मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १२ शुक्रबार
  • Friday, 28 August, 2026
बाढीले तहसनहस बनाएको नुवाकोट विदुर नगरपालिकास्थित त्रिशूलीबजार । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार o७:o३:oo
Read Time : > 5 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कुन प्रदेशका कति सम्पर्कविहीन

Read Time : > 5 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८३ भदौ १२ शुक्रबार o७:o३:oo

बाढीमा कोशीका १०८ जना सम्पर्कविहीन 
भोटेकोशी बाढीमा कोशी प्रदेशका १०८ जना सम्पर्कविहीन भएका छन् । परिवार र आफन्तले टिपाएको विवरणअनुसार सो संख्यामा सम्पर्कविहीन भएका हुन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार सम्पर्कविहीन हुनेमा झापाका सात, इलामका सात, ताप्लेजुङका ६, मोरङका १४, सुनसरीका नौ, धनकुटाका एक, संखुवासभाका तीन, भोजपुरका दुई, उदयपुरका ११, ओखलढुंगाका ११, खोटाङका आठ र सोलुखुम्बुका २९ जना छन् । प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा रोजगारीका लागि गएका धेरै छन् । बाँकी तीर्थयात्रा तथा अन्य कामका लागि गएकाहरू भएको प्रहरीले जनाएको छ ।

मधेशका ६४ जना सम्पर्कविहीन 
भोटेकोशी बाढीमा मधेश प्रदेशका ७४ जना सम्पर्कविहीन भएकामध्ये बिहीबार साँझसम्म १० जना परिवार/आफन्तको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । मधेशका आठ जिल्लामध्ये पर्साका १० जना सम्पर्कविहीन रहेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार सर्लाहीको लालबन्दीका ज्ञानबहादुर थिङ र श्यामलाल मोक्तान परिवारको सम्पर्कमा आइसकेका छन् । बाराबाट १३ जना सम्पर्कविहीन भएकामा एकजनाले परिवारमा सम्पर्क गरेको प्रहरीले जनाएको छ । सम्पर्कविहीन हुनेमा रौतहटका ११, बाराका ११, सर्लाही र महोत्तरीका १०–१०, धनुषाका चार, सिराहाका सात र सप्तरीका दुईजना छन् ।

गण्डकी प्रदेशका ६८ जना बेपत्ता 
भोटेकोशी बाढीमा गण्डकी प्रदेशका ६८ जना बेपत्ता भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी रमेश पण्डितका अनुसार पहिलो चरणको विवरण संकलनका क्रममा उनीहरू बेपत्ता भएको भेटिएको हो । बेपत्ता हुनेहरूको विवरण संकलन गर्ने काम जारी रहेको उनले बताए । पहिलो चरणमा प्राप्त विवरणअनुसार प्रदेशका नौ जिल्लाका गरी ६८ जना बेपत्ता भएको जानकारी प्राप्त भएको पण्डितले बताए । बेपत्ता हुनेमध्ये दुई बालक, एक बालिका, ३२ पुरुष र ३३ जना महिला छन् । सबैभन्दा धेरै गोरखाका ३० जना छन् । पर्वत र नवलपुरका एक–एकजना छन् । यस्तै, लमजुङका १०, बागलुङका नौ, स्याङ्जाका सात, कास्कीका पाँच, तनहुँका तीन र म्याग्दीका दुईजना छन् । बेपत्ता हुनेमध्ये सबैभन्दा धेरै गोसाइँकुण्ड जानेहरू रहेको उनले जानकारी दिए । 

लुम्बिनीका २११ जना सम्पर्कबाहिर
भोटेकोशी बाढीमा लुम्बिनी प्रदेशका २११ जना सम्पर्कभन्दा बाहिर छन् । बाढीपछि १७६ पुरुष, ३० महिला, तीन बालक र दुई बालिका सम्पर्कबाहिर रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए । सम्पर्कबाहिर रहेकामध्ये सबैभन्दा धेरै बर्दियाका छन् । बर्दियाका ७६ पुरुष, तीन महिला, एक–एक बालक र बालिका रहेको उनले बताए । तथ्यांक संकलन कार्य जारी रहेको बताउँदै उनले दाङका २३ पुरुष र पाँच महिला सम्पर्कविहीन भएको बताए । 

चौधरीका अनुसार रोल्पाका १८ पुरुष, चार महिला र एक बालक सम्पर्कबाहिर छन् । रुपन्देहीका नौ पुरुष, एक महिला र एक बालक, पूर्वी रुकुमका नौ पुरुष, ६ महिला र एक बालक, अर्घाखाँचीका सात पुरुष, दुई महिला र एक बालक, पाल्पाका आठ पुरुष र एक महिला तथा गुल्मीका ६ पुरुष र एक महिला पनि सम्पर्कमा छैनन् । ‘बाँकेका चार महिला र तीन पुरुष, नवलपरासीका पाँच पुरुष र दुई महिला, कपिलवस्तुका पाँच पुरुष र एक महिला तथा प्युठानका सातजना पुरुषको अवस्था अहिलेसम्म अज्ञात छ,’ उनले भने । बाँकेको तथ्यांकमा भने फरक आएको छ । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयले फरक–फरक सूची सार्वजनिक गरेका छन् । जिल्ला प्रशासन कार्यालयले १९ जना सम्पर्कमा नरहेको उल्लेख गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका– २०, थपुवा गाउँमा निराशा छाएको छ । रसुवा बाढीमा एकै परिवारका तीनसहित पाँचजना सम्पर्कबाहिर रहेपछि पूरै गाउँमा निराशा छाएको हो । थपुवा घर भई रसुवा भन्सार कार्यालयको पार्किङमा कार्यरत ५३ वर्षीय दाजु शेरसिंह रोकाया, ५४ वर्षीया भाउजू विष्णुमती र १९ वर्षीय छोरा दीपक रोकाया सम्पर्कबाहिर रहेको अन्लाल रोकायाले बताए । काठमाडौंमा अध्ययनरत दीपक स्नातक तह पहिलो वर्षको परीक्षा सकेर गोसाइँकुण्ड घुम्न गएका वेला रसुवाको टिमुरेस्थित आफ्नो ठुलोबुवाकहाँ गएको उनले बताए ।

कर्णालीका १३४ सम्पर्कविहीन
भोटेकोशी बाढीमा परेर कर्णालीका १० जिल्लाका १३४ जना सम्पर्कविहीन भएका छन् । हालसम्म आफन्त तथा परिवारका सदस्यले प्रहरी र जिल्ला प्रशासन कार्यालयमा दिएको प्रारम्भिक विवरणका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय १३४ जना नागरिक परिवारको सम्पर्कभन्दा बाहिर रहेको जनाएको हो । सम्पर्कविहीन हुनेमध्ये कर्णालीका विभिन्न जिल्लाबाट निजामती सेवा, गैसरकारी तथा सरकारी कार्यालयका कर्मचारी, सडक तथा जलविद्युत् आयोजनामा मजदुरी गर्न गएकाहरू छन् । सम्पर्कविहीन हुनेहरूमा १०८ पुरुष, १७ महिला, ६ बालक र तीनजना बालिका रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सल्यानका ४७, सुर्खेतका ११, दैलेखका पाँच, जाजरकोटका तीन, रुकुम पश्चिमका चार, जुम्लाका ३१, हुम्लाका १२, डोल्पाका दुई, मुगुका १२, कालीकोटका पाँचजना सम्पर्कविहीन छन् ।

सुदूरपश्चिममा १३१ जना सम्पर्कविहीन
भोटेकोशी बाढीमा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका १३९ जना सम्पर्कविहीन भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय सम्पर्कविहीन हुनेमा कैलालीका ४९, कञ्चनपुर ४२, डोटी २, अछाम १, बाजुरा १४, बझाङ २, डडेल्धुरा १७, बैतडी ८ र दार्चुलाका चार छन् ।

नुवाकोटका १३५ र धादिङका ११३ जना सम्पर्कविहीन, रसुवामा अझै यकिन छैन संख्या
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित जिल्लामा हराएका व्यक्तिको यकिन विवरण संकलनको काम चलिरहेको छ । प्रभावित जिल्लामध्ये हालसम्म नुवाकोटमा १३५ र धादिङमा ११३ जना सम्पर्कविहीन रहेको भन्दै उनीहरूका आफन्तले जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएका छन् । सबैभन्दा बढी प्रभावित भएको रसुवामा भने गाउँ नै बगाएका कारण हराएकाको यकिन संख्या अझै सार्वजनिक गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंका अनुसार रसुवा तथा आसपासका प्रभावित क्षेत्रमा गएका वा कार्यरत नुवाकोटका १३५ जनासँग सम्पर्क हुन नसकेको भन्दै आफन्तले प्रशासनमा निवेदन दिएका छन् । उनले प्राप्त विवरणका आधारमा सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी उनीहरूको अवस्था पत्ता लगाउने प्रयास भइरहेको बताए । प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध भएका कारण कतिपय व्यक्ति सुरक्षित भए पनि सम्पर्कमा आउन नसकेको हुन सक्ने सहायक प्रजिअ हुमागाईंको भनाइ छ ।

धादिङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार जिल्लाका ११३ जना व्यक्तिसँग सम्पर्क हुन नसकेको जानकारी आफन्तबाट प्राप्त भएको छ । उनीहरू बाढी प्रभावित क्षेत्रमा सवारीसाधन सञ्चालन, व्यापार–व्यवसाय, रोजगारी तथा अन्य कामका सिलसिलामा पुगेका थिए । धादिङ प्रशासनले पनि सम्पर्कविहीन भनिएका व्यक्तिको खोजीका लागि सुरक्षा निकायसँग समन्वय बढाएको जनाएको छ । सम्पर्कविहीन व्यक्तिहरूको वास्तविक अवस्था बुझ्न खोजी कार्यलाई तीव्र बनाइएको सहयाक प्रजिअ पौडेलले बताए । सबैभन्दा बढी क्षति व्यहोरेको रसुवा जिल्लामा भने हराएका व्यक्तिको यकिन तथ्यांक अझै संकलन हुन सकेको छैन । रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बाढी प्रभावित क्षेत्र अझै सामान्य अवस्थामा नफर्किएका कारण हराएकाको विवरण संकलन गर्न कठिन भइरहेको छ । ‘कतिपय स्थानमा बाढीले गाउँ नै बगाएको छ । प्रभावित परिवार विस्थापित छन्, सञ्चार सेवा अवरुद्ध छ र धेरै स्थानमा पुग्नसमेत कठिन छ,’ उनले भने, ‘त्यसैले हराइरहेकाहरूको यकिन संख्या तत्काल भन्न सकिने अवस्था छैन ।’

उनका अनुसार अहिले जिल्लाको सम्पूर्ण प्रशासनिक संयन्त्र, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा स्वयंसेवकहरू खोजी, उद्धार र राहत कार्यमै केन्द्रित छन् । प्रमुख जिल्ला अधिकारी परियारका अनुसार रसुवाका विभिन्न स्थानबाट शुक्रबार मात्रै ५७० जनाको जीवितै उद्धार गरिएको छ ।

मकवानपुरका ७० जना सम्पर्कविहीन
भोटेकोशी बाढीपछि मकवानपुरका ७० जनासँग सम्पर्क हुन नसकेको भन्दै उनीहरूका आफन्तले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा खोजी गरिदिन अनुरोध गरेका छन् । बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा अवरुद्ध र मोबाइल सम्पर्क टुटेका कारण धेरै परिवार आफ्ना आफन्तको अवस्थाबारे अन्योलमा परेका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार रसुवा तथा अन्य बाढी प्रभावित क्षेत्रमा रहेका मकवानपुरका नागरिकसँग सम्पर्क हुन नसकेको भन्दै जिल्लाका विभिन्न स्थानीय तहबाट निरन्तर जानकारी आउने क्रम जारी छ । हालसम्म प्रशासनमा ७० जनाको विवरण टिपाइएको उनले बताए । मकवानपुर स्थायी बसोबास भएका, तर रसुवा क्षेत्र, गोसाइँकुण्ड तथा आसपासका स्थानमा रहेका केही व्यक्तिसँग सम्पर्क हुन नसकेको भन्दै आफन्तले प्रशासनमा जानकारी गराउनुभएको छ,’ उनले भने, ‘कतिपय तीर्थयात्राका लागि गोसाइँकुण्ड गएका र कतिपय रसुवा नाकामा ट्यांकर तथा अन्य सवारीसाधन चलाउने चालक छन् ।’ 

प्रजिअ अधिकारीका अनुसार मकवानपुरको थाहा नगरपालिकाबाट सबैभन्दा धेरै खोजीसम्बन्धी अनुरोध आएको छ । त्यसबाहेक हेटौँडा उपमहानगरपालिकालगायत जिल्लाका अन्य स्थानीय तहबाट पनि आफ्ना आफन्तको अवस्थाबारे जानकारी खोज्दै प्रशासनमा निरन्तर सम्पर्क भइरहेको छ । उनका अनुसार सम्पर्कविहीन भनिएकामध्ये केही व्यक्ति भने पछि आफन्तको सम्पर्कमा आउन थालेका छन् । यद्यपि, अझै धेरै व्यक्तिको अवस्थाबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन । ‘कतिपय आफन्तले आफ्ना परिवारका सदस्य सम्पर्कमा नरहेको भन्दै फोनमार्फत विवरण टिपाइरहनुभएको छ,’ उनले भने, ‘तर पछि उनीहरू सम्पर्कमा आए पनि धेरैले प्रशासनलाई त्यसबारे जानकारी गराउनुहुन्न । त्यसैले सम्पर्कविहीन व्यक्तिको यकिन संख्या निकाल्न चुनौती भइरहेको छ ।’ 

प्रारम्भिक विवरणअनुसार सम्पर्कविहीन हुनेमा गोसाइँकुण्ड दर्शन तथा भ्रमणका लागि गएका तीर्थयात्री, रसुवा नाकालगायत क्षेत्रमा ट्यांकर तथा अन्य सवारीसाधन चलाउने चालक, साथै त्यहाँ विभिन्न पेसा–व्यवसायमा संलग्न व्यक्तिहरू रहेका छन् । प्रजिअ अधिकारीका अनुसार प्रभावित क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुनु, मोबाइल फोन बाढीमा बग्नु वा ब्याट्री सकिनुजस्ता कारणले पनि धेरैसँग सम्पर्क हुन नसकेको अनुमान गरिएको छ ।

विराटनगरमा गणेश लम्साल, लहानमा मणिलाल विश्वकर्मा, कास्कीमा रोहितराज पराजुली, बाँकेमा विश्वराज पछल्डङ्ग्या, सुर्खेतमा रमेश रावल, मकवानपुरमा पोष्टराज अधिकारी