होइन भन्यो । बरु काम दिनु भन्छ ।’

प्रस्ताव आउँछ, स्वीकार्न सकिँदैन
विभिन्न सेक्सनमा साढे चार लाख पुस्तक केन्द्रीय पुस्तकालयमा अटाइएको छ ।

यहाँ देशविशेषका अध्ययन केन्द्र पनि छन् । जस्तो, अमेरिकन स्टडिज सेक्सन, जापानिज स्टडिज सेक्सन, नेपाल कलेक्सन । यसरी देश, विषयकेन्द्रित गरेर छुट्टाछुट्टै खण्ड तयार पारिएको छ ।

पाठकले आफूले चाहेको देश वा विषयका सामग्री सम्बन्धित सेक्सनमा गएर अध्ययन गर्न सक्छन् । उदाहरणका लागि, चाइनिज सामग्री अध्ययन गर्न पाठकले पुस्तकालयको मूलगेटबाट प्रवेश गरेर पछाडिको भवनको दोस्रो तला पुग्नुपर्छ । यसरी विभिन्न ठाउँमा विशेष सेक्सन छुट्याइएको छ । यस्ता सेक्सन ‘हाम्रो पनि राखिदिनुस्’ भन्दै विभिन्न देशबाट प्रस्ताव आउने गरेको अधिकारी बताउँछन् । उनी भन्छन्, ‘चाइनिज राजदूत आएर अझै धेरै पुस्तक दिन्छु, फर्निचर दिन्छु भन्थे । अब ठाउँ छैन । भारतीय राजदूतले पनि ‘स्पिरिचुअल’ पुस्तकहरू दिन्छु, रुम दिनुस् भन्थे । अब हामीसँग स्पेस नै छैन ।’

पुस्तकालयको गोप्य कोठा 
त्रिवि पुस्तकालयको मूल भवनभन्दा पछाडिपट्टि रहेको भवनको माथिलो तलाको दाहिने कुनामा ताल्चा लगाइरहेको कोठा देखिन्छ । यो कोठा हत्तपत्त खोलिँदैन । कोठाभित्र र्‍याकमा पुस्तक मिलाएर राखिएको छ । भित्तामा राजा वीरेन्द्र, महेन्द्र, रानीहरूका फोटा टाँसिएका छन् । एकछेउमा राउन्ड टेबुल/कुर्सी मिलाएर राखिएको छ ।

यो कोठामा प्रवेश गर्न अनुमति चाहिन्छ । अनुमतिबेगर कसैले पनि यो कोठाको पुस्तक प्रयोग त के छुन पनि पाउँदैन ।

यो कोठामा अत्यन्तै महत्वपूर्ण पुस्तक राखिएको बताउँछन्, अधिकारी । तीन सय वर्षअगाडिका पुस्तकसमेत रहेको उनले बताए । विद्यार्थीका लागि दैनिक प्रयोगमा नआउने भएकाले पनि पस्ने अनुमति नदिएको अधिकारीको भनाइ छ । ‘चोरी हुन्छ कि भन्ने पनि हाम्रो डर हो । यी किताब अन्यत्र पाइँदैन । नहराओस् भनेर सुरक्षित तरिकाले राखेका हौँ । यहाँ यस्ता पुस्तकको सेक्सन छ भनेर हामीले धेरैलाई जानकारी नै दिएका छैनौँ । कहिलेकाहीँ एकदमै गहिरो अध्ययन गर्नेहरू आउँछन्, उनीहरूलाईचाहिँ अनुमति दिएका छौँ,’ उनले भने ।

यहाँ इतिहास, संस्कृति, तन्त्रमन्त्र, विधि–विधान, धार्मिक पुस्तक राखिएका छन् ।